धुलिखेल, धुलिखेल अस्पतालमा ‘फ्रेबुअरी १४’ को अवसर पारी ‘एन्टिबायोटिक डे’ मनाईएको छ । विगत केहि महिना देखि अस्पतालले एन्टिमाईक्रोविएल स्टेवार्डशिप कार्यक्रम संचालनमा ल्याएको छ । उक्त कार्यक्रमको संयोजन तथा नेतृत्व डा.प्रकाश सापकोटाले गरिरहेका छन् ।
‘एन्टिबायोटिक डे’ को अवसर पारेर धुलिखेल अस्पतालमा संचालन भएको कार्यक्रम पश्चात भएका सुधारका परिणामहरु तथा विरामीहरुमा गर्नु पर्ने थप हेरचाहका बारेमा चिकित्सक, नर्स तथा सरोकारवाला निकायहरुको सहभागितामा छलफल गरिएको थियो । ब्याक्टेरिया, भाइरस र ढुसीजस्ता सूक्ष्मजीव विरुद्ध प्रयोग गरिने एन्टिबायोटिक, एन्टिभाइरल, एन्टिफङ्गल औषधिलाई एन्टिमाइक्रोबियल भनिन्छ । यस्ता औषधिको अवाञ्छित प्रयोग हुँदा लक्षित सूक्ष्मजीवले प्रतिरोध क्षमता विकास गर्ने र तिनले गराउने रोग निको नहुने तथा बिरामीको मृत्यु पनि हुन सक्ने चिकित्सकहरूले बताएका छन ।
चिकित्सकको सल्लाह बिना नै बिरामीले आफैँ वा औषधि पसलबाट किनेर एन्टिमाइक्रोबियल औषधि प्रयोग गर्दा टाईफाइड र औलोजस्ता रोग लाग्दा पनि बिरामीको उपचार गर्न कठिन हुने गरेको अनुभव चिकित्सकहरू छ । अस्पतालका संस्थापक प्रा.डा.रामकण्ठ माकजुले मौषमी रुघा खोकी जस्ता अवस्थामा समेत एन्टिबायोटिक प्रयोग गर्दा विरामीलाई पछिसम्म हुन सक्ने असरका बारेमा सचेत गराउनु पर्ने बताए । कार्यक्रममा प्रा.डा.राजेन्द्र कोँजु, डा.राम गुरुङ्ग, डा.आभा श्रेष्ठ, डा.दिपक श्रेष्ठ, डा.बलराम बल्ल लगायतका चिकित्सक र अन्य नर्सहरुले अस्पतालमा एन्टिबायोटिकको सहि प्रयोगमा जोड दिन विरामी तथा विरामीका आफन्तहरुलाई समेत सचेत गराउनु पर्ने बताए ।
चिकित्सकहरुले कुखुराको एक टुक्रा मासुमा ११ वटा एन्टिबायोटिकको परिणाम फेला परेकाले पशुपंक्षीमा प्रयोग गरिने एन्टिबायोटिक नियन्त्रण तथा सहि प्रयोग गर्न कृषक तथा सरोकारवाला निकायलाई सचेत गराउनु पर्ने बताए । कुखुराको मासु, दुध लगायतबाट मानिसमा प्रत्यक्ष एन्टिबायोटिकको मात्रा देखिने भएकाले कुनै गम्भिर प्रकृतिको रोग लाग्दा अस्पतालमा प्रयोग गरिने एन्टिबायोटिकले असर नगर्ने भएकाले नागरिकहरु सचेत रहनु पर्ने सल्लाह दिए । घरमै बसेर सामान्य औषधि खाए निको हुने टाइफाइडको बिरामीलाई बढी डोज सहित सुई दिनुपर्ने, लामो समय अस्पतालमै भर्ना गर्नुपर्ने र कतिपय अवस्थामा त कलेजोमा असर गरेको देखिन्छ । मस्तिष्कमा पनि असर गर्न सक्ने चिकित्सहरुले बताएका छन् । एन्टिबायोटिकको प्रयोग बढिरहँदा त्यसले बिरामीको ज्यानै गएका घटना पनि धेरै देखिएको सोहि अवसरमा बनाए ।
एन्टिबायोटिकको अनुचित प्रयोगले कतिपय सङ्क्रामक जीवाणुहरूले औषधि प्रतिरोध गर्ने क्षमता अर्थात एन्टिबायोटिक रेजिस्टन्सु विकास गरेको भन्दै विश्वव्यापी रूपमा चिन्ताहरू व्यक्त हुँदै आएका छन । नेपालमा पनि एन्टिबायोटिकको प्रयोग धेरै हुने गरेको तथ्याङ्कले नै देखाएका कारण सचेतनाको आवश्यकता परेको बताईएको छ । ‘बिरामीलाई एन्टिबायोटिक्स होइन आराम’ रोगसँग प्रति जैविक प्रतिरोध क्षमता घटेको तथ्याङ्कले देखाएकाले आममानिसलाई, औषधि सुझाउने व्यक्ति र नीति निर्मातालाई सचेत गराउन आवश्यक रहेको डा. प्रकाश सापकोटाले बताए । अहिले भईरहेका एन्टिबायोटिक औषधिहरूको प्रभावकारिता कम देखिन थालेको मात्रै नभई नयाँ औषधि पनि पत्ता लागेको छैन । ‘जो कोहिले एन्टिबायोटिक प्रयोग गर्दा एक पटक चिकित्सकसँग सोधेर मात्रै खानु पर्छ’– डा. राजेन्द्र कोंजुले बताए । चिकित्सकहरुले जसरी पनि एन्टिबायोटिक प्रयोग गर्नु पर्ने गरी सिफारिस नगर्न पनि सहभागिहरुले बताए ।









