2026 August 30/ 02:55: 25pm

गाउँपालिकाका २५ वटा विद्यालय बन्द, दर्जनभन्दा धेरै बन्द हुने अवस्थामा

मोतीराम तिमल्सिना
चौरीदेउराली

    
    साविक मादनकुँडारी गाविस हालको चौरीदेउराली गाउँपालिका वडा नम्वर ७ मा रहेको स्वस्थानी मावि २०८० साउन महिनाबाट बन्द भयो । २०३२ सालमा स्थापित उक्त विद्यालयमा चालु शैक्षिक सत्रका लागि माध्यमिक तहसम्म ३५ जना बालबालिकाहरु भर्ना भएका थिए । गाउँपालिकाले शिक्षक र विद्यार्थीको अनुपात नपुगेको भन्दै नजिकै रहेको सिर्जनशील माध्यमिक विद्यालयमा अध्ययन गर्ने उद्देश्य सहित स्वस्थानी मावि बन्द गर्ने निर्णय ग¥यो । 
    स्वस्थानी मावि उदाहरण मात्रै हो । चौरीदेउराली गाउँपालिकामा रहेका ५९ वटा विद्यालय अहिले ३३ वटामा सिमित भएका छन् । २०७४ सालमा ५९ वटाबाट ५३ वटा विद्यालय कायम भएकोमा ५ वर्षको अवधीमा २० वटा विद्यालय बन्द भएका छन् । साविकका ९ वटा गाविसलाई एउटा पालिका बनाईएको छ । चौरीदेउराली गाउँपालिकामा हाल ९ वटा वडा छन् । ९ वटा वडामा रहेका १२ वटा माध्यमिक तहका विद्यालयम मध्ये १० वटा संचालनमा छन् । स्वस्थानी र धुशेनी शिवालयमा रहेको ग्राम विकास मावि समेत गरी दुईवटा माध्यमिक तहका विद्यालय पूर्ण रुपमा बन्द भएका छन् । प्राथमिक तहका १५ वटा विद्यालय बन्द भएका छन् । आधारभूत तहका ८ वटा विद्यालय बन्द भएका छन् । गाउँपालिकाले केहि विद्यालयको तह घटुवा गरेको छ । आगामी शैक्षिक सत्रबाट दर्जनांै विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । 
    मादनकुँडारी स्थित वडा नम्वर ७ का अध्यक्ष चन्द्रराज लामाले दशकपछि गाउँमा कोहि नहुने बताए । ‘१० वर्ष पछि गाउँमा बन्यजन्तु बाहेक मान्छे हुने छैनन्’–अध्यक्ष चन्द्रराज लामाले भने–‘युवाहरु विदेश र शहर पलायनका कारण गाउँ रित्तो बन्यो । एकातिर सन्तान उत्पादन कमि भयो । अर्काे तिर भएका सन्तान पनि अभिभावक रोजगारका लागि शहर र विदेश भएकाले शहरमा हुने भए । गाउँ रित्तो हुने भयो ।’ विदेशिएका तथा शहर केन्द्रित युवाहरुलाई गाउँ फर्काउन सम्भव छैन ? भन्ने प्रश्नमा अध्यक्ष लामाले भने–‘राज्यको नीति नबन्दासम्म गाउँमा युवा बस्न सम्भव छैन । नीति बन्यो भने पनि गर्ने के ? कसरी अडिन सक्छन युवा ?’ अध्यक्ष लामाले वडा कार्यालयले सिफारिस बाहेक केहि गर्न सक्दैन । बार्षिक ३५÷४० लाख रुपैयाँ आउने बजेटले न वडाको विकास हुन्छ ? न नागरिकहरुलाई समृद्ध बनाउन सम्भव छ । रित्तो भएको गाउँलाई विकासको प्राथमिकतामा नपारेको अध्यक्ष लामाले गुनासो गरे । ‘वडाले केहि गर्न सम्भव छैन, न बजेट, न योजना’–उनले भने–‘केहि वर्ष सिफारिसको काम हुन्छ । दशकौं पछि नागरिक हुँदैनन् अनि काम न नाम ।’ 
    स्वस्थानी बन्द भए पछि केहि बालबालिकाहरु घण्टौ हिडेर विद्यालय जान बाध्य छन् । सिङ्गो चौरीदेउराली गाउँपालिकामा शिशु कक्षा देखि १२ सम्म नियमित विद्यालय आउने विद्यार्थीको संख्या २ हजार २ सय मात्रै छ । भर्नामा २ हजार ८ सय देखाईएको छ । कक्षा ११ र १२ मा भर्ना भएका अधिकांश विद्यार्थीहरु राजधानी गएका छन् । एसईई परीक्षामा गाउँपालिका भित्रबाट २ सय २७ जना विद्यार्थी सहभागी भएका छन् । ४ सय १० जना शिक्षक कार्यरत छन् । सरकारले एक शिक्षक बराबर ४० जना विद्यार्थी तोकेको छ । शिक्षकको अनुपातमा विद्यार्थीहरु करिब १५ हजार हुनु पर्छ । अहिले शिक्षक आफैलाई लज्जाबोध हुन थालेको छ । शिक्षकहरुले गाउँपालिकालाई आफुहरुलाई अन्यत्र ब्यवस्थापन गरिदिन अनुरोध गरेका छन् । ‘अभिभावकहरुले समेत प्रश्न उठाउने र आफैलाई पनि असहज महसुस हुन थाले पछि केहि शिक्षकहरुले अन्यत्र सरुवाका लागि अनुरोध गर्न थालेका छन्’–तत्कालिन शिक्षा शाखामा कार्यरत शिक्षक तोपप्रसाद अधिकारीले भने–‘विद्यार्थी कम भएकाले शिक्षकहरुलाई विद्यालय जान असहज बन्दै गएको छ । भएका दरवन्दीको ब्यवस्थापन कसरी गर्ने गाउँपालिकालाई समेत चुनौती थपिएको छ ।’ चौरीदेउराली गाउँपालिकाको शिक्षामा राज्यको लगानी औसतमा प्रति विद्यार्थी बार्षिक ७५ हजार देखि ८० हजारसम्म पुगेको छ । २०६७ सालसम्म करिब ८ हजार विद्यार्थी भएको उक्त पालिकाका गाविसहरुमा केहि वर्ष देखि जनसंख्या खाली हुने क्रम तिब्र बनेको छ । 
    कुनैबेला प्रभा मावि जिल्लाकै अब्बल मानिन्थ्यो । कोशिपारी भेगको उत्कृष्ट र केन्द्रका रुपमा रहेको प्रभा माविमा समेत अहिले बालबालिकाहरुको संख्या ह्वात्तै घटेको छ । ३१ जना शिक्षक कर्मचारी रहेको उक्त विद्यालयमा समेत मुस्किलले शिशु कक्षा देखि १२ सम्म जोड्दा ३ सय ५० विद्यार्थीको भर्ना छ । नियमित विद्यालय आउने विद्यार्थीहरुको संख्या अझै कम छ । गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले भवन राम्रा बने पनि विद्यार्थी नभएकै कारण संकट उत्पन्न हुँदै गएको बताईन् । ‘विकास आउन थाल्यो, मान्छे शहर जान थाले’–अध्यक्ष रेणुका चौलागाईले भनिन–‘विद्यालय भवन बने । स्वास्थ्य संस्थाहरु बने । सडक कालोपत्रे भयो । सडकमा हिड्ने गाडी आउन छाडे । विकासको अनुभुति गर्ने नागरिकहरु गाउँमा भेटिन छाड्यो ।’ विद्यालय बन्द भए पछि भएका शिक्षक कहाँ पठाउने ? चुनौती थपिएको अध्यक्ष चौलागाईले बताईन् । अब विद्यालय कति दिन टिक्लान् ? चुनौती थपिएको उनले बताईन् । ‘बालुवा चालेर भए पनि भएका सन्तानलाई शहरकै विद्यालयमा पढाउने अठोट लिएर शहर पसेका युवा फर्काउन कठिन छ’–अध्यक्ष चौलागाईले भनिन–‘युवाहरु कसरी फर्काउने ? कठिन यात्रा र समयबाट गुज्रन थालेको छ ।’ 
    प्रमुख प्रशासकिय अधिकृत महानदास लामाले सन्तान कम हुनु, भएका सन्तान शहर केन्द्रित हुनु तथा गाउँमा रोजगारको अवसर कम हुनु अहिलेको मुख्य चुनौती रहेको बताए । ‘पहिला विद्यार्थी थिए । शिक्षक र भवनको अभाव थियो’–उनले भने–‘अहिले भवन राम्रा छन् । शिक्षक टन्नै छन् । विद्यार्थी छैनन्ञञ ।’ विद्यार्थी भन्दा धेरै शिक्षक हुन थालेकाले ब्यवस्थापनमा चुनौती थपिएको उनले बताए । 

जनगणनामा चौरीदेउराली 
    पूर्वमा चौंरीखोला पारी रहेको रामेछापको सुनपाती गाउँपालिका र दोरम्बा गाउँपालिका, पश्चिममा काभ्रेको भुम्लु गाउँपालिका, उत्तरमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका र दक्षिणमा सुनकोशी पारी रहेको तेमाल गाउँपालिका भित्रको ९९.५४ वर्ग कि.मि. क्षेत्रफल रहेको चौंरीदेउराली गाउँपालिका भित्र २०७८ को जनगणना अनुसार ४१५६ घर परिवारमा १४०७६ जनसंख्या रहेको छ । 
    गाउँपालिकाको वडा नम्वर २ अन्तर्गत गगर्चे भन्ने गाउँमा सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रे गरी ४ वटा जिल्लाको सिमाना सङ्गमस्थल (मिट प्वोइन्ट) रहेको छ । गाउँपालिका भित्र साविकका नाग्रेगगर्चे, सानो बाङ्थली, माझीफेदा, धुसेनी शिवालय, पोखरीचौंरी, गोठपानी, कात्तिके देउराली, मादन  कुँडारी र विर्ता देउराली सहित ९ वटा वडा गाविसहरु मिलाएर प्रत्येक गाविसलाई एक वडा नघट्ने गरी ९ वटा कायम भएको थियो । परापूर्वकाल देखि साविकको सबै गाउँवस्तीहरुलाई चौंरीथुमका आधारमा, पुकारिँदै आएको ऐतिहासिक तथ्यका आधार र चार वटा मुख्य देउरालीहरु समेत रहेको हुँदा चौंरी र देउराली जोडेर यस गाउँपालिकाको नाम चौंरीदेउराली रहेको छ । गाउँपालिकाको जनघनत्व १४१.४१ प्रतिवर्ग किलोमिटर रहेको छ भने लैङ्गिक अनुपात ८९.८३ र साक्षरता दर ५७.७५ प्रतिशत (पुरुष ६८.५२ र महिला ४८.२२) रहेको छ । २०६८ सालको जनगणनामा २० हजार ८ सय २९ जनसंख्या रहेको उक्त पालिकामा २०६८ सालमा १४ हजार ७६ मा झरेको छ । –३.७६ प्रतिशतका दरले जनसंख्या घट्दो छ । २०६८ सालमा –२.६४ प्रतिशत थियो ।