विकास तिमल्सिना
बनेपा
लगातार बढेको मुल्यबृिद्ध समायोजन नहुँदासम्म निर्माण क्षेत्रमा ‘कन्ट्रक्सन होलिडे’ गर्न ब्यवसायीले सरकारलाई दबाब दिएका छन् । साना साना योजनासँगै ठुला परियोजना पनि मुल्यबृद्धिको शिकार बनेका छन् । निर्माण कार्य प्रभावित हुँदा चर्काे घाममा धुलो र सिमसिम पानीमा हिलोले जनजीवन अस्तब्यस्त बनिरहेको छ ।
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक खण्ड विस्तार आयोजनाको निर्माण कार्य डेढ महिनादेखि सुस्त बनेको छ । लगातार बढ्दो मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव तथा बजारमा देखिएको असहज अवस्थाका कारण निर्माण कम्पनीहरूले कामको गति कम गरेका हुन् । १५.८ किलोमिटर सडक विस्तारको महत्वाकांक्षी योजना अहिले प्रभावित बनेको छ । निर्माण कम्पनीका प्रतिनिधिहरूका अनुसार सडक विस्तारको काम निर्धारित लक्ष्यअनुसार अघि बढिरहेको अवस्थामा पछिल्लो डेढ महिनायता परिस्थिति जटिल बनेको हो । साँगा–धुलिखेल सडक खण्डअन्तर्गत करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्म ९० प्रतिशत काम सक्ने लक्ष्यसहित तीव्र गतिमा निर्माण भइरहेको थियो ।
लामा कन्स्ट्रक्सनका म्यानेजर रविन्द्र श्रेष्ठले पछिल्लो समय निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेको र आवश्यक सामग्री सहज रूपमा उपलब्ध नभएकाले कामको गति सुस्त भएको बताए । उनका अनुसार काम पूर्ण रूपमा बन्द भने नभएको तर पहिलेको जस्तो तीव्रता कायम राख्न कठिन भएको छ । श्रेष्ठले सरकारले तत्काल निर्माण क्षेत्रको समस्या समाधानका लागि ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्नुपर्ने र मूल्यवृद्धि समायोजनको निर्णय गर्नुपर्ने माग गरे । निर्माण व्यवसायीहरूले भारतबाट बिटुमिन तथा अन्य अत्यावश्यक सामग्री ल्याउने प्रयास गरे पनि सफल हुन नसकेको उनले बताए ।
उता सूर्यविनायक–साँगा खण्डमा भने कामको प्रगति अझै कमजोर देखिएको छ । उक्त खण्डमा हालसम्म ४८ प्रतिशत मात्रै काम सम्पन्न भएको जनाइएको छ । विशेषगरी साँगामा निर्माणाधीन अन्डरपासका कारण स्थानीयस्तरमा चर्को असन्तोष देखिएको छ । स्थानीयवासीहरूले अन्डरपास निर्माणले पुरातात्विक महत्वका पर्व, जात्रा, पोखरी तथा सांस्कृतिक संरचनाहरू प्रभावित भएको गुनासो गरेका छन् ।
स्थानीय कृष्णबहादुर श्रेष्ठका अनुसार सडक विस्तारको धुलोका कारण घरभित्र बस्नै नसक्ने अवस्था छ भने निर्माण कार्य समयमै सम्पन्न नहुँदा परम्परागत चाडपर्व मनाउन समेत कठिनाइ भइरहेको छ । स्थानीय सरकारका प्रतिनिधिहरूले पटक–पटक समस्या समाधानका लागि आग्रह गरे पनि ठोस सुधार नदेखिएको जनप्रतिनिधिहरूको भनाइ छ । वडा सदस्य राजु श्रेष्ठले सम्बन्धित निकायलाई धेरैपटक ध्यानाकर्षण गराइएको तर व्यवहारिक परिणाम ननिस्किएको बताए ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले वर्षायाम सुरु भइसकेकाले अब निर्माणस्थलमा थप जोखिम बढ्न सक्ने भन्दै पूर्वतयारीमा जोड दिएका छन् । उनले यात्रुहरूलाई सहज आवागमन सुनिश्चित गर्न, सडक अवरोध कम गर्न र सम्भावित क्षति न्यून गर्न निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई सचेत रहन आग्रह गरे । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले वर्षा नपर्दा धुलो र पानी परेपछि हिलो तथा चिप्लोपनले यात्रु तथा स्थानीयलाई ठूलो समस्या पारेकाले तत्काल व्यवस्थापन गर्न निर्देशन दिएका छन् । सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महत्तोले हालको परिस्थितिमा निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न कठिन अवस्था सिर्जना भएको स्वीकार गरे। निर्माण क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकारी निकायमार्फत पहल भइरहेको र भारतबाट आउने बिटुमिनको आपूर्ति सहज बनाउन प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकोटाले स्थानीय सरकारको तर्फबाट निर्माण व्यवसायी, आयोजना प्रमुख तथा सरोकारवाला निकायलाई निरन्तर खबरदारी गरिरहेको बताइन् । धुलोका कारण स्थानीयले भोग्नुपरेको समस्या, अलपत्र पुल निर्माण तथा सडक विस्तारको सुस्तता हटाउन तत्काल प्रभावकारी कदम चाल्न उनले आग्रह गरिन् । अरनिको राजमार्ग देशकै महत्वपूर्ण व्यापारिक तथा आवागमन मार्गमध्ये एक भएकाले यसको निर्माण सुस्त हुँदा हजारौं यात्रु, स्थानीय व्यवसायी तथा सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन्। समयमै समस्या समाधान नभए वर्षायाममा सडक झन् जोखिमपूर्ण बन्ने स्थानीयको चिन्ता छ । धुलो, निर्माण कार्यको अस्तब्यस्तताले नागरिकहरुको जनजीवन प्रभावित बनेको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा सडक आयोजना निर्माणको अनुगमन गरिएको थियो ।
के हो ‘कन्स्ट्रक्सन होलिडे’ ?
‘कन्स्ट्रक्सन होलिडे’ भन्नाले असामान्य परिस्थितिका कारण निश्चित अवधिसम्म निर्माण कार्य रोक्ने वा ठेक्का अवधि स्थगित गर्ने व्यवस्था हो । प्राकृतिक विपत्ति, महामारी, युद्ध, इन्धन संकट वा बजारमा अत्यधिक मूल्यवृद्धि जस्ता अवस्थामा यस्तो माग उठ्ने गर्दछ । व्यवसायीहरूका अनुसार अहिले निर्माण सामग्रीको मूल्य जुन गतिमा बढेको छ, त्यसले नियमित रूपमा काम गर्न कठिन बनाएको छ । त्यसैले सरकारले निश्चित समयसम्म काम रोक्न दिने, हर्जाना नलगाउने र लागत समायोजनको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।
निर्माण क्षेत्र अहिले एकैपटक धेरै समस्याबाट प्रभावित भएको छ । सिमेन्ट र फलामजन्य सामग्रीको मूल्य वृद्धि, डिजेल तथा इन्धन महँगो हुँदा ढुवानी खर्च बढ्नु, मजदुर अभाव र ज्याला वृद्धि, बैंक ब्याजदर तथा वित्तीय दबाब, सरकारी भुक्तानीमा ढिलाइ, पुराना दररेटमा ठेक्का सम्झौता लगायत छन् । व्यवसायीहरू भन्छन्, तीन वर्षअघि लिएको ठेक्कामा आजको मूल्यमा काम गर्न सम्भव छैन । निर्माण व्यवसायीहरूले सामूहिक रूपमा ‘कन्स्ट्रक्सन होलिडे’ लागू गरे सडक, पुल, भवन, खानेपानी, सिंचाइ, विद्यालय, अस्पताल लगायतका विकास आयोजना प्रत्यक्ष प्रभावित हुनेछन् । धेरै आयोजना अधुरै रहने, समयसीमा धकेलिने र राज्यको पूँजीगत खर्च झन् कमजोर हुने जोखिम छ ।
विशेषज्ञहरूका अनुसार निर्माण क्षेत्र अर्थतन्त्रको ठूलो आधार भएकाले यो क्षेत्र सुस्ताउँदा रोजगारी, बैंकिङ, उद्योग, व्यापार सबै क्षेत्रमा असर पर्छ । मूल्यवृद्धिअनुसार लागत समायोजन, ठेक्का अवधि थप जरिवाना र कालोसूची प्रक्रिया रोक्का, रोकिएका भुक्तानी तत्काल निकासा, सार्वजनिक खरिद नियमावलीमा व्यावहारिक संशोधन लगायतका मागहरु राखेका छन् । निर्माण क्षेत्र लामो समयदेखि आर्थिक मन्दी, भुक्तानी संकट र नीतिगत अन्योलमा छ । त्यसमा मूल्यवृद्धिको चोट थपिएको छ । व्यवसायीहरूले उठाएको ‘कन्स्ट्रक्सन होलिडे’ चेतावनी मात्र हो वा वास्तविक आन्दोलनको सुरुवात, त्यो अब सरकारको प्रतिक्रियाले तय गर्नेछ । यदि समयमै समाधान खोजिएन भने देशभरका विकास आयोजनामा डोजर रोकिने, कामदार फर्किने र योजनाहरू कागजमै सीमित हुने खतरा बढेको छ ।









