2026 February 25/ 04:14: 40am

विकास/लक्ष्मण तिमल्सिना
बनेपा

    फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिदै जाँदा मतदाताको घर दैलोमा उम्मेदवारहरु पुग्ने क्रम बाक्लिँदै गएको छ । भुगोल, जनसांख्यिक अवस्था र छोटो अवधीका कारण उम्मेदवारहरु सबै मतदाताको घर दैलोमा पुग्न सम्भव छैन तर पनि बाक्लो बस्ति र खचाखच भएका टोल, वडाहरुको मुख्य केन्द्रमा मतदाता भेट्ने क्रम चलिरहेको छ । 
    प्रचार प्रसारको समय फागुन १८ गते मध्यरातसम्म छ । फागुन ४ गते देखि उम्मेदवारहरु दलबल सहित प्रचार प्रसारमा ब्यस्त छन् । मतदाताहरुले हरेक वर्ष उम्मेदवारहरुसँग गर्ने अपेक्षा र अहिले भिन्न छैनन् । एकाध बाहेक उस्तै उस्तै माग र समस्या मतदाताहरुले उम्मेदवारहरुलाई सुनाई रहेका छन् । कतैकतै त्यसको जिम्मेवारी लिएर आफ्नो पक्षमा मत पार्ने गरी प्रयत्न पनि भएको छ । नागरिकहरुका आधारभूत आवश्यकता भएको सडकलाई मर्मत सम्भार तथा पक्की, खानेपानी, स्वास्थ्य, सिंचाई लगायतका विषय मुख्य छन् । विशेषगरी काभ्रेपलाञ्चोक जिल्लामा २०८० असोज १०–१२ गतेको विपत्तिले धेरै क्षेत्रमा खानेपानीको संकट देखिएको छ । खानेपानीको संकट टार्न भएका अस्थायी प्रयास र संरचना दीर्घकालिन रुपमा सम्पन्न गर्न मतदाताहरुले उम्मेदवारहरुसँग माग गरिरहेका छन् । 
    मतदाताहरुले मुख्य गरी रोजगार, समृद्धिका आवाज पनि उम्मेदवार समक्ष ब्यक्त गरेका छन् । मुलुकको नीति स्थिर नहुँदा भोगिरहेका समस्या, कृषि क्षेत्रको पीडा, वन र वातावरणका समस्या, पर्यापर्यटनमा देखा परेका चुनौती, स्वास्थ्य बीमामा आएका उल्झन र अवरोध लगायतका विषयमा समेत ध्यानाकर्षण गराएका छन् । तीन तहका सरकार हुँदा पनि पहुँच नपुगेका स्थानमा अझै नागरिकहरुले जनप्रतिनिधिको अनुभूति गर्न नपाएको, जनप्रतिनिधिहरुले राजनीतिक पक्षधरताका आधारमा विकास निर्माणलाई प्राथमिकता दिएको, मतदाताहरु गाउँमा बस्ने वातावरण निर्माण गर्न अवसर सिर्जनाका लागि भूमिका नखेलेको जस्ता गुनासा मतदाताहरुले उम्मेदवार समक्ष राखेका छन् । 
    निर्वाचनका समयमा उम्मेदवारहरुले खोक्रा र भद्दा खालका आश्वासन दिने र निर्वाचनमा विजय वा पराजय जे हुँदा पनि मतदातालाई धन्यवाद दिन समेत नपुगेको गुनासो गरेका छन् । १३ वटा पालिकामा पुगेका उम्मेदवारहरुलाई आफ्नो टोल, वडा र पालिकामा भएका समस्याहरु सुनाएका छन् । केहि उम्मेदवारहरुले मतदातालाई रिझाउन वा झुक्याउन गलत विवरणहरु सुनाउँदै हिडेका छन् ।