2026 August 23/ 02:56: 17pm

यादव थापा
    संघीय नेपालको संविधान २०७२ असोज ३ गते जारी भएपछि संघीय शासनले परिकल्पना गरे अनुसारका सात प्रदेशमा पहिलोपटक २०७४ साल वैशाख ३१ गते असार १४ गते र असोज २ गते गरी तीन चरणमा स्थानीय तहको निर्वाचन र २०७४ मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा सम्पन्न भएको थियो । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रले चुनावी गठबन्धन गरेका थिए भने नेकपा एमाले एक्लै चुनावी मैदानमा थियो, यद्यपि देशका अधिकांश स्थानीय तहमा नेकपा एमालेले विजय हासिल गरेको थियो ।
    स्थानीय तहमा काँग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले अप्रत्याशित रुपमा संघीय र प्रादेशिक चुनावमा नेकपा एमाले सँग चुनावी तालमेल ग¥यो र राम्रो चुनावी परिणाम पनि प्राप्त ग¥यो जसबाट संघीय संसद्को प्रत्यक्ष तर्फको १६५ निर्वाचन क्षेत्र मध्ये नेकपा एमालेले ८० स्थान माओवादी केन्द्रले ३६ स्थान र नेपाली काँग्रेसले २३ स्थानमा विजय हासिल गरेका थिए । प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक गरी कूल २७५ संख्यामा एमालेको १२२ र माओवादीको ५३ गरी १७५ सांसद् सहित झण्डै दुई तिहाईको बहुमत नजिक पुगेको थियो । तर त्यो ऐतिहासिक क्षण र सफलता पूर्ण अवधि कायम हुन सकेन यो वामपन्थी नेताहरुको अकर्मण्यता र नेपाली जनताको दुर्भाग्य हो ।
    स्थानीय तहको प्रथम चरणको चुनाव भएको पाँच वर्षपछि २०७९ वैशाख ३० गते सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको छ र निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाइसकेको छ । साथै प्रमुख राजनैतिक दलहरुले आफ्ना स्थानीय चुनाव केन्द्रित निर्वाचन अभियान र गतिविधि अघि बढाईसकेका छन् । सर्वाेच्चको परमादेशबाट बनेको गठबन्धन सरकार निर्वाचनमा गठबन्धन कायम गरेर जाने कि अलग अलग जाने कुरामा अल्मलिएको छ भने नेकपा एमालेले एक्लै चुनाव जाने घोषणा गरिसकेको छ । गठबन्धनका दलहरु नेकपा एमालेको बढ्दो लोकप्रियता र शक्ति देखेर चुनावमा एक्लै एक्लै जान खुट्टा कमाइरहेका छन् र ‘सपना विपना गठबन्धनकै जपना’ गरिरहेका छन् ।

नेपाली जनताहरुले सबै किसिमका सरकारको स्वरुप प्रयोग र अभ्यास गरिसकेका छन्ः
नेपालमा बहुदलीय व्यवस्थाको प्रादूर्भाव भएदेखि संघीय गणतन्त्रसम्म आइपुग्दा नेपाली जनताहरुले विभिन्न राजनैतिक दलहरुले नेतृत्व गरेको बहुमतको अल्पमतको सामान्य बहुमत, सुविधाजनक बहुमत, एकल, संयुक्त अनि कार्यकालको हिसाबले ६ महिने, ९ महिने र १ वर्षदेखि ४ वर्ष शासन सम्हालेको सरकारका स्वरुप, शासकीय शैलीको अनुभव, अभ्यास र प्रयोग गरिसकेका छन् । ति सबैमध्ये २०५१ सालको नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले नेतृत्व गरेको ९ महिने अल्पमतको सरकार मात्रै सरकार संचालन र नेतृत्वमा स्वर्णिम कार्यकाल रहन सफल भयो ।

लोककल्याणकारी राज्यको भिजन एमालेसँग मात्रै छः
    नेपालका राजनैतिक पार्टीहरु मध्ये नेकपा एमालेसँग मात्रै लोककल्याणकारी राज्य र विकासको भिजन भएको प्रष्ट देखियो । अहिलेसम्मका प्रधानमन्त्रीहरुमा निष्कलंकित एवं स्वच्छ छविको रुपमा उभ्याउन सफल मनमोहन अधिकारी अनि थोरै समयमा नै राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतमा छुट्टै पहिचान कायम गर्न सफल जनताको बहुदलीय जनवादका व्याख्यता एवं प्रणेता जननेता मदन भण्डारीले नेतृत्व गरेको नेकपा एमालेले “आफ्नो गाउँ आफै बनाऔं” वृद्ध भत्ता, अपाङ्ग, असहाय, एकल महिला भत्ता, स्थानीय तहसम्म आर्थिक रकम वितरण र “समृद्ध नेपाल, सुखी नेपाली” को अवधारणा लोककल्याणकारी राज्यका ज्वलन्त उदाहरण र प्रमाण हुन् ।
नेपाली काँग्रेससँग देश विकासको भिजन र मार्गचित्र नै छैन ः
नेपाली काँग्रेस नेपाली जनताले मन पराएको पार्टी होइन । प्रत्येक पटकको निर्वाचन परिणाम हेर्ने हो भने कूल मत संख्याको ७०% वामपन्थीको पक्षमा र ३०% मत मात्रै काँग्रेसको पक्षमा खसेको देखिन्छ, तर कम्युनिष्टहरु जुटमा भन्दा फुटमा बढी रमाउने हुँदा ३०% जनमत भएको नेपाली काँग्रेसले प्रायजसो लामो समय शासनसत्ताको बागडोर सम्हाल्ने मौका पाइरहेको छ । काँग्रेस सरकारको नेतृत्वमा देशको विकासभन्दा विनाश बढी भएको छ, मित्र राष्ट्रहरुले स्थापना गरिदिएका सारा उद्योगधन्दा कलकारखानाहरु काँग्रेस नेतृत्व सरकारले कवाडीको दरमा विक्री ग¥यो, बन्द ग¥यो र मजदुरहरुलाई बेरोजगार बनायो । राजनैतिक तहका उच्च पदस्थ नेताहरु खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले आदि नेपाली काँग्रेसमै भेटिए र, ईटा भट्टामा ज्यूँदै मान्छे पोल्ने अफताफ आलम प्रवृत्तिका अपराधिहरु काँग्रेस नेतृत्वमा आएपछि ससम्मान छुटकारा पाउँछन् ।
माओवादी केन्द्रबाट जनता विकर्षित भएका छन् ः
    दुर्गम र अविकसित क्षेत्रका सोझा इमानदार जनताहरुलाई काल्पनिक संसारको सपना देखाएर दशवर्षे कथित जनयुद्ध संचालन गरी राज्यको अपार भौतिक संरचनाको ध्वस्त र सत्र हजार नेपालीको हत्यापछि शान्तिवार्ताको माध्यमबाट शासन सत्तामा प्रवेश गरेको माओवादी केन्द्रका नेताहरुको जीवनशैली र जनयुद्धमा होमिएका, मारिएका, अपाङ्ग भएका, बेपत्ता भएका नागरिकहरुको वेवास्ताका कारण माओवादी केन्द्रप्रति आम कार्यकर्ता र जनताहरु विकर्षित हुँदै गएका छन् । साथै माओवादी केन्द्रका जनसंगठनहरु धमाधम भत्किने क्रममा रहि उक्त पार्टीका अध्यक्ष प्रचण्ड समेत असन्तुलित रुपमा बरबराउन लागेका छन् ।
नेकपा समाजवादी ‘बाँदर’ को भूमिका खेल्दैछ ः
    आफ्नो सरकारको दुई तिहाईको सरकार ढालेर काँग्रेसको पुच्छर समाउन पुगेको एमालेको चोइटो नेकपा समाजवादीले आउने स्थानीय तथा संघीय र प्रादेशिक निर्वाचनमा बाँदरको  भूमिका खेल्दैछ । उक्त पार्टीका अध्यक्ष भनिएका माधवकुमारले सामाजिक संजाल र पार्टीका कार्यक्रमहरुमा खुल्ला रुपमा भनिसके नेकपा एसको उद्देश्य एमालेलाई चुनावमा हराएर बहुमतमा जानबाट रोक्नु हो । कति हास्यास्पद, निर्लज्ज र विवेकहीन भनाई आफू जित्ने होइन एमालेलाई हराउने, हिजो त्यहि पार्टीमा डकारेर चुनाव हारेको व्यक्ति स्वयं प्रधानमन्त्री बन्न सफल भएको आज त्यहि मूलपार्टी प्रति त्यस्तो असह्य दुश्मनी व्यवहार देखाउनु राजनैतिक बेइमानी शिवाय केहि हुन सक्दैन । यस्तो प्रवृत्तिलाई भनिन्छ “सौताको रिसले पोईको ओच्छ्यानमा सु गर्ने’ अनि ‘आफ्नो घरमा आगो लगाएर आँगनमा गएर नाच्ने’ मुर्खता ।
नेकपा एमाले प्रति जनताको आकर्षण बढ्दो छ
जसले जति ताछ्न, खुल्याउन एक्ल्याउन खोजेपनि नेकपा एमालेप्रति जनताको आकर्षण र मोह बढ्दै गएको छ । दिनदिनै हजारौं संख्यामा विभिन्न वर्ग र क्षेत्रका जनता, एमालेमा प्रवेश गर्ने लहर बढ्दै गएको छ । नेकपा एमालेको टोल कमिटी गठन देखि वडा, नगर, जिल्ला, प्रदेश र राष्ट्रिय महाधिवेशनको अपार जनसागरले यसलाई पुष्टि गरिसकेको छ र अहिले कुनै पनि पार्टी एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नगरी गठबन्धनको जपमाला जपिरहेका छन् ।
सबै पार्टीमा असल र खराब नेता कार्यकर्ता रहेका छन् ः
    नेपालका सबै राजनैतिक पार्टीका नेता र कार्यकर्तालाई एउटै डालोमा राखेर हेरिन्छ र भन्ने गरिन्छ र भन्ने गरिन्छ “जुन जोगी आएपनि कानै चिरिएका” देशको समग्र परिस्थिति र राजनैतिक पार्टीहरुको क्रियाकलाप र व्यवहारले यो भनाईलाई पुष्टि पनि गर्दछ । तर सबै पार्टीमा असल र खराब नेता कार्यकर्ताहरु रहेका छन्, केवल असल इमानदार, सिद्धान्तनिष्ट र त्यागी नेता र कार्यकर्ताहरु अवसरवाद, चाकरीवाद र सत्ताको मियो वरिपरी घुम्ने खराब नेता र कार्यकर्ताहरुको अगाडि ओझेलमा परेका छन् ।
चुनावको मुखमा एक अर्काे पार्टी प्रदेश गर्ने प्रायः सबै अवसरवादी नै हुन् ः
    अहिले स्थानीय तहको चुनाव नजिकिँदै जाँदा राजनीतिक पद र अवसरको खोजमा एक पार्टीबाट अर्काे पार्टीमा प्रवेश गर्नेहरुको लर्काे बढेको छ । यसरी पार्टी प्रवेश गर्नेहरु मध्ये एकाध व्यक्तिहरु बाहेक प्रायः सबै अवसरवादी प्रवृत्तिबाट ग्रसित व्यक्ति नै बढी हुन्छन् र उनीहरु प्रवेश गरेको पार्टीमा उचित स्थान र नपाएमा फेरि विद्रोह गरी घर भत्काउन थाल्दछन् । एक आपसमा मिल्दा चाटाचाट गर्ने र छुट्टिएपछि काटाकाट गर्ने मनोरोग यी अवसरबादीहरुमा देखिन्छ । त्यसैले यस्तो झुण्ड र जत्थाहरुबाट सबै पार्टी नेतृत्व सजग हुनु जरुरी देखिन्छ । त्यस्ता अवसरवादी प्रवृत्तिको पार्टी प्रवेशले क्षणिक रुपमा त रमाईलो हुन्छ, दीर्घकालीन रुपमा पार्टीभित्र भाईरस भित्र्याउनु सरह हुनेछ ।
स्थानीय तहका विकास निर्माण कार्यमा एमालेको अग्रताः
    देशको संघीय, प्रादेशिक र स्थानीय तहका सरकारले बजेट विनियोजन गरी स्थानीय उपभोक्ता समितिमार्फत संचालन गर्ने प्रायः अधिकांश विकास निर्माण समितिमा नेकपा एमालेका कार्यकर्ताहरुको सक्रिय सहभागिता देखिएको छ । यदाकदा अन्य पार्टीका कार्यकर्ताहरुको सहभागितामा संचालित विकास निर्माण आयोजनाहरु अधुरो रहने, गुणस्तर नहुने र भ्रष्टाचारको गन्ध भेटिने गरेको पाईन्छ । त्यसैगरी अन्य गैरसरकारी संस्थाहरु बन, खानेपानी, रेडक्रस, विद्यालय व्यवस्थापन समितिमा एमाले कार्यकर्ताहरुको अग्रता रहेको छ ।
विगत पाँच वर्षको अनुभवले प्रदेश तहको औचित्य देखिएन ः
    राज्यका तीनवटै तहको विगत पाँच वर्षको अनुभवले नेपालजस्तो सानो भुगोल भएको देशलाई प्रदेश तह औचित्यहीन देखियो र संघीय र स्थानीय तह नै काफी देखियो । सात प्रदेशका ५५० जना सांसद्, सातजना मुख्यमन्त्री, एकसय भन्दा बढी मन्त्रीहरु, सभामुख, उपसभामुख लगायत सबै प्रादेशिक खर्च राज्यलाई अनावश्यक आर्थिक बोध बोकाउने ‘सेता हात्ती’ पाल्नु सरह नै भएको छ । यो स्तम्भकार लेखक स्नातकोत्तर तहसम्म अध्ययन गरी केहि राजनीतिमा चासो राख्ने व्यक्तिलाई आफ्नो प्रदेश नं. ३ बागमती प्रदेशमा मुख्यमन्त्री बाहेक अरु कतिवटा मन्त्री र मन्त्रालय छन्, अनि ति मन्त्रीहरुले विगत पाँच वर्षमा प्रदेशमा के के काम गरे केहि पनि थाहा छैन भने अन्य सर्वसाधारण जनतालाई के थाहा हुन सक्छ । तसर्थ यो पार्टीहरुको झगडाको केन्द्रको रुपमा रहेको अनावश्यक प्रदेश तह अबिलम्ब खारेज गरी यसमा हुने खर्च स्थानीय तहमा लगायो भने देशले विकासको फड्को छिटो मार्नेछ ।