बनेपा/बनेपा नगरपालिका वडा नम्वर ६ स्थित बुडोलको डाँडो खत्रीगाउँमा दुई सय घर परिवारका लागि पुग्ने गरी एकिकृत खानेपानी एक घर एक धारा समानुपातिक वितरणका लागि खानेपानी ट्याङ्की निर्माण शुरु गरिएको छ ।
बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाले १ लाख ७५ हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माणको शिलान्यास गरेकी छन् । ‘बनेपा नगरपालिकाले सबै वडाका नागरिकहरुलाई एक घर एक धारा जडानको उदेश्य अनुरुप खानेपानीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ’–उपप्रमुख विमला सापकोटाले भनिन–‘काभ्रे भ्याली एकिकृत खानेपानीको पूर्ण ब्यवस्थापन नहुँदासम्म वडा भित्र रहेका विभिन्न मुहानहरुको संरक्षण गर्ने, मुहानहरुको एकिकृत विकास र वितरणका लागि समन्वयको भूमिका खेलिरहेको छ ।’ बनेपा नगरपालिका वडा नम्वर ६ ले शुरु गरेको अभियानमा नगरपालिकाले आवश्यक बजेट तथा समन्वयको भूमिका खेल्ने उपप्रमुख सापकोटाले बताईन् ।
ट्याङ्की शिलान्यास कार्यक्रममा वडा अध्यक्ष सचितानन्द केसीले वडामा रहेका ११ सय घर धुरी सबैलाई घर घर धारा वितरण गर्ने गरी कार्य प्रारम्भ गरिएको बताए । ‘बनेपा नगरपालिकाको बजार बाहिर रहेका वडाहरुमा सहज खानेपानी वितरणका लागि विभिन्न निकायसँग समन्वयको भूमिका खेलिरहेका छौं’–वडा अध्यक्ष सचितानन्द केसीले भने–‘वडा नम्वर ६ को खत्रीगाउँमा २ सय घर परिवार, खहरे खोला पुर्वका बस्तिहरुमा रहेको ३ सय घरमा एक घर एक धाराको कार्यक्रम शुरु भएको छ ।’ काभ्रे क्याम्पस वरपर रहेको बस्तिका ३ सय घरमा पनि चालु वर्ष भित्र नै एक घर एक धारा कार्यक्रम सम्पन्नका लागि प्रकृयामा छ । बाँकी टोल रातमाटे, न्यौपाने टोल, राममन्दिर, भक्तेश्वर क्षेत्रलाई आगामी वर्ष प्राथमिकतामा राखेर कार्य सम्पन्न गरिने वडा अध्यक्ष केसीले बताए । ‘सडक र ढलको कार्य सबै टोलमा सम्पन्न भएको छ । भएका सडकलाई पक्कि गर्ने कार्य २५ प्रतिशत मात्रै बाँकी छ’–अध्यक्ष केसीले भने–‘अबको प्राथमिकता सबै वडाबासीहरुको घर घरमा खानेपानी पु¥याउने हो ।’
खत्रीगाउँमा रहेका ७ वटा मुललाई एकिकृत गरिएको छ । थप पानीको श्रोतका लागि डिप बोरिङ्ग शुरु गरिएको छ । डिप बोरिङ्ग सहित ८ वटा श्रोतको पानी उक्त ट्याङ्कीमा जम्मा गरिनेछ । सबै मुहान एकिकृत गर्न गठित समितिका संयोजक कृष्णबुद्ध बजगाईले वडाबासीहरुको समग्र हितका लागि छरिएका मुहानहरुलाई एकिकृत गर्न सहमति गरिएको बताए । ‘हामी सबै राजनीतिक दल, स्थानीय उपभोक्ता र जनप्रतिनिधिहरुको संयुक्त भेलाबाट छरिएका मुहानहरु एकिकृत गरेर संयुक्त रुपमा पानी ट्याङ्की मार्फत खानेपानी वितरण गर्न सहमत भएका हौं’–संयोजक बजगाईले भने–‘डिप बोरिङ्ग गरेर अर्थात मुहानहरु एकिकृत गरेर अन्य क्षेत्रमा लगिएको पानीको श्रोतमा कमि आउँदैन ।’ ट्याङ्की निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र थापाले समयमै निर्माण कार्य सम्पन्न गरी उपभोक्ताहरुलाई गुणस्तरीय खानेपानी वितरण गर्ने बताए । अध्यक्ष थापाले निर्माण कार्यमा सहजिकरण तथा समन्वयका लागि सरोकारवाला निकायहरुसँग आग्रह गरे । २०८१ जेठ पहिलो साता भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरिएको उनले बताए ।
नगरपालिकाले चालु वर्षका लागि तीन वटा मुहानका लागि विनियोजन गरेको ५÷५ लाखका दरले १५ लाख, पार्क निर्माणका लागि विनियोजित रकम १० लाखलाई समेत एकिकृत रुपमा रकमान्तर गरेर उपभोक्ता मार्फत २ लाख ९३ हजार रुपैया संकलन गरी २७ लाख ९३ हजार रुपैयाको १ लाख ७५ हजार क्षमताको खानेपानी टयाङ्की निर्माण गर्न लागिएको वडा अध्यक्ष सचितानन्द केसीले बताए । टयाङ्की निर्माण, डिप बोरिङ्क र एकिकृत मुहान संरक्षणका लागि फरक फरक उपभोक्ता समिति बनेका छन् । डिप बोरिङ्क ३८ लाखमा कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको छ । ट्याङ्की शिलान्यास कार्यक्रममा वडा सदस्य लालकृष्ण तिमल्सिना, उपभोक्ता समितिका प्रकाश भुर्तेल लगायतले समयमै निर्माण कार्य सम्पन्न गरी उपभोक्ताहरुलाई गुणस्तरीय खानेपानी खुवाउन सबैको समन्वय आवश्यक रहेको बताएका थिए ।









