2026 May 01/ 06:41: 37pm

    बनेपा/बनेपामा बैशाख २६ गते एसईई दिएर बसेका विद्यार्थीहरुका लागि छैटौ पटक ज्ञानकुञ्ज रोड रेस २०८३ आयोजना गरिने भएको छ । छात्रहरुका लागि ३.६ किमी र छात्राहरुका लागि ७ किमी दौड निर्धारण गरिएको छ । 
    विद्यालयका प्रवन्ध निर्देशक प्रताप बैद्यले छैटौ ज्ञानकुञ्ज रोड रेस २०८३ का बारेमा जानकारी गराउँदै निरन्तर ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले विकास, अनुशासन र गतिशीलताको नारालाई ब्यवहारमा नै प्रयोग गरिरहेको बताए । ‘नैतिक, ब्यवहारिक तथा ब्यवसायिक शिक्षाका लागि ज्ञानकुञ्ज भन्ने मुल लक्ष्य छ’–बैद्यले भने–‘किण्डरगार्टेनदेखि स्नातकोत्तर तहसम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयले एसईई परीक्षा २०८३ मा सहभागी विद्यार्थीहरुलाई लक्षित गरी स्वस्थ प्रतिस्पर्धा, अनुशासन र सकारात्मक जीवनशैली प्रवद्र्धन गर्ने उदेश्यले दौड प्रतियोगिता आयोजना गरेको हो ।’
    दौडमा प्रथम हुने छात्र र छात्रा दुबैले नगद ३० हजार सहित अन्य पुरस्कार प्राप्त गर्नेछन भने दोश्रो हुनेहरुले नगद २० हजार र तेश्रो हुनेहरुले नगद १० हजार सहित अन्य पुरस्कारहरु प्राप्त गर्नेछन् । विद्यार्थीहरुले उक्त प्रतियोगितामा सहभागि हुन १ सय रुपैया सहित २०८२ सालको एसईई परीक्षा प्रवेशपत्रको सक्कल वा प्रमाणित प्रतिलिपी र हालसालै खिचिएको फोटो उपलब्ध गराउनु पर्नेछ । बैशाख २४ गतेसम्म नाम दर्ता गर्नेहरुका लागि २५ गते विद्यालयमा दौड र सकारात्मम सोचको प्रशिक्षण उपलब्ध गराईनेछ । यो खुल्ला प्रतियोगिता भएकाले हरेक जिल्लाका विद्यार्थीहरुले भाग लिन पाउनेछन् । सफल जीवनका लागि स्वास्थ्य, स्वास्थ्यका लागि खेलकुद भन्ने अभियानलाई विद्यालयले भरपुर प्रयोगमा ल्याएको प्रतिष्ठानद्वारा संचालित ज्ञानकुञ्ज कलेजका सहायक क्याम्पस प्रमुख नवराज चौलागाईले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले विद्यालयले गरिरहेको अभियानले विद्यार्थीहरुमा सकारात्मक सन्देश प्रदान गर्ने बताए ।