2026 May 25/ 03:57: 21pm

    त्यो रात विवाहको भोजबाट फर्किएपछि म धेरैबेरसम्म ऐनाअगाडि उभिइरहेँ । कपालको सेतोपन, आँखामुनिको कालोपन, निधारका चाउरी, सबै हेर्दै थिएँ । अचानक मनमा एउटा अनौठो प्रश्न आयो, के उसले पनि मलाई यसरी नै हेरिरहेकी होली ? तीस वर्षअघि जसरी उसले मलाई हेर्थी, त्यसरी त अब कसैले हेर्दैन । उमेर बढेपछि मानिसलाई चाहिने कुरा पनि फेरिँदो रहेछ । पहिले कसैले माया गर्छु भनिदिए पुग्थ्यो । अहिले कसैले थाक्यौ होला भनेर सोधिदिए पनि मन भिज्छ ।
    तर त्यो रात मेरो मन किन यति अस्थीर थियो ? किनभने तीस वर्षपछि मैले फेरि मायालुलाई देखेको थिएँ । र केही प्रेमहरू यस्ता हुँदारहेछन्, ती मरेका हुँदैनन्, केवल समयको बाक्लो धुलोले छोपिएका हुन्छन् । एकदिन अचानक कसैले नाम बोलाइदियो भने फेरि धड्किन थाल्छन् । तीस वर्षअघि हाम्रो गाउँ अझै पनि कच्ची बाटोमै थियो । साँझपख गाईबस्तु फर्कँदा उठ्ने धुलोले पूरै गाउँ सुनौलो देखिन्थ्यो । घरहरू माटाका थिए । झ्यालबाट दियोको मधुरो उज्यालो बाहिर निस्किन्थ्यो । त्यो समय प्रेम गर्न सजिलो थिएन । गाउँमा केटा र केटी दुईपटक सँगै देखिए भने तेस्रो दिनदेखि कुरा काट्न सुरु हुन्थ्यो । प्रेमपत्र भेटियो भने परिवारको इज्जत गएको मानिन्थ्यो । केटीहरूलाई झन् धेरै डर थियो । समाजले उनीहरूलाई प्रेम गर्ने अधिकार कम दिएको थियो ।
    त्यसैले हाम्रो प्रेम सधैँ डरभित्र बाँचेको थियो । मायालुलाई पहिलोपटक मैले धारोमा देखेको थिएँ । उसको हातमा पित्तलको गाग्री थियो । ऊ पानी भर्दै थिई । बिहानको घाम उसको गालामा परिरहेको थियो । मैले त्यसअघि धेरै राम्री केटी देखेको थिएँ होला, तर त्यस्तो शान्त अनुहार भने कहिल्यै देखेको थिइनँ । म उसलाई हेरेर उभिइरहेँ । ऊ पानी बोकेर हिँड्न लाग्दा चिप्लिई । मैले तुरुन्त गाग्री समातेँ । सम्हाल, मैले भनेँ । उसले मलाई हेरी । धन्यवाद । त्यो शब्द सामान्य थियो । तर त्यसपछि किन हो, म दिनभरी मुस्कुराइरहेँ । त्यसपछि म जानाजानी त्यही समयमा धारो जान थालेँ । कहिलेकाहीँ ऊ आउँथी । कहिलेकाहीँ आउँदिनथी । ऊ नआएको दिन मलाई पूरै गाउँ खालीजस्तो लाग्थ्यो । एकदिन मेलामा ऊ एक्लै उभिएकी थिई । म नजिक गएँ । पिङ खेल्छौ ? मैले सोधेँ । 
    ऊ डराई । मान्छेले देख्छन् । देखून् न । ऊ हल्का हाँसी । तिमीलाई डर लाग्दैन ? तिमीसँग हुँदा लाग्दैन । त्यो सुनेर उसको अनुहार रातो भयो । त्यो बेला हात छोइदिँदा पनि मुटु यति जोडले ढुकढुक हुन्थ्यो कि वरिपरीका मानिसले सुन्छन् कि जस्तो लाग्थ्यो । हामी कहिलेकाहीँ जंगलमा भेट्थ्यौँ । ऊ घाँस काट्न आउँथी । म बहाना बनाएर त्यतै पुग्थेँ । तिमी यता किन आएको ? ऊ सोध्थी । यसै । झूट । साँचै । ऊ हाँस्दथी । म त्यो हाँसो सुन्नकै लागि कहिलेकाहीँ घण्टौँ हिँडेर पुग्थेँ । त्यो समय प्रेम धेरै सानो कुरामा हुर्किन्थ्यो । उसले दिएको एउटा अम्बा । मेरो लागि राखिदिएको गुन्द्रुक । जंगलबाट फर्कँदा भारी समाइदिएको क्षण । आँखा जुध्दा अचानक झुकाइदिएको नजर । आजका प्रेमजस्तो थिएन त्यो । त्यो प्रेम शरीरभन्दा पहिले आत्मामा पुग्थ्यो । एक साँझ हामी खेतको आलीमा बसेका थियौँ । तल खोला बगिरहेको थियो । माथि आकाश रातो हुँदै थियो । तिमी शहर जाँदैछौ रे ? उसले सोधी । हो । पढ्न । 
    ऊ चुप भई । फर्किन्छौ ? किन नफर्किनु ? ऊ केहीबेर घाँस उखेलेर खेलिरही । अनि बिस्तारै भनी, शहर जाने मान्छे फर्किए पनि उस्तै भएर फर्किँदैनन् रे । त्यो बेला मैले हाँसेर उडाइदिएको थिएँ ।
तर आज लाग्छ ऊ सही थिई । काठमाडौँ पुगेपछि म बदलिन थालेँ । शहरले मानिसलाई ठूलो बनाउँछ, तर भित्र कतै खाली पनि बनाउँछ । पढाइ, जागिरको तनाव, कोठाभाडा, भीड, संघर्ष । सुरु सुरुमा मैले मायालुलाई धेरै चिठी लेखेँ । तिमी बिना यहाँ केही राम्रो लाग्दैन । म फर्किएपछि हामी सँगै बस्नेछौँ । मलाई पर्खिरहनू । उसले पनि जवाफ पठाउँथी । धेरै रात नसुत्नु । समयमै खाना खानू । तिमी बिरामी भयौ भने मलाई नराम्रो लाग्छ । आज सम्झँदा लाग्छ, त्यो प्रेममा कति सच्चाइ थियो । तर समयसँगै मेरा चिठी कम भए । म व्यस्त हुँदै गएँ । ऊ पर्खँदै गई । एकदिन उसको चिठी आयो, तिमी धेरै टाढा गयौ कि जस्तो लाग्छ । मैले जवाफ लेख्न खोजेँ । धेरैपटक । तर केही शब्दहरू लेख्नुभन्दा चुप बस्न सजिलो हुँदोरहेछ । त्यसपछि हाम्रो प्रेम बिस्तारै मौनतामा हरायो ।
    केही महिनापछि गाउँबाट खबर आयो । उसको विवाह हुँदैछ । त्यो रात म धेरैबेर कोठामा एक्लै बसिरहेँ । झ्यालबाहिर पानी परिरहेको थियो । म रोइनँ । तर भित्र कतै केही नराम्ररी चर्किएको थियो । अर्को वर्ष मेरो पनि विवाह भयो । जीवन अघि बढ्यो । छोराछोरी जन्मिए । जिम्मेवारी थपिए । बुबाआमा बिरामी भए । पैसा कमाउन दौडिनुप¥यो । बीचबीचमा उसको सम्झना आउँथ्यो । विशेषगरी वर्षा हुँदा । किनकी सायद हाम्रो प्रेम नै साउनबाट सुरु भएको थियो । त्यसपछि तीस वर्ष बिते । तीस वर्षपछि म एउटा विवाहमा गाउँ पुगेँ । मानिसहरूको भीड थियो । बाजा बजिरहेको थियो । म खाना लिएर उभिएको थिएँ । त्यही बेला अचानक कसैले मेरो नाम बिस्तारै बोलायो । सुन..। म फर्किएँ । र समय रोकियो । त्यो मायालु थिई । आँखाको छेउमा साना चाउरी थिए । तर उसको आँखामा उही पुरानो नरमपन थियो । हामी दुवै केहीबेर एकअर्कालाई हेरेर मात्र उभियौँ ।
    चिन्यौ ? उसले मुस्कुराउँदै सोधी । मलाई हाँस्न पनि गाह्रो भयो । तिमीलाई कसरी बिर्सिन्थेँ र...। ऊ चुप भई । त्यो चुपाइभित्र तीस वर्ष रोइरहेको थियो । त्यो रात हामी धेरैबेर कुरा गर्यौँ । छोराछोरीको कुरा । संघर्षको कुरा । जीवनले कहाँ कहाँ चोट दियो भन्ने कुरा । तर ती सबै कुराको तल एउटा अर्को भावना थियो, हामी अझै पनि एकअर्कालाई सम्झिरहेका थियौँ । एकछिनपछि ऊ बिस्तारै भनी, तिमीलाई देखेपछि मन किन यस्तो भएको होला ? मैले मजाक गरेँ, बुढेसकालको असर होला । ऊ हाँसी । त्यो हाँसो सुन्दा मेरो मन अचानक तीस वर्ष पछाडि फर्कियो । भोलिपल्ट उसको फोन आयो । तिमी सँग कुरा गर्दा अचम्मको शान्ति मिल्यो, उसले भनी । त्यसपछि हाम्रो कुरा सुरु भयो । तर यो प्रेम पहिलेको जस्तो थिएन । पहिले भेट्न मन तड्पिन्थ्यो । अहिले आवाज सुन्न पुग्थ्यो । पहिले स्पर्शको इच्छा हुन्थ्यो । अहिले सम्झनाले नै मन भरिन्थ्यो । पहिले हामी भविष्य खोज्थ्यौँ । अहिले हराएको समय । एकदिन हामी बजारको सानो चिया पसलमा भेटियौँ ।
    पसलमा अरू मानिस पनि थिए । तर मलाई किन हो, संसारमा हामी दुईजनामात्र छौँ जस्तो लागिरहेको थियो ।  चिया चलाउँदै भनी, थाहा छ ? तिमीलाई धेरै वर्षसम्म बिर्सिन सकिनँ । मेरो घाँटी अड्कियो । किन ? मैले सोधेँ । ऊ मुस्कुराई । किनभने तिमीसँग बिताएको समय सानो थियो... तर साँचो थियो । म चुप भएँ । ऊ फेरि भनी, जीवनमा धेरै मानिस भेटिए । साथ पनि दिए । तर मनको सबैभन्दा नरम ठाउँमा भने तिमी नै बसिरह्यौ । त्यो सुन्दा मेरो आँखाभित्र पानी भरियो । उमेर बढेपछि मान्छे धेरै रोइरहँदैन । तर केही शब्दले भित्र पुरै हल्लाइदिन्छ । बाहिर हल्का पानी पर्न थालेको थियो । मैले उसलाई हेरेँ । यदि हामी छुट्टिएका नभएको भए के हुन्थ्यो होला ? ऊ केहीबेर चुप भई । अनि हल्का हाँसी । सायद यति धेरै माया हुने थिएन । किन ? किनकी केही प्रेमहरू सँगै भएर होइन... अधुरा भएर गहिरा बन्छन् । त्यो वाक्य सुन्दा मेरो छातीभित्र कतै पुरानो प्रेम फेरि बिस्तारै बाँच्न थाल्यो । मलाई पनि । ऊ केहीबेर चुप भई ।
    म त सोच्थेँ तिमी धेरै बदलिसक्यौ होला । बदलिएको त छु । तर सबै कुरा बदलिँदैन रहेछ । उसले मेरो आँखातिर हेरी । त्यो हेराइमा तीस वर्षको मौनता थियो । त्यो रात म सुत्न सकिनँ । भोलिपल्ट उसको फोन आयो । हिजो अधुरा कुरा भए । त्यसपछि हाम्रो कुरा फेरि सुरु भयो । हामी दुवैलाई थाहा थियो जीवन फर्केर उहीँ जाँदैन । तर एउटा कुरा पनि सत्य थियो, केही प्रेमहरू मर्दैनन् । ती समयभित्र गहिरो गरी गाडिन्छन् मात्र । उमेरको यो चरणमा आएर फेरि कसैलाई सम्झेर मन धड्किन्छ भन्ने मैले सोचेको पनि थिइनँ ।
    घर पुगेपछि श्रीमतीले फोन गरिन् । भोज सकियो ?” सकियो मैले सामान्य स्वरमा भनेँ । थाक्यौ होला, सुतिहाल । म हुन्छ मात्र भन्न सकेँ । फोन राखेपछि धेरैबेर म अँध्यारो कोठामा बसिरहेँ । मनभित्र अपराधबोध पनि थियो । आखिर हामी दुवैको आफ्नै परिवार थियो । आफ्नै जिम्मेवारी थियो । तर त्यही मनको अर्को कुनामा एउटा पुरानो प्रेम फेरि बिस्तारै सास फेरिरहेको थियो । त्यो रात मायालुको नम्बर धेरैपटक स्क्रिनमा हेरेँ । फोन गरूँ कि नगरूँ ? अन्ततः उसैले म्यासेज पठाई, घर पुग्यौ ? यति सानो वाक्यले पनि किन हो, मेरो छाती तातियो । पुगेँ । तिमी ? म पनि । त्यसपछि केहीबेर दुवै चुप ।
    अनि फेरि उसको म्यासेज आयो । आज तिमीलाई देखेर निद्रा नलाग्ने भयो । म धेरैबेर त्यो म्यासेज हेरेर बसिरहेँ । तीस वर्षअघि उसले यस्तै कुरा चिठीमा लेखेकी थिई, तिमीलाई सम्झँदा रात काट्न गाह्रो हुन्छ । समय फेरिएको थियो । माध्यम फेरिएको थियो । तर भावना उस्तै रहेछ । त्यसपछि हाम्रो कुरा बिस्तारै नियमित हुन थाल्यो । बिहान उठ्यौ ? दिउँसो खाना खायौ ? राति निद्रा लागेन अझै ? यी सामान्य शब्दहरू थिए । तर उमेर ढल्किँदै जाँदा प्रेम यिनै साना कुराहरूमा बस्न थाल्दोरहेछ । एकदिन उसले अचानक फोनमा सोधी, तिमी कहिल्यै मलाई सम्झिन्थ्यौ ? म हाँसेँ । साँचो भनूँ ? झूट नबोल । धेरै सम्झिन्थेँ । फोनको उताबाट केहीबेर आवाज आएन । म पनि उसले बिस्तारै भनी । त्यो म पनि सुन्दा किन हो, मेरो मनको धेरै पुरानो घाउ अचानक न्यानो भयो ।
    एकदिन ऊ निकै उदास सुनिई । के भयो ? मैले सोधेँ । ऊ लामो समय चुप भई । छोरा विदेश जान लागेको छ । त्यो त राम्रो कुरा हो नि । हो... तर घर झन् खाली हुने भयो । त्यो वाक्यले मलाई छोयो । किनभने म पनि त्यही खालीपनबाट गुज्रिरहेको थिएँ । छोराछोरी हुर्किएपछि आमाबुबा बिस्तारै एक्लिँदै जाँदारहेछन् । जीवनको धेरै समय अरूका लागि बिताइन्छ । अनि एकदिन अचानक आफ्नै मनसँग एक्लै बस्नुपर्छ । सायद त्यही एक्लोपनले हामीलाई फेरि नजिक ल्याएको थियो । एक साँझ उसले मलाई एउटा पुरानो रुमाल दिई । चिन्यौ यो ? मैले अचम्म मान्दै हेरेँ । त्यो मैले तीस वर्षअघि मेलाबाट किनिदिएको रुमाल थियो । तिमीले... अझै राखेकी ? ऊ मुस्कुराई । सबै फ्याँक्न सकिनँ । मेरो घाँटी फेरि भारी भयो । कहिलेकाहीँ प्रेममा शब्दभन्दा मौनता बढी बोल्छ । तर जति प्रेम बढ्दै गयो, त्यति डर पनि बढ्न थाल्यो । हामी दुवैलाई थाहा थियो, यो बाटो सजिलो छैन ।
    एकदिन उसले अचानक सोधी । हामी गलत त गरिरहेका छैनौँ ? म लामो समय चुप रहेँ । किनकी त्यो प्रश्न मैले पनि आफूलाई धेरैपटक सोधिसकेको थिएँ । थाहा छैन, मैले अन्ततः भनेँ, तर यति थाहा छ... तिमीसँग कुरा गर्दा मन शान्त हुन्छ । ऊ चुप भई । मलाई अचानक लाग्छ । तीस वर्षअघि अधुरो छुटेको प्रेम शायद अन्त्य हुन होइन, यही उमेरमा फेरि न्यानो भएर फर्किनका लागि बाँचेको रहेछ । 

नरेन्द्र नगरकोटी
नगरकोट, काभ्रे