धुलिखेल/फागुन २१ गतेको निर्वाचनका लागि जिल्लाका १३ वटा पालिका र दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि आवश्यक तयारी शुरु भएको छ । निर्वाचन नजिकिदै जाँदा राजनीतिक दल, दलका कार्यकर्ता तथा सर्वसाधारणमा भने निर्वाचन प्रतिको उत्साह न्यून छ ।
जिल्ला निर्वाचन कार्यालय काभ्रेले निर्वाचनमा खटिने कर्मचारीहरुको नामावली संकलन गरिरहेको छ । अस्थायी मतदाताको नामावलीलाई टुङ्गयाएको छ । अन्य आवश्यक तयारी गरिरहेको भए पनि मतदान स्थल र केन्द्रको अवस्था, आवश्यक सामाग्री, निर्वाचनका लागि गर्ने आवश्यक तयारी गरिरहेको बताएको छ । जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा १ लाख ६१ हजार १ सय मतदाताका लागि ९५ वटा मतदान स्थल कायम भएका छन् । जसमा १ सय ९८ वटा मतदान केन्द्र कायम भएका छन् । एउटा मतदान स्थलमा ३ वटा मदतान केन्द्र समेत कायम भएका छन् ।
त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा ९४ वटा मतदान स्थलमा २ सय २ वटा मतदान केन्द्र कायम भएका छन् । जसमा १ लाख ६५ हजार ५ सय ११ मतदाता कायम छन् । यसका अलावा अस्थायी निर्वाचन केन्द्र मार्फत समानुपातिक निर्वाचन प्रणालीका लागि मतदान हुनेछ ।
निर्वाचन अधिकृत नियुक्त
देशभर तोकिए मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएका छन् । फागुन २१ गते हुने भनिएको निर्वाचनका लागि नागरिकहरुमा उत्साह कम देखिए पनि दलहरुको उम्मेदवार छनौट र सरकारी तयारीका कारण निर्वाचन हुन लागेको हो कि भन्ने संकेतहरु देखिएका छन् । देशभरका १ सय ६५ वटा निर्वाचन क्षेत्र अन्र्तगत काभ्रेपलाञ्चोक जिल्लामा २ वटा निर्वाचन क्षेत्र छन् । जसका लागि काभ्रेमा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपाने (प्रतिनिधि सभा २) र जिल्ला न्यायाधिबक्ता टिकाभुषण घिमिरे (जिल्ला सरकारी वकिल कार्यालय, प्रतिनिधि सभा १) मा तोकिएका छन् । निर्वाचन अधिकृतहरुको नियुक्ति पछि पहिले मुख्य निर्वाचन कार्यालय र त्यसपछि निर्वाचन कार्यालय स्थापना गरिनेछ । मुख्य निर्वाचन अधिकृत नियुक्ति भएका प्रेमप्रसाद न्यौपाने जिल्ला अदालतका न्यायाधीश हुन् । जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले निर्वाचनका समयमा आफु घरायसी काममा ब्यस्त हुनु पर्ने बताए पछि अर्का न्यायाधीश न्यौपानेलाई मुख्य निर्वाचन अधिकृत नियुक्ति गरिएको हो ।









