2026 August 29/ 08:54: 33am

नाला/चण्डेश्वरी माध्यमिक विद्यालयको ७६ औं वार्षिक तथा हीरक जयन्ती समापन कार्यक्रम पूर्व मन्त्री तथा काभ्रे क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद् गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
प्रमुख अतिथि बासकोटाले विद्यार्थीलाई प्रविधियुक्त शिक्षासँगै ब्यबहारिक शिक्षा प्रदान गर्नुपर्ने बताए । सिपमूलक शिक्षा दिन सकिएमा मात्रै आफ्नै देशमा विद्यार्थीहरु रहने स्थिति आउने बास्कोटाले बताए । आफु सञ्चारमन्त्री हुदाँ काभ्रे मात्रै नभई देशैभरीमा माध्यमिक विद्यालयमा आईसिटी ल्याब स्थापना गरिएको बताए । वितरण गरिएका ९० प्रतिशत सामुदायीक विद्यालयले प्रयोगमा ल्याई विद्यार्थीहरुलाई सिकाई रहेको र १० प्रतिशत त्यसै थन्किएको रिपोर्ट पाएको बास्कोटाको भनाई रहेको थियो । विद्यार्थीहरुलाई सिकाउनकै लागी आईसिटी ल्याब प्रदान गरिएकाले तुरुन्तै सञ्चालन गर्न विद्यालयहरुलाई आग्रह गरेका थिए । काभ्रेमा पनि धेरै सामुदायिक विद्यालय संस्थागत भन्दा पनि अब्बल रहेकाले अभिभावकहरुले पनि सामुदायिक विद्यालयलाई सहयोग गर्नुपर्ने बास्कोटाको भनाई रहेको थियो । 
कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा बनेपा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठले विद्यालयलाई नगरको उत्कृष्ट बनाउन सफल भएको र आगामी शैक्षिक सत्रमा जिल्लाको उत्कृष्ट र प्रदेशको उत्कृष्ट बनाउन लागिरहेको बताए । विद्यालयले समय अनुकूल, समुदायले खोजेको, समयले मागेको र विद्यार्थीहरुलाई चाहिएको गुणस्तरीय शिक्षा प्रदान गरेको बताए । कुनै विद्यालयसँग पनि प्रतिशपर्धा नभई गुणस्तरीय शिक्षा प्रदान गर्न, प्रविधि युक्त शिक्षा प्रदान गर्नकालागी ४ वटा कोठामा स्मार्ट बोर्ड जडान गरिएको र आगामी शैक्षिक सत्रबाट सबै कक्षा कोठामा जडान गरिने श्रेष्ठले बताए । सामुदायीक विद्यालय समुदायकै भएकाले समुदायको सहयोग विना विद्यालय सुधार गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिने भएकाले सहयोग निरन्तर चाहिने श्रेष्ठले बताए । विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्रध्यानाध्यापक श्यामप्रसाद पाण्डेले प्रस्तुत गरेका थिए । विद्यालयमा शिशु कक्षा देखी कक्षा १२ सम्म ८ सय विद्यार्थीहरुले अध्यन गरिरहेको बताए । विद्यालयमा भौतिक सुविधासँगै स्वच्छ खानेपानी, अपाङ्ग तथा बालमैत्री शौचालय, गुणस्तरीय शिक्षा, कम्प्युटर ल्याब, विज्ञान ल्याब, पर्याप्त पुस्कालय, मल्टि मिडिया कक्षा कोठा, योगाका कक्षा, प्रत्येक शनिबार संगीत कक्षा संचालन, स्कूल बसको  लगायतका सुविधा रहेको पाण्डेले बताए । पूर्ण रुपमा अंग्रेजी माध्यम मार्फत अध्यापन हुने उक्त विद्यालयमा विद्यार्थीहरुलाई समय र विद्यार्थीहरुले खोजेको जस्तै गुणस्तरीय शिक्षा प्रदान गर्दे आएको पाण्डेले बताए । 
कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, सहायक प्रध्यानाध्यापक कृष्णगोपाल श्रेष्ठ, कक्षा ९ का छात्र अर्जुन श्रेष्ठ, कक्षा १० की छात्रा प्रनिता विश्वकर्मा लगाएतका ब्यक्तिहरुले शुभकामना राखेका थिए । कार्यक्रममा विभिन्न सहयोगदाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन शिक्षक भिमसेन हुमागाईले गरेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका प्रध्यानाध्यापकहरु, अभिभावकहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रममा साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।