मोतीराम तिमल्सिना
धुलिखेल
मसिंर ४ गते आईतबार हुने मतदानका लागि मतदाताहरुले ४ वटा मतपत्रमा मतदान गर्नु पर्नेछ । नेपालको इतिहासमा एउटै निर्वाचनमा चारवटा मतपत्रमा मतदाताहरुले मतदान गर्नु पर्नेछ । प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ पहिलो मत राखेर खसालेपछि समानुपातिक तर्फको मतपत्र प्राप्त हुनेछ । सोहि मतपत्रमा मतदान गरेर बाक्सामा खसालेपछि मात्रै प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र प्राप्त हुनेछ । सोहि मतपत्र बाक्सामा खसालेपछि अन्तिम मतपत्रका रुपमा प्रदेश सभाको समानुपातिक तर्फको मतपत्र प्राप्त हुनेछ । सबै मतपत्र अलग अलग लिने र अलग अलग खसाल्ने ब्यवस्था मिलाईएको छ ।
मतदाताहरु नझुक्किने गरी मतदान स्थल बनाईएको छ । सबै स्थानमा फराकिलो मतदान केन्द्र नभएकाले कस्टका साथ मतदान गर्नु पर्ने बाध्यता मतदाताहरुलाई छ । कुनै मतदातालाई कुनै एउटा मतपत्रमा मात्रै मतदान गर्छु भन्यो भने मतदान अधिकृतले त्यसको रेकर्ड राखेर मतदान गर्ने ब्यवस्था मिलाएको छ । विहान ७ बजे देखि साँझ ५ बजेसम्म मतदान गर्न सकिनेछ । मतदानका लागि राष्ट्रिय परिचयपत्र, नागरिकता, राहदानी लगायतका सरकारी मान्यता प्राप्त परिचय खुल्ने परिचयपत्र लिएर जानु पर्नेछ । नयाँ मतदाताहरुका लागि परिचयपत्र वितरण हुने छैन । मतदान सकिए लगत्तै मतगणनाका लागि निर्वाचन क्षेत्रमा मतपेटिका आए पछि सर्वदलिय बैठक बसेर मतगणना शुरु हुनेछ । निर्वाचन सम्बन्धी सम्पूर्ण तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनु भयो । सुरक्षाकर्मी, कर्मचारी र निर्वाचन सामाग्री सबै मतदान स्थलमा पुगिसकेको छ ।
३,१०,०६३ मतदाता, अस्थायी १६०८
काभ्रेमा दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र छन् । काभ्रेपलाञ्चोक जिल्लामा ३ लाख १० हजार ६३ मतदाता छन् । ३ सय ८९ वटा मतदान केन्द्रबाट १ लाख ५७ हजार ९ सय ४७ पुरुष, १ लाख ५२ हजार १ सय १४ महिला मतदाताले मतदान गर्न पाउने छन् । अन्य मतदाता २ जना छन् । थप एक अस्थायी मतदान केन्द्रमा १ हजार ६ सय ८ जना मतदाताले समानुापतिक तर्फ मतदान गर्नेछन् ।
प्रतिनिधि सभा १ मा १ लाख ५२ हजार ६ सय २१ मतदाता छन् भने प्रदेश १ मा ७६ हजार ४ सय ७५, प्रदेश सभा २ मा ७६ हजार १ सय ४६ मतदाता छन् । प्रतिनिधि सभा २ मा १ लाख ५७ हजार ४ सय ४२ मतदाता छन् । प्रदेश सभा १ मा ७७ हजार १ सय ९ मतदाता छन् भने प्रदेश सभा २ मा ८० हजार ३ सय ३३ मतदाता छन् । जिल्लामा ५ हजार ८ सय ३३ पुरुष मतदाता धेरै छन् ।
मतदान केन्द्रमा कर्मचारी
सेनाबाहेक ३२४१ सुरक्षाकर्मी, ३,१२५ कर्मचारी, १,५५९ स्वंसेवक
निर्वाचनका लागि छनौट भएका ३ हजार १ सय २५ कर्मचारीहरु तालिम र मतदानका सामाग्री लिएर मतदान केन्द्र पुगेका छन् । केहि पुग्ने क्रममा छन् । नजिक मतदान केन्द्र भएका कर्मचारीहरु २ गते मात्रै पुग्नेछन् । ३ लाख १० हजार ६३ मतदाताका लागि कार्यालयले तयार गरेको मापदण्ड अनुसार सेनाबाहेक ३ हजार २ सय ४१ सुरक्षाकर्मी, ३ हजार १ सय २५ कर्मचारी र १ हजार ५ सय ५९ स्वसेवक परिचालन हुनेछन् । जिल्ला निवार्चन अधिकारी उमेश राईका अनुसार एउटा मतदान केन्द्रमा ८ जना कर्मचारी र ४ जना स्वंवेवक परिचालन हुनेछन् । जिल्लामा ३ सय ८९ वटा मतदान केन्द्र छन् । मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी ५ जना र सहयोगी एक जना रहनेछन् । यो पटकको निर्वाचनमा प्रत्यक्ष तर्फका २ र समानुपातिक तर्फका २ गरी चारवटा मतपत्र हुनेछन् ।
चारवटा मतपत्रका लागि चारजना कर्मचारी खटिनेछन् । ८ जना कर्मचारी जिल्लाबाट खटिएका छन् भने स्वसेवक मतदान अधिकृतले स्थानीय स्तरबाटै लिनेछन् । यो पटक कर्मचारी तथा सुरक्षा निकायका ब्यक्तिहरुले पनि समानुपातिक तर्फ प्रतिनिधि सभा तर्फ मतदाता सूचीमा नाम भएका सबैले मतदान गर्न पाउने भए पछि जिल्लामा अस्थायी मतदान केन्द्र पनि राखिएको छ । जेष्ठ नागरिक केन्द्र तथा आश्रममा रहेका मतदाताहरुलाई नजिकको मतदान केन्द्रमा मतदान गर्ने ब्यवस्था मिलाएको छ ।
६ पदमा ६४ उम्मेदवार
काभ्रेका दुईवटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभाका लागि ६ पदमा ६४ जनाको उम्मेदवारी दर्ता भएको छ । मंसिर ४ गते हुने निर्वाचनमा समानुपातिक बाहेक प्रत्यक्ष तर्फ ६४ उम्मेदवारले मत प्राप्त गर्नेछन् ।
प्रतिनिधि सभा १ मा १७ जना उम्मेदवार छन् । प्रदेश सभा १ मा ९ जना र २ मा ९ गरी ३५ जना छन् । त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा १६ जना, सोहि क्षेत्रको प्रदेश सभा १ मा ६ जना र २ मा ७ गरी २९ उम्मेदवार छन् । दुबै क्षेत्रमा गरेर ६४ जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन् । जसमा प्रत्यक्ष तर्फ २ महिला मात्रै छन् । १९ दलका उम्मेदवार चुनावमा छन् । १२ उम्मेदवार स्वतन्त्र छन् ।









