बनेपा/नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको ४६ औं सभा बागमती प्रदेश सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी बादेले रेडक्रसलाई राजनीतिबाट मुक्त राख्नुपर्ने बताए । बादेले रेडक्रसलाई बागमती प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा नेपाल रेडक्रसका सभापति एवं कार्यक्रमका अध्यक्ष देवेन्द्रप्रसाद भैलले ब्लड बैंकको लागि २ करोड अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएकोमा हालसम्म ४२ लाख ६० रकम संकलन भएको जानकारी दिए ।
भैलले धुलिखेल, मेथिनकोट अस्पताल, बेथानचोक, धुलिखेल, बनेपा, पाँचखाल र मण्डनदेउपुर पालिकाबाट आफ्ना नागरिकहरुलाई निःशुल्क रगत उपलब्ध गराउन सम्झौता भएको बताए । त्यसैगरी बिन्धवासिनी साकोस, सामुदायिक साकोस र ज्योति मिर्मिरे साकोससँग शेयर सदस्यहरुलाई निःशुल्क रगत उपलब्ध गराउन सम्झौता गरिएको भैलले बताए । कार्यक्रममा धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगम, नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका महासचिव रामजी पौडेल, भक्तपुर शाखाका जिल्ला सभापति परशुराम पाण्डे, पूर्व सभापति श्यामसुन्दर श्रेष्ठ, बनेपा वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी लगायतले रेडक्रसले पु¥याएको योगदानका बारेमा बताएका थिए । कार्यक्रममा उपसभापति ज्ञानबहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए भने उपमन्त्री प्रदीप केसीले धन्यवाद राखेका थिए । सभामा मन्त्री राजु सिग्देलले सभा सञ्चालन गरेका थिए भने कोषाध्यक्ष प्रेमकुमार तामाङले बार्षिक विवरण प्रस्तुत गरेका थिए ।









