बनेपा/शैक्षिक परामर्श नियमावली–२०८३ का केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै काभ्रेका शैक्षिक परामर्श व्यवसायीहरूले शुक्रबार बनेपाको चारदोबाटोमा प्लेकार्डसहित प्रदर्शन गरेका छन् । देशभरका ब्यवसायीहरुले विभिन्न स्थानमा प्रदर्शन गरेका हुन् ।
शैक्षिक परामर्श व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरू चरणबद्ध आन्दोलनअन्तर्गत सडकमा उत्रिएका हुन् । प्रदर्शनमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र फेकनका जिल्ला अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । आन्दोलनका क्रममा व्यवसायीहरूले कालो पट्टी बाँधेर कार्यालय सञ्चालन गर्दै सरकारप्रति विरोध जनाएका छन् । उनीहरूले सरकारले आफ्ना माग बेवास्ता गरे आगामी चरणमा कार्यालयको ताला–चाबी सम्बन्धित निकायलाई बुझाएर थप कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
प्रदर्शनकारीहरूले शैक्षिक परामर्श नियमावली–२०८३ मा समावेश केही बुँदाले व्यवसाय सञ्चालनमा अनावश्यक जटिलता सिर्जना गर्ने, विद्यार्थी तथा सेवा प्रदायक दुवैलाई असर पर्ने र व्यावहारिक अवस्था नसमेटिएको भन्दै संशोधन गर्न सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदै आएको बताएका छन्। तर आफ्ना मागप्रति सरकारले गम्भीरता नदेखाएको उनीहरूको आरोप छ । इक्यान काभ्रेका अध्यक्ष भुवन रायमाझीले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यमा आफूहरू सहमत भए पनि नियमावलीका केही प्रावधान अव्यावहारिक रहेको बताए । ‘हामी नियमको विरोधी होइनौं । तर व्यवहारमा कार्यान्वयन गर्न नसकिने र व्यवसाय नै धरापमा पार्ने केही बुँदाहरू तत्काल संशोधन हुनुपर्छ । हाम्रो माग सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त बनाउँदै ताला–चाबी सरकारलाई बुझाउने अवस्थासम्म पुग्न सक्छ’–रायमाझीले भने ।
त्यसैगरी फेकन काभ्रेका अध्यक्ष पदम लामाले सरकारले सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल नगरी नियमावली ल्याएको दाबी गरे । ‘हामीले पटक–पटक संवाद र संशोधनको आग्रह गरेका छौं । सरकारले समयमै सुनुवाइ गरे समस्या समाधान हुन सक्छ । अन्यथा चरणबद्ध आन्दोलनलाई थप सशक्त बनाउँदै जानेछौं’–लामाले बताए । व्यवसायीहरूले शैक्षिक परामर्श नियमावली–२०८३ का विवादित बुँदाहरू संशोधन गरी सरोकारवालासँग पर्याप्त छलफलपछि मात्र कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।









