2026 September 07/ 04:26: 47am

    जिल्लामा पछिल्लो समय चर्चित र पाशविक तरिकाले बुहारी भएकै कारण मर्नु परेकी सरिताको हत्याकाण्डमा थुप्रै ब्यक्तिहरुले अपराधीहरुलाई कारवाहीका लागि दबाब दिनु भएको छ । स्थानीय, जनप्रतिनिधि, पत्रकार तथा शुभ चिन्तकहरुको दबाबका कारण पनि पहिलो पटकलाई अपराधीहरु जेल गएका छन् । अझै प्रकृया बाँकी छ । अपराधीहरुले पापको कर्म बोक्न सर्वस्व सहितको कैद तोक्ने काम प्रकृयामै छ । पुर्पक्षमा राखेर थप अनुसन्धान हुँदैछ । प्रहरीले पनि आफ्नो अनुसन्धानलाई फितलो हुन दिएको छैन । अझै दबाब आवश्यक छ । २०७२ बैशाख ९ गते बहिनी सरिताको सुदिप दुलालसँग सामाजिक परम्परानुसार मागी विवाह भई सामान्य जीवन विताई रहेको अवस्था थियो । विवाह भएको केही समय देखि नै वहिनीलाई पटक पटक शारीरिक तथा मानसिक यातना दिएका थिए । कहिले धम्क्याउने कुटपिट गर्ने भए पनि व्यवहारमा विस्तारै सुधार हुँदै आउला भनि चित्त वुझाउँदै आएका थियौ । वहिनी सरिताले पनि जसोतसो आफ्नो घर गरी आएकी थिईन् । २०७६ बैशाख १३ गते दिनको १२ वजे मेरो बहिनीको घर गाउँलेले मेरो मोवाइलमा फोन गरी बहिनीको मृत्यु भएको जानकारी पाएँ । मेरो जेठान नारायण प्रसाद ढकाल र भाई हिरामणी दाहाल सहित बहिनीको घर (घटनास्थल) पुग्दा त्यहा गाउँले, पुलिस र मृतकका श्रीमान वाहेक अन्य प्रतिवादीहरु घटनास्थलमा नै थिए । 
    घटनास्थल प्रकृति र बहिनीको मृत शरीर हेर्दा अस्वभाविक अवस्थाको थियो । परिवारले सूचना दिएन । घटनास्थलमा पुग्दा हामीसँगै कुराकानी तथा छलफल गर्न समेत कसैले चाहेन । घटनाको विषयमा वुझ्न खोज्दा सरिताका जेठाजु केशव दुलालले हामीले प्रकृया पु¥याएर काम गरेका छौ तिमीहरुलाई के चासो प¥यो, सकेको गर भनि सबै गाउँले तथा प्रहरीका विचमा उल्टै धम्कीपूर्ण जवाफ दिए । सरिताको मृत शरीर, घटनास्थल घरको अवस्था समेत हेर्दा बहिनीको घाँटीमा निलो डाम देखिएको थियो । वहिनीको लास भुईमा विना खोलको सिरक माथि लमतन्न हुने गरी सुताएको अवस्थामा थियो । अर्कोतर्फ घरको घटनास्थल अवस्था हेर्दा बहिनीको लास भएको कोठामा तन्ना नहालेको अवस्थामा लास थियो । घरको भान्सामा आधा खाएको अवस्थामा दुईवटा प्लेट र बहिनी सुत्ने कोठामा टि.भि. झरेको अन्य सामान र लत्ता कपडाहरु असरल्ल रुपमा छरिएर रहेको अवस्थामा थियो । घटना स्थिति वुझ्दा निज प्रतिवादीहरुले मेरी वहिनीलाई योजनाबद्ध तरिकावाट कर्तव्य गरी मारेका हुनाले प्रतिवादीहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्वन्धी कसुरको दफा १७७ वमोजिम कारवाही माग गर्दै निवेदन दिएको छु ।
    घटना पछि अभियुक्त मण्डनदेउपुर नगरपालिका वडा न.६ बस्ने पिताम्बर दुलालको छोरा अर्थात सरिताका श्रीमान २५ बर्षिय सुदिप दुलालले आफैले अभिभावकको सहयोगमा श्रीमती सरितालाई हत्या गरेको स्विकार गरेका छन् । सुदिपले प्रहरी समक्ष आफु १६÷१७ बर्षको उमेर हुँदा देखि नै साथी भाईको संगतमा लागू औषध गाँजा सेवन गर्दै आएको र प्रायजसो घरमा नबस्ने बाहिर हिड्ने गरेको बयान दिएका छन् । यस्तो छ उनको बयान – ‘४ बर्ष जति सह–चालक काम गरी कमाई खाई आएकोमा घर परिवारमा समेत गाँजा खाई हिड्ने कुरा थाहा पाई सुध्रिन्छ की भनि श्रीमती सरिता दाहाल दुलाल संग परिवारले मागी बिबाह गरी दिएका थिए । विवाहको २ बर्ष जति श्रीमती सहित परिवार संग मिली बसी बिबाह गरेको १ बर्ष पछि मेरो दाजु तथा बुबाले छुट्टी भिन्न बस्ने कुराकानी भई मेरो श्रीमतीले समेत छुट्टै बस्न सहमती जनाएकोले भिन्न भई आ–आफ्नो व्यबहार गरी आएका थियौं आईरहेकोमा मैले चालक अनुमती पत्र समेत प्राप्त गरी सकेको हुँदा टिपर गाडी चलाई कमाई खाई श्रीमतीको समेत लालन पालन गर्दै आएको थिएँ । मेरो लागुऔषध गाँजा सेबन गर्ने बानी नछुटेकोले मेरो घर परिवारको सल्लाहमा मेरो भिनाजुले मलाई उपचार गर्न लाने भनि २०७५ असोज ८ गते भक्तपुर जिल्ला भातेढिकुर स्थितमा रहेको नँया बिहानी सुधार गृहमा राख्नु भयो । सुधार गृहमा नै बसी मेरो परिवार तथा आफन्तले मलाई २०७५ सालको फाल्गुण महिना तिर निकाली घरमा ल्याई घरायसी कृषि पेशा गरी श्रीमान श्रीमती मिली बस्दै आएका थियौं । श्रीमती सरिता दाहाल दुलाल सधै जसो कोठा भित्र बस्ने म्यासेजमा अन्य केटाहरुसँग कुराकानी गर्ने गर्दै आएको मैले देखें । श्रीमतीलाई मैले तिमीले को संग कुराकानी गरेको म त गाँजा सेवन गर्न समेत छाडी सुध्रिसकेको छु भन्दा समेत केही कुरा बताईनन् । मैले यस्तो किसिमको क्रियाकलाप गरेको छैन भनि ढाकछोप मात्र गरी आईन् । मेरो मनमा कुरा खेल्न थाली निजलाई अब बाँकी नराख्ने बिचार गरें । २०७६ बैशाख १२ गते दिनको समयमा सँगै आफ्नै खेतमा मकै गोड्न गयौं ।     मकै गोडी बसेको समयमा गाँउको छिमेकी नाताले काका पर्नेले मेरै अगाडी श्रीमतीलाई जिस्काई बोलाउँदा समेत श्रीमतीले आज हुन्न पछि भेट्छु भनि मुस्कुराउदै भनेपछि मलाई उ प्रति रिस उठी मनमनैले आज नमारी छाड्दिनँ भन्ने योजना बनाएँ । उनलाई मार्ने योजना दिउँसैबाट बन्यो मेरो । दिनभरी काम सकी दुबै जना घरमा आई मैले बेलुकाको खाना पकाई निज श्रीमतीले गाई गोठको धन्दा गरिन् । त्यससँगै हामीले खाना खाई अन्दाजी साँढे ९ बजेको समयमा दुबै जना सुत्न कोठामा गए पश्चात मलाई श्रीमतीले गर्नुपर्ने व्यबहारमा परिवर्तन भएको महसुस भयो । दिउँसो मेरो अगाडि गरेको व्यबहार सम्झी झन रिस उठ्यो । त्यस लगत्तै मैले एक खिल्ली चुरोट खाई सँगै भुईमा सुतेकोमा बिहानी पख बिउँझी श्रीमती प्रति अति नै रिस उठ्यो । २०७६ बैशाख १३ गते बिहानी पख उठी बाहिर निस्की केही समय पछि कोठामा आएँ । श्रीमतीलाई कहाँ गएर आएको यत्रो समयम सम्म भनि सोधें । उनले पिसाब गर्न गएको हो त्यही पनि किन के को चासो हो जहाँ गए पनि भनि बादबिवाद हुँदा सँगैको अर्को कोठामा सुतेको बुबा, आमा, दाई र भाउजु समेत आए । यो धेरै बेसी भएकी छ यसलाई नमारी हुन्न यसले हाम्रो घर परिवार र कुल समेतको ईज्जतमा आँच आउने कार्य गर्न सक्छ यसलाई मार्नुपर्छ भनि बुबा, दाई, आमा र भाउजु समेतले मलाई उक्साए पछि श्रीमतीको शरीर छातीमाथि चढी दुवै हातले केही बेर घाँटी थिची बुबा पिताम्बर दुलालले खुट्टा समाती दाई केशब दुलालले दुवै हात समाते पश्चात मैले सोही कोठाको दलिनमा रहेको गुलेली बनाउनको लागि प्रयोग गरिने काठ सहितको रबरलाई खोली त्यहि गुलेलीको रबरले श्रीमती सरिताको घाँटीमा दुई फन्का बेरें । जब उनि चल्न चट्पटाउन छाडिन् तब मरी भन्ने भयो । तत्काल हाम्रो घर सल्लाह अनुसार मलाई भाग्न लगाईयो । म भागी घर नजिकै सिन्धुपाल्चोक स्थित ईन्द्रावती खोलाको बगरमा रहेको लामा क्रशर नजिक वनमा गई दिन भर बसें । सोही स्थानको जंगलमा एक्लै बसी रहेकै अबस्थामा घर परिवार सबैलाई प्रहरीले पक्राउ गरी लगेको भन्ने कुरा सुनें । बेलुकी पख काभ्रेपलाञ्चोक जिल्ला ढाडखोला स्थित तल्लो बजारमा आई चाउचाउ र बिस्कुट किनी खाएँ । मेरो घर नजिक मान्छे नबस्ने दाउरा राखेको गोठमा त्यो रात विताएँ । विहान ५ बजेको समयमा प्रहरीले पक्राउ गर्ने डरले काठमाडौमा लुकी बस्छु भनी गाडीमा गए मान्छेले थाहा पाँउछन भनेर ढाडखोला तर्फबाट नगरकोट जाने सडक नै सडक हिड्दै गई रहेको अबस्थामा बालुवा पाटी पुग्नै लाग्दा प्रहरीले पक्राउ गरी समात्यो । उनलाई मारेकोमा खेद छ । तर पनि उनले मेरो भावना बुझ्न नसक्दा मैले परिवारकै सहयोग र उक्साहटमा हत्या गरेको हुँ ।’ 
    सरिताका ससुरा पिताम्बर दुलाल, सासु रोमकुुमारी दुलाल, जेठाजु केशवप्रसाद दुलाल, उनकी श्रीमती संगिता दंगाल दुलाल र श्रीमान सुदिप समेतको हत्यामा संलग्नता देखिएको छ । योजनावद्ध ढंगबाट गरिएको हत्या लुकाउन धेरै ठुलो प्रयास गरियो । सम्पतिकै लागि जेठाजु केशवप्रसाद र सासु रोमकुमारीले सरितालाई पटक पटक यातना दिने काम गरेका थिए । श्रीमान गँजेडी भए पनि भाग्यमा लेखिएको कुरा हो भन्दै उनले माईतीमा समेत आफ्ना पीडा लुकाएर भनेकी थिईन् । कर्म अनुसारको भाग्य भन्दै उनले आफैलाई दोष दिईरहेकी थिईन् । टुहुरी सरिताले घर विग्रने नाममा हरेक यातना सहेरै बसिन् । उनको परिवारले सरितालाई दोषि देखाउन पटक पटक उनको चरित्र माथी धावा बोल्ने काम गर्दै आएको थियो । श्रीमान त्यस्तो भएका कारण उनिहरुलाई घरबाटै निकाल्ने दाजुको प्रवल चाहना पुरा गर्ने नाममा सुदिपले श्रीमतीलाई हत्या गरेका हुन् । उनले गरेको हत्यामा परिवारका अधिकांश सदस्यहरुको सहभागिता छ । त्यसकारण पनि सरिताको हत्यामा सलग्न दोषिहरुलाई सामान्य होईन कडा भन्दा कडा सजायँ हुनु पर्छ । एउटी सरिता विनाकारण परिवारबाट मारिनु परेको छ । देशमा जन्मिएका थुप्रै सरिताहरु त्यहि प्रकरणमा मारिनु नपरोस् । त्यसका लागि पनि न्याय दिने निकायबाट निश्पक्ष सजायँ दिने कुरामा कन्जुस्याई नहोस् । तब मात्रै मृतक सरिताको आत्माले शान्ति पाउनेछ । पीडित परिवारका आफन्त र शुभचिन्तकहरुले न्यायको महसुस गर्नेछन् । 

कृष्णप्रसाद दाहाल
मण्डनदेउपुर नगरपालिका 
वडा नम्वर ४, काभ्रे