2026 August 30/ 10:49: 05am

पनौती/२०८० साउन ११ गते १५ औ स्थापना दिवस मनाउँदै पनौती नगरपालिकामा समग्र पर्यटन क्षेत्रको विकास गर्ने उदेश्यले शुरु गरिएको गतिविधीहरुले लय पक्डेको छ भने पर्यटन क्षेत्रको विकासमा गति दिन थालेको छ । 
    ‘पनौती ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पुरातात्विक शहर हो । यसलाई पुरातात्विक शहरका रुपमा चिनाउन भएका संरचनाहरुको संरक्षण, प्रर्वद्धन र प्रचार प्रसार गर्नु पनौती पर्यटन केन्द्रको मुख्य उदेश्य हो’–अध्यक्ष पुरुषोतम ताम्राकारले भने–‘शुरुमा कार्यालय स्थापना ग¥यौं । त्यस पछि विस्तारै बार्षिक क्यालेन्डर तयार गरी नगर क्षेत्रमा पर्यटनको विकासका लागि सक्रिय हुने प्रयत्न ग¥यौं ।’ पनौती पर्यटन विकास केन्द्रले आफ्नै ब्यवस्थापनमा पाहाँ छेँ (पाहुना घर), लोपोन्मुख बाजागाजा संरक्षण तथा प्रर्वद्धन (जसलाई नो बगा, खिं) भनिन्छ), नेवारी समुदायका लागि जन्मे देखि मृत्यु पर्यन्त आवश्यक पर्ने निगालोबाट बुन्ने सामानहरुको संरक्षण, प्रर्वद्धन तथा सिप हस्तान्तारण, पनौती हेरिटेज पासपोर्टको तयारी, पनौती नगर चिनाउने सौर्दयिकरणका लागि वडा नम्वर ७ का सबै घरमा प्रति घर दुई गमला, दुई फुल अभियान, ब्रम्हायणी मन्दिरमा बृक्षारोपण, पनौतीको बुकलेट तयार गरी वितरण, पुराना घरहरुमा कलरिङ्ग तथा संरक्षणका लागि अभियान, पुराना चोक, सडक तथा गल्लिहरुको नामाकरण सहितको नेम प्लेट, पनौतीको नक्सा लगायतका क्षेत्रमा कार्य प्रारम्भ गरेको छ । पर्यटन विकास केन्द्रबाट नै पनौती चिनाउने गरी पेन्टिङ्गको कार्य भईरहेको छ । जसले पनौतीको इतिहासलाई सम्झाउने छ । चिनाउने छ र पनौतीलाई बुझाउने छ । 
    अध्यक्ष ताम्राकारका अनुसार फरक फरक कार्यका लागि स्थानीयहरुलाई जिम्मेवारी प्रदान गरिएको छ । पाहाँ छेँ संचालनका लागि स्थानीय ५ जना बुहारीहरुको समुह सक्रिय छ । जसमा रमा कर्माचार्य, रिता कर्माचार्य, सुनिता कोङ्गा, रिता सैजु, अमृता रघु श्रेष्ठ संलग्न छन् । पाहाँ छेँमा नेवारी समुदायका सबै प्रकारका खाना तथा खाजाहरु उपलब्ध छन् । पनौतीमा आउने पर्यटकहरुले पनौतीमा नेवारी समुदायले बर्षाै देखि खाँदै आएका नेवारी खाना तथा खाजाहरु पाँहा छेँ मा खान पाउने छन् । पाँहा छेँ को विशेषता भनेकै एउटै खाजा सेटमा २२ प्रकारका खानाका परिकार प्राप्त गर्नु हो । ‘यहाँ ठुलो नाङ्गलोमा ६÷७ जनालाई पुग्ने सेट तयार हुन्छ भने सानो नाङ्गलोमा ४÷५ जनालाई पुग्ने सेट तयार हुन्छ’– संचालक रमा कर्माचार्यले भनिन–‘नाङ्गलोको सेट अनुसारको मुल्य भए पनि खानाको गुणस्तरमा कुनै सम्झौता हुँदैन ।’ सेटमा पनौती चिनाउने योमरी अनिवार्य हुन्छ । 
    पाहाँ छेँ संचालकहरु फरक फरक पेशा ब्यवसायमा थिए । तर पनि पनौतीको संस्कृति लोप हुन लागेको अवस्थामा पनौती पर्यटन केन्द्रको अनुरोध तथा समन्वयमा उनिहरुले होटल संचालनको जिम्मेवारी स्विकारे । योमरीले पनौती चिनाएको छ । हरेक दिन योमरी खान आउने र त्यसका बारेमा जानकारी लिनेहरुको संख्या बढिरहेको छ । ६ महिनाको अनुभवले पनौतीमा आउने आन्तरिक तथा बाह््य पर्यटकहरुको मन जित्न सफल भएको संचालक रमा कर्माचार्यले बताईन् । चाकु तथा खुवा र स्थानीय चामलको पिठो मार्फत बनाईने योमरीका आफ्नै कथा छन् । ईतिहास छ । पनौतीका स्थानीयहरु गरिव भएका कारण त्यतिबेला सुन चढाउनु पर्दा तोरीको फुल र चाँदी चढाउनु पर्दा मुलाको फुल प्रयोग गर्थे । त्यहि आकृति सहितका कला आर्टले पनौतीको पुरानो इतिहास जोगाउन मद्दत पुग्ने अपेक्षा गरिएको महासचिव सिजन सुद्दाकारले बताए । 
    ‘पनौतीलाई धार्मिक रुपमा चिनाउन पर्यटकहरुको आगमनलाई वृद्धि गराउन धार्मिक पर्यटकहरुको बसाई लम्याउन आवश्यक छ’– अध्यक्ष ताम्राकारले भने – ‘पनौती विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने गरी स्थानीय तहबाट भएको कार्यलाई प्राथमिकिकरण गर्दै पनौतीको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व दर्साउन पर्यटन केन्द्र क्रियाशील रहन्छ ।’ ‘पनौतीमा कति पर्यटक आउँछन, कुन देशबाट आउँछन, आएका पर्यटकहरु लाई कुनै समस्या पो पर्छ कि ? उनीहरूलाई सहज बनाउँदै सुरक्षा समेत प्रदान गर्ने उद्देश्यले सुरु गरिएको पर्यटन विकास केन्द्र अन्र्तगतको सूचना केन्द्रलाई व्यवस्थित बनाउने प्रयत्न गरेका छौ – अध्यक्ष कर्माचार्यले भने – ‘पर्यटकहरुको आगमनसँगै स्थानीय स्तरमा आम्दानी वृद्धि गराउने लक्ष्य लिएका छौ ।’ 
    ‘पनौती बजार प्रवेश गर्ने वितिक्कै पनौतीको संस्कृति र सभ्यताका बारेमा पर्यटकहरुले राखेको चासोलाई सूचना केन्द्रले पुरा गर्न सकोस भन्ने उदेश्य हो’–अध्यक्ष कर्माचार्यले भने –‘पर्यटन केन्द्रले वृक्षारोपण, सरसफाइ अभियान तथा बगैँचा हेरचाहको कार्यक्रम सम्पन्न गरेको छ । पनौतीको दिगो विकासका लागि पर्यटन सूचना केन्द्रले थप सहयोग पु-याउने छ ।’