भारतवर्षको परम्परागत समय–गणना प्रणालीमा सौर्यमान र चन्द्रमान दुवैको महत्व रहँदै आएको छ । सौर्यमान अनुसार सूर्यको राशी परिवर्तनसँगै नयाँ महिना वा संक्रान्ति सुरु हुन्छ, जसको औसत अवधि लगभग ३० दिनको हुन्छ । तर चन्द्रमान अनुसार चन्द्रमाको कलाअनुसार महिनाको गणना गरिन्छ, जसमा शुक्ल पक्ष र कृष्ण पक्ष गरी दुई पक्ष मिलेर एक महिना बन्छ । प्रत्येक पक्षमा प्रायः १५ तिथि हुन्छन् । शुक्ल पक्षको अन्त्यमा पूर्णिमा र कृष्ण पक्षको अन्त्यमा औँसी आउँछ । त्यसैले प्रत्येक चन्द्रमानीय महिनामा एक पूर्णिमा र एक औँसी पर्दछ । यसरी वर्षमा आउने १२ पूर्णिमामध्ये कोजाग्रत पूर्णिमापछि आउने पूर्णिमा नै कार्तिक पूर्णिमा हो, जुन प्रायः कार्तिक महिनामा पर्दछ । वर्षमा आउने प्रत्येक औँसी र पूर्णिमाको आ–आफ्नै धार्मिक, लोक–सांस्कृतिक र पौराणिक महत्व रहेको छ । नेपाली लोकजीवनमा पर्व, मेला, जात्रा र उत्सवहरू केवल धार्मिक अनुष्ठान मात्र नभएर समाजको सांस्कृतिक पहिचान, सामाजिक सहकार्य, प्रकृतिप्रतिको दायित्व, स्थानीय अर्थतन्त्र र आध्यात्मिक चेतनाको जीवन्त अभिव्यक्ति हुन् । त्यसै क्रममा कार्तिक पूर्णिमा नेपाली लोकसंस्कृतिको एउटा महत्वपूर्ण पर्व हो, जसले चन्द्रमा, जल, दीप, स्नान, दान र आत्मशुद्धि लगायत लोकजीवनका विविध पक्षको सन्देश दिन्छ ।
नामकरण र खगोलीय आधार
कार्तिक पूर्णिमा भन्नाले कार्तिक महिनामा पर्ने पूर्णिमा बुझिन्छ । कार्तिक र पूर्णिमालाई अलग–अलग रूपले हेर्दा कार्तिक महिनाको नाम कृत्तिका नक्षत्रबाट आएको हो । कृत्तिका नक्षत्र ज्योतिषशास्त्रको नक्षत्रमण्डलमा तेस्रो स्थानमा पर्छ भने पश्चिमी खगोलशास्त्रमा यसलाई प्लिएडिज (एभिष्बमभक) वा ‘सात बहिनी’ भनिन्छ । त्यसैगरी पूर्णिमा शब्दको शाब्दिक अर्थ ‘पूर्ण चन्द्रमाको दिन’ हो । चन्द्रमा पूर्ण रूपमा उज्यालो देखिने तिथिलाई पूर्णिमा भनिन्छ । शब्द–बनोटका आधारमा कार्तिक महिनाको पूर्णिमा प्रायः कृत्तिका नक्षत्रको नजिक पर्ने हुँदा यस महिनालाई कार्तिक भनिएको हो । त्यसैले कार्तिक पूर्णिमालाई कृत्तिका नक्षत्रसँग सम्बन्धित पूर्णिमा पनि भन्न सकिन्छ ।
पौराणिक आधार र लोकजीवनको सन्देश
कार्तिक पूर्णिमासँग धेरै धार्मिक मान्यता र पौराणिक कथा जोडिएका छन् । यी मान्यताहरूलाई ऐतिहासिक तथ्यका रूपमा होइन, धार्मिक विश्वास र लोककथाका रूपमा बुझ्नुपर्छ । वास्तवमा, शास्त्र केवल पण्डित वा विद्वानहरूको अध्ययनको विषय मात्र होइन, यो सामान्य जनजीवनको प्रतिनिधि पनि हो । सामान्य जनजीवन अर्थात् लोकजीवन कुनै लामो र जटिल सैद्धान्तिक व्याख्याको सार होइनस यो आम मानिसको दैनिक भोगाइ, प्रकृतिप्रतिको कृतज्ञता र पुस्तौँदेखि चल्दै आएको व्यावहारिक अनुभवको जीवन्त सङ्गालो हो । त्यसैले कार्तिक पूर्णिमालाई केवल धार्मिक अनुष्ठानका रूपमा होइन, नेपाली लोकसंस्कृतिको जीवन्त अभिव्यक्तिका रूपमा पनि बुझ्दा श्रेयस्कर हुन्छ ।
कार्तिक पूर्णिमालाई हिन्दू परम्परासँग जोडेर हेर्ने हो भने तीनवटा मुख्य शास्त्रीय मत वा मान्यता पाइन्छन् ः
पहिलो मतानुसार, शक्तिशाली राक्षस त्रिपुरासुरले देवताहरूलाई पराजित गरी स्वर्गको राज्य जितेर उनीहरूलाई भाग्न बाध्य बनाएका थिए । त्यसपछि देवताहरूले भगवान् शिवको स्तुति गरी प्रसन्न बनाए । भगवान् शिवले यसै दिन त्रिपुरासुरको वध गरेको हुँदा उनलाई ‘त्रिपुरारी’ र यस पूर्णिमालाई ‘त्रिपुरारी पूर्णिमा’ भन्ने चलन रहेको पाइन्छ । त्यसैले यस दिनलाई असत्य र अन्यायमाथि सत्यको विजयका रूपमा हेरिन्छ ।
दोस्रो मतानुसार, सृष्टिको रक्षाका लागि भगवान् विष्णुले प्रथम अवतारका रूपमा ‘मत्स्यावतार’ धारण गरेको दिन नै कार्तिक पूर्णिमा हो । पौराणिक कथन अनुसार महाप्रलयको समयमा सम्पूर्ण पृथ्वी जलमग्न हुँदा वेदहरू र सृष्टिका समस्त बीउहरू नष्ट हुने खतरा उत्पन्न भएको थियो । त्यसै बखत भगवान् विष्णुले विशाल माछाको रूप धारण गरी सत्यव्रत मनु र सप्तर्षिहरूको डुङ्गालाई सुरक्षित स्थानमा र्पुयाएर सृष्टि र ज्ञानको रक्षा गर्नुभएको थियो । लोकजीवनको दृष्टिकोणबाट हेर्दा, यस प्रसङ्गले जलचर प्राणीको संरक्षण, जलस्रोतप्रतिको सम्मान र प्रकृतिको सन्तुलन कायम राख्ने गहिरो सन्देश दिन्छ ।
तेस्रो मतानुसार, शिव–पार्वतीका ज्येष्ठ सुपुत्र तथा देवसेनापति कुमार कार्तिकेयको जन्म भएको दिन नै कार्तिक पूर्णिमा हो । पौराणिक कथन अनुसार तारकासुर नामक अत्याचारी राक्षसको अन्त्यका लागि शिवको तेजबाट उत्पन्न भएका बालकलाई छ जना कृत्तिकाहरूले स्तनपान गराई पालनपोषण गरेका थिए । कृत्तिकाहरूद्वारा हुर्काइएका कारण उनको नाम ‘कार्तिकेय’ रहन गयो । त्यसैगरी यस महिनाको पूर्णिमा प्रायः कृत्तिका नक्षत्रको नजिक पर्ने हुँदा महिनाको नाम ‘कार्तिक’ रहन गएको मानिन्छ । लोकजीवनको दृष्टिकोणबाट हेर्दा, यो प्रसङ्गले अन्यायविरुद्ध लड्ने सामूहिक साहस, मातृत्वको गरिमा र समाजको सामूहिक उत्तरदायित्वको सन्देश दिन्छ ।
त्रिपुरासुर वधको कथा असत्य, अत्याचार र अहङ्कारमाथि सत्य, न्याय र मानवीयताको विजयको प्रतीक हो । यसले समाजमा शक्तिको दुरुपयोग, स्वार्थ र अन्यायविरुद्ध सचेत हुनुपर्ने नैतिक दायित्वलाई उजागर गर्छ । मत्स्यावतारको कथा जल, जीवन र सृष्टिको संरक्षणको प्रतीक हो । यसले मानिसलाई जलस्रोत, वातावरण र प्रकृतिप्रति संवेदनशील बन्न सिकाउँछ । त्यसैगरी कार्तिकेय जन्मको कथा अन्यायविरुद्ध लड्ने साहस, मातृत्वको गरिमा र सामाजिक उत्तरदायित्वको प्रतीक हो । यसले बालसंरक्षण, सामाजिक सहयोग, आपसी भरोसा र मानवीय करुणाको मूल्यलाई उजागर गर्छ । यी तीन मतहरूले कार्तिक पूर्णिमालाई केवल धार्मिक तिथिका रूपमा मात्र नभएर मानवीय मूल्य, प्रकृतिसँगको सह–अस्तित्व, नैतिक चेतना, सामाजिक दायित्व र आध्यात्मिक जागरणको प्रतीकका रूपमा प्रस्तुत गर्छन् । कार्तिक पूर्णिमाले असत्यमाथि सत्य, अन्यायमाथि न्याय, अन्धकारमाथि उज्यालो र शोषणमाथि समानताको सन्देश दिन्छ । यसले प्रकृतिप्रतिको दायित्व, जलस्रोतको संरक्षण, मानवीय करुणा, सामाजिक सहयोग र सामूहिक उत्तरदायित्वलाई जोड्दछ । त्यसैले यसलाई सभ्य, मौलिक र पर्यावरणमैत्री रूपमा मनाउँदा नेपाली समाज अझ समृद्ध, समान र सहिष्णु बन्न सक्छ ।
नेपाली समुदायमा कार्तिक पूर्णिमाको विविधता
वैदिक परम्परा ः कार्तिक स्नान, तुलसी विवाह र न्वागी
हिन्दू समुदायमा विजयादशमीको कोजाग्रत पूर्णिमादेखि नियमपूर्वक सुरु गरिने ‘कार्तिक स्नान’ यसै कार्तिक पूर्णिमाका दिन पवित्र नदी, कुण्ड वा तीर्थस्थलमा स्नान तथा दानपुण्य गरी समापन गरिन्छ । आषाढ शुक्ल हरिशयनी एकादशीदेखि सुरु भएको चार महिने ‘चतुर्मास व्रत’ को धार्मिक विधि पनि यसै अवधिमा पूर्णतामा पुग्दछ । त्यस्तै, कार्तिक शुक्ल हरिबोधिनी एकादशीका दिन घरको आँगनमा रहेको तुलसीको मठमा भगवान् विष्णुको स्वरूप मानिने शालिग्राम र वनस्पति स्वरूप वृन्दा (तुलसी) को विवाह गराइन्छ । भोलिपल्ट अर्थात् द्वादशीका दिन तुलसीको मठ अगाडि वैदिक विधिपूर्वक हवन गर्ने चलन रहेको छ । यसरी तुलसीको मठ अगाडि गरिएको हवनलाई जनबोलीमा र पहाडतिर ‘बसुदेउ’ भन्ने चलन छ । तुलसीको मठ अगाडि गरिने हवनमा चरुका रूपमा नयाँ धानको चामल अर्पण गरिन्छ । त्यसपछि नयाँ धानको चामललाई दही लगायतका सामग्री (मसला÷फलफूल) हालेर मुछी पहिले तुलसी हवन गरेको मण्डपमा अर्पण गरेर खाने गरिन्छ । यसैलाई ‘न्वागी खाने’ भनिन्छ । बसुदेउ गरी न्वागी खाने मुख्य दिन सामान्यतः हरिबोधिनी एकादशीपछिको द्वादशी हो । त्यस दिन हुन नसके कार्तिक पूर्णिमासम्म गर्ने परम्परा पूर्वी पहाडी समुदायमा रहेको छ ।
नयाँ धानको सुगन्ध, दहीको शीतलता र तुलसीको पवित्रतामा मिसिएको यो परम्परा केवल अन्न खान सुरु गर्ने विधि मात्र होइन यो खेती, प्रकृति, देवता र पुर्खाप्रतिको कृतज्ञताको जीवन्त अभिव्यक्ति हो । तुलसीको मठ अगाडि आँगनमा गरिने हवनले किसानको श्रमको मात्र सम्मान गर्दैन, यसले अन्न उत्पादनमा भूमिका खेल्ने पञ्चमहाभूत आकाश, जल, अग्नी, पृथ्वी र वायुको भूमिकालाई पनि धन्यवाद स्वरूप सम्मान गर्दछ । नयाँ अन्न आफैँले उपभोग गर्नुअघि देवता, कुलदेवता वा पितृलाई अर्पण गर्ने परम्परा विभिन्न समुदायमा पाइन्छ । त्यसैले न्वागीलाई खेतबाट घरसम्म आएको श्रमको उपलब्धि, भकारीमा भित्रिएको आशा र पुर्खाको स्मृतिलाई एकै सूत्रमा बाँध्ने लोकसाँस्कृतिक अनुष्ठानका रूपमा बुझ्न सकिन्छ । नदीको स्नान, आँगनको तुलसी र भकारीको नयाँ धान यी तीनै प्रसङ्गले मानिस र प्रकृतिबीचको गहिरो सम्बन्धलाई जीवन्त बनाउँछन् । यस दृष्टिले पर्वको उज्यालो दियोमा मात्र होइन, श्रमको सम्मान, पुर्खाको सम्झना र जीवन धान्ने प्रकृतिप्रतिको कृतज्ञतामा पनि खोज्न सकिन्छ ।
नेवाः परम्परा ः आकाशदीपदान (आलःमता)
कार्तिक पूर्णिमालाई हरेक समुदायले आ–आफ्नै ढङ्गले मनाउने प्रचलन रहेको छ । त्यसमा पनि आफ्नै मौलिक संस्कृतिका धनी नेवार समुदायका लागि यस पर्वले झन् विशेष महत्त्व राख्दछ । नेवारी लोकसंस्कृतिमा कार्तिक महिनाभरी विशेषगरी काठमाडौँ उपत्यका तथा वरपरका नेवाः बस्तीहरूमा ‘आकाशदीपदान’ अर्थात् स्थानीय नेपालभाषामा ‘आलःमता’ बाल्ने अत्यन्तै मौलिक र पवित्र परम्परा रहिआएको छ । आश्विन शुक्ल कोजाग्रत पूर्णिमादेखि सुरु गरी कार्तिक शुक्ल पूर्णिमा (सकिमना पुन्हि) सम्म एक महिनाभर घरको छत, कौसी वा टोलको मठ–मन्दिरअगाडि अग्लो बाँसको लिङ्गो गाडेर त्यसको टुप्पोमा पालाको बत्ती झुण्ड्याई आकाशतर्फ फर्काएर बाल्ने गरिन्छ । लोकविश्वास अनुसार शरद् ऋतुको रात्रिकालीन आकाशमा बालिने यो दीपले दिवङ्गत पितृहरूको स्वर्गमार्ग उज्यालो पार्नुका साथै घरपरिवारमा सुख, शान्ति र समृद्धि भित्र्याउँछ भन्ने मान्यता छ । कार्तिक पूर्णिमाका दिन विशेष पूजाआजा र दीपदानसहित एकमहिने आकाशदीपको विधिवत् समापन गरिन्छ, जसले नेवाः समाजमा पितृप्रतिको श्रद्धा, प्रकृति–पूजा र सामुदायिक एकताको जीवन्त झल्को दिन्छ ।
तामाङ परम्परा ः बोन्बो तथा बौद्ध लोक–आस्था
अर्का मौलिक संस्कृतिका धनी तामाङ समुदायको लोकजीवन र आध्यात्मिक परम्परामा कार्तिक पूर्णिमालाई विशेषगरी ‘बोन्बो’ (झाँक्री) परम्परा, प्रकृति–पूजा र बौद्ध आस्थाको सङ्गमका रूपमा हेरिन्छ । तामाङ लोकसंस्कृतिमा कार्तिक शुक्ल पूर्णिमाको रातलाई बोन्बोहरूले आफ्ना कुलदेवता (फोला), वनझाँक्री र प्राकृतिक शक्तिहरू जगाउने तथा तान्त्रिक सिद्धि प्राप्त गर्ने अत्यन्तै शक्तिशाली तिथिका रूपमा लिने गर्दछन् । यस अवसरमा तामाङ बोन्बोहरू आ–आफ्ना चेलाचपेटा र समुदायका सदस्यहरूसहित काभ्रेपलाञ्चोकको नमोबुद्ध, तेमाल, सिन्धुपाल्चोकको हेलम्बु, दोलखाको कालिञ्चोक तथा स्थानीय डाँडाकाँडा र पवित्र तीर्थस्थलहरूमा भेला भई रातभर ढ्याङ्ग्रो बजाएर जाग्राम बस्ने, कुलपितृ तथा भूमिदेवताको पूजा (स्येर्गेम) गर्ने र नयाँ साधकलाई गुरुदीक्षा दिने परम्परा रहेको छ । यसै दिनदेखि नयाँ शिष्य झाँक्री बन्ने मान्यता पनि छ । यसका साथै, बौद्ध धर्मावलम्बी तामाङहरूले यस पवित्र पूर्णिमाका दिन गुम्बा, छ्योर्तेन (स्तूप) र मानेहरूमा छ्योमी (बत्ती) बाल्ने, लुङ्दार (ध्वजा) टाँग्ने र अहिंसा तथा विश्वशान्तिको कामना गर्दै सामूहिक पूजापाठ गर्ने गर्दछन्, जसले तामाङ समाजको प्राचीन शामानिक अभ्यास र बौद्ध दर्शनबीचको अद्भुत सांस्कृतिक समन्वयलाई दर्शाउँछ ।
माझी परम्परा स् नदी, पितृ र जल–संस्कृति
नदी किनारलाई आफ्नो मुख्य थातथलो र जीवनयापनको आधार मान्ने आदिवासी माझी समुदायको लोकजीवनमा कार्तिक पूर्णिमाले अत्यन्तै गहिरो आध्यात्मिक र सांस्कृतिक महत्त्व राख्दछ । सुनकोशी, तामाकोशी, इन्द्रावती, सप्तकोशी, नारायणी लगायत सिन्धुलीको मरिण र कोखाजोर खोलाका तटीय बस्तीहरूमा बसोबास गर्ने माझीहरूले यस दिनलाई ‘जलदेवी’ (खोलाको देउता) र कुलपितृहरूको विशेष आराधना गर्ने पर्वका रूपमा मनाउँछन् । परम्परागत रूपमा नदीमा डुङ्गा खियाउने, जाल हान्ने र माछा मार्ने पेसासँग जोडिएका माझीहरूले वर्षभरि जलमा कुनै बाधा–अड्चन नआओस् तथा जलप्रकोपबाट रक्षा होस् भन्ने कामनासहित नदी किनारमा भेला भई जलदेवी तथा कुलपितृको पूजा गर्ने परम्परा रहिआएको छ । यस अवसरमा समुदायका मूली (मझुवा) वा धामीको अगुवाइमा खोलाको किनारमा जम्मा भई कुखुराको बलि, जाँड–रक्सी (सगुन), अक्षता, धूप–दीप र नयाँ अन्न (न्वागी) अर्पण गरिन्छ । मरिण खोला लगायतका नदी तटका तीर्थस्थलहरूमा लाग्ने कार्तिके मेलासँगै यस दिन दिवङ्गत पितृहरूको मोक्षको कामना गर्दै नदीमा दीपदान गर्ने तथा आफन्तजन भेला भई मौलिक गीत–सङ्गीत र नाचगानका साथ खुसी साटासाट गर्ने परम्पराले माझी समुदायको प्रकृतिसँगको अटुट सहअस्तित्व, जलस्रोतप्रतिको कृतज्ञता र जातीय ऐक्यबद्धतालाई जीवन्त राख्दै आएको छ ।
किरात राई परम्परा ः प्रकृति–पूजा र न्वागी
प्रकृति र पितृ (सुप्तुलुङ) लाई आफ्नो जीवनदर्शनको मूल आधार मान्ने किराँत राई समुदायको लोकजीवनमा कार्तिक पूर्णिमाको विशेष साँस्कृतिक र कृषिपरक महत्व रहिआएको छ । शरद् ऋतुको उत्तराद्र्धसँगै लेकका चराचुरुङ्गी र जीवजन्तु बेँसीतर्फ झर्ने प्राकृतिक चक्र (उधौली याम) को सुरुवात तथा खेतबारीमा लगाइएको नयाँ अन्नबाली पाक्ने समय भएकाले राई समुदायमा यस अवधिलाई ‘न्वागी’ (नयाँ अन्न चढाउने) पर्वका रूपमा मनाउने मौलिक परम्परा छ । विशेषगरी पूर्वी पहाडका खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, संखुवासभा लगायतका क्षेत्रमा बसोबास गर्ने राई समुदायमा कार्तिक पूर्णिमाको छेको पारेर कुलपुजारी (नाक्छोङरनोक्छो) को अगुवाइमा घरको चुला (सुप्तुलुङ) र भूमिदेवता (साकेला थान) मा नयाँ धानको चामल, कोदो, अदुवा र जाँड–रक्सी (वाचिपारतोङ्बा) अर्पण गरी पितृ तथा प्रकृतिप्रति कृतज्ञता ज्ञापन गरिन्छ । पाकेको नयाँ अन्न पितृ र प्रकृतिलाई नचढाईकन आफूले ग्रहण गर्नु हुँदैन भन्ने गहिरो लोकविश्वासमा आधारित यो परम्पराले किरात राई समाजको पर्यावरणप्रतिको संवेदनशीलता, श्रमको सम्मान र सामूहिक सहअस्तित्वको दर्शनलाई जीवन्त राख्दछ ।
बहुसाँस्कृतिक नेपाली समाजमा खस–आर्य, नेवार, तामाङ, माझी, राई लगायतका विभिन्न समुदायले आ–आफ्ना परम्परा, आस्था र सांस्कृतिक मूल्यअनुसार चाडपर्व मनाउँछन् । चन्द्रमान अनुसार चाडपर्व वा साँस्कृतिक पर्व मनाउनु भनेको कुनै एक जाति वा समुदायको एकल अधिकार होइनस यो नेपाली समाजको साझा सांस्कृतिक धरोहर हो । जुनसुकै समुदाय वा जनजातिले आफ्ना परम्परागत पर्व मनाउँदा त्यसलाई साँघुरो जातीय सीमाबद्ध गर्न खोज्नु प्रत्येक संस्कृतिप्रतिको अपमान हुन आउँछ । वास्तवमा हरेक समुदाय प्रकृतिप्रति नतमस्तक छ र आ–आफ्नै तरिकाले प्रकृतिको सम्मान गर्दछ । कार्तिक पूर्णिमा विभिन्न समुदायले पुस्तौँदेखि मनाउँदै आएको परम्परागत पर्व हो । यो पर्व खस–आर्य, नेवार, तामाङ, माझी, राई लगायतका समुदायको आफ्नै आस्था, अनुष्ठान, पूजापाठ, गीत, नाच र सामाजिक जीवनसँग जोडिएको छ । त्यसैले कार्तिक पूर्णिमालाई केवल कुनै एक जाति वा सम्प्रदायको धार्मिक पर्वका रूपमा मात्र हेर्नु हुँदैन यो सबै नेपालीको साझा साँस्कृतिक परम्परा हो ।
पर्यावरणीय चेतना र कार्तिक पूर्णिमा
शरद् ऋतुको खुल्ला आकाश, टलक्क टल्किने हिमाल र पातले झपक्क हरिया देखिने पहाडी वनस्पतिको संसर्गसँगै चिसो मौसमको आगमन हुँदा वातावरणमा नै एक किसिमको नवीनता र फरकपनको आभास हुन्छ । ऋतुचक्रको यस सन्धिकालमा आउने कार्तिक पूर्णिमालाई केवल धार्मिक र आनुष्ठानिक दृष्टिकोणबाट मात्र नहेरी मानव र प्रकृतिबीचको सम्बन्धलाई नवीकरण गर्ने पारिस्थितिक पर्वका रूपमा बुझ्नु आवश्यक छ । यतिबेला खेतमा लहलह झुलेका धान भित्र्याउने, बारीपाटामा पाकेका कोदो टिप्ने अनि सुनजस्तै पहेँलपुर बारीमा फुलेको तोरी र चाँदीजस्तै पाखाबारीमा फुलेको सेतो फापरको फूलले माहुरीको मात्र नभएर मानवको समेत मन जितेको हुन्छ । धान भित्रएर गहुँ र आलु लगाउने चटारो तथा उच्च पहाडी क्षेत्रमा खेतबारीको जोतखनले कृषिप्रधान देशको पर्यावरणीय महत्व र प्राकृतिक सौन्दर्यलाई अझ जीवन्त बनाउँछ ।
यसका साथै, आफूलाई प्रकृतिपूजक मान्ने विभिन्न जातिहरूले पर्यावरण जोगाउन भूमि, जल र वनस्पतिको पूजा गर्दछन् । कार्तिक स्नानले जलसम्पदाको संरक्षण र तुलसी पूजनले प्राणदायिनी अक्सिजन दिने औषधीय जडीबुटीको जगेर्ना गर्न मानिसलाई प्रत्यक्ष रूपमै प्रकृतिसँग जोड्दछ । त्यस्तै, जलचर संरक्षणको प्रतीक मत्स्य अवतारको पूजन, पञ्चतत्वका अधिपति त्रिपुरारी शिवको आराधना, कार्तिकेयको स्मरण, आकाशदीपदान, भूमिपूजन तथा कुलपितृलाई नयाँ अन्न अर्पण गर्ने परम्पराले आफूले उपभोग गर्नुभन्दा पहिला चराचुरुङ्गी र प्रकृतिलाई भाग छुट्ट्याउने उदार संस्कारको विकास गरेको छ ।
यस अभ्यासले प्रकृतिमा मानवको मात्र नभई सबै जीवजन्तुको समान अस्तित्व रहेको पारिस्थितिक सत्यलाई आत्मसात् गर्दछ भने आफूभन्दा अघिल्लो पुस्ताले प्रकृति र समाजका निम्ति पु¥याएको योगदानको समेत कदर गर्दछ । तसर्थ, कार्तिक पूर्णिमा केवल धार्मिक आस्था मात्र नभएर पर्यावरण संरक्षण, पूर्वजप्रतिको सम्मान र समस्त जीवजगत्सँगको सहअस्तित्वप्रतिको गहिरो प्रतिबद्धता पनि हो ।
लोक–अर्थशास्त्र र ग्रामीण जीवन
आजको वैश्वीकरणको युगमा मानव समाजका कुनै पनि पक्षलाई अर्थशास्त्रको कसीबिना पूर्ण रूपमा बुझ्न सकिँदैनस त्यसैले सांस्कृतिक पर्वहरूलाई पनि आर्थिक दृष्टिकोणबाट विवेचना गर्नु युक्तिसङ्गत हुन आउँछ । नेपालको प्रमुख खाद्यान्न बाली धान भित्र्याउने समय भएकाले नेपाली जनबोली र लोक–अर्थशास्त्रमा केही समुदाय तथा स्थानमा गाई र धानलाई साक्षात् ‘लक्ष्मी’ (सम्पत्ति र समृद्धिको प्रतीक) का रूपमा पूज्ने प्रचलन रहिआएको छ । खेतबारीमा लहलह झुलेका धान, कोदोजस्ता मुख्य बालीहरू पाकेर भण्डारण गर्ने यो अवधि कृषिप्रधान देश नेपालको ग्रामीण अर्थतन्त्रका लागि मेरुदण्ड सरह हो । आधुनिक अर्थशास्त्रले श्रमलाई उत्पादनको अनिवार्य साधनका रूपमा उच्च महत्व दिएजस्तै कार्तिक पूर्णिमा र न्वागी परम्पराले किसानको वर्षभरिको पसिना र श्रमको उचित सम्मान गर्दछ ।
यसका अतिरिक्त, कार्तिक पूर्णिमाका अवसरमा काभ्रेको नमोबुद्ध, दोलखाको कालिञ्चोक, वराहक्षेत्र, देवघाट, रिडी लगायत देशका विभिन्न तीर्थस्थलहरूमा हुने मेला, तीर्थयात्रा तथा धार्मिक गतिविधिहरूले स्थानीय कला, संस्कृति र जनजीवनलाई देश–विदेशमा चिनाउँदै ग्रामीण आर्थिक क्रियाकलापको विस्तार गर्दछन् । मेलामा हुने पूजासामग्री, स्थानीय कृषि उपज, हस्तकला तथा साना–मझौला उद्यमीहरूको व्यापार–व्यवसाय र आन्तरिक पर्यटन प्रवद्र्धनले स्थानीय स्तरमै पुँजी परिचालन गरी आत्मनिर्भर लोक–अर्थतन्त्रलाई जीवन्त बनाइराख्न महत्त्वपूर्ण भूमिका खेल्दछ ।
निष्कर्ष
अतः समग्रमा कार्तिक पूर्णिमा केवल धार्मिक आस्था र आनुष्ठानिक परम्पराको पर्व मात्र होइन यो ऋतुचक्र, कृषि जीवन, पर्यावरण संरक्षण, लोक–अर्थशास्त्र र सामुदायिक एकतालाई एकै सूत्रमा बाँध्ने महत्वपूर्ण साँस्कृतिक अवसर हो । यस अवधिमा धान, कोदो लगायतका बाली भित्र्याइने, नयाँ अन्नको उपभोग सुरु हुने र शीतल मौसमको आगमन हुने हुँदा यसले किसानको श्रम, प्रकृतिको उपहार र पुर्खाको स्मृतिलाई समेत सम्मान गर्दछ । विभिन्न समुदायले आ–आफ्ना परम्पराअनुसार कार्तिक स्नान, तुलसी विवाह, न्वागी, आकाश दीपदान, बौद्ध दीप–आराधना, जल–पूजा र प्रकृति–पितृ आराधना गर्ने गर्छन् । यी अनुष्ठानका बाह्य रूप भिन्न भए पनि तिनको मूल भावना जल, अन्न, वन, भूमि, पितृ र समाजप्रतिको कृतज्ञतामा एकै छ । यसले मानिसलाई प्रकृतिको उपभोक्ता मात्र नभई संरक्षकका रूपमा समेत सचेत बनाउँछ ।
त्यसैगरी कार्तिक पूर्णिमाका अवसरमा हुने मेला, तीर्थयात्रा, पूजाआजा र स्थानीय व्यापारले ग्रामीण अर्थतन्त्रलाई पनि प्रोत्साहन दिन्छन् । नयाँ अन्नको अर्पण, पूजासामग्रीको खरिद, हस्तकला र स्थानीय उपजको बिक्रीले किसान, साना व्यवसायी र स्थानीय समुदायलाई आर्थिक रूपमा सहयोग र्पुयाउँछन् । त्यसैले यो पर्वलाई लोक–अर्थशास्त्रीय दृष्टिकोणबाट पनि महत्वपूर्ण मान्न सकिन्छ ।
यसरी कार्तिक पूर्णिमाले धार्मिक आस्था, पर्यावरणीय चेतना, कृषि उत्पादन, लोक–अर्थतन्त्र र सामुदायिक सह–अस्तित्वलाई एकै साझा सूत्रमा बाँध्छ । यसको उज्यालो दियोमा केवल अन्धकार हटाउने आशा मात्र होइन, श्रमको सम्मान, पुर्खाको सम्झना, प्रकृतिप्रतिको कृतज्ञता र मानव–प्रकृति बीचको सन्तुलित सम्बन्धको सन्देश पनि झल्किन्छ । तसर्थ, कार्तिक पूर्णिमाको मौलिकता, धार्मिक आस्था र सांस्कृतिक महत्व जोगाउँदै पर्वमा हुने विकृति तथा असन्तुलित व्यापारीकरणलाई रोक्नु हामी सबै सचेत नागरिकको कर्तव्य हुन आउँछ ।









