2026 July 24/ 10:21: 57am

    नयाँ संविधान जारी भए पछि स्थानीय सरकारका रुपमा दोश्रो पटक जनप्रतिनिधिहरु निर्वाचित भएका छन् । पहिलो पाँच वर्षको अनुभव धेरै थिए । जनप्रतिनिधिहरु निष्ठापूर्वक केहि गरौं भन्ने सोचमा थिए । सिक्दै अनि नागरिकहरुलाई सेवा दिन प्रयत्नरत देखिन्थे । पछिल्लो पटकको निर्वाचनमा जसरी पनि जित्ने नाममा दलहरुले गठबन्धन गरे । गठबन्धनका नाममा क्षमता विहिन ब्यक्तिहरु पनि निर्वाचित भए । त्यहि कारण नागरिकहरुले प्राप्त गर्ने सेवामा भन्दा आफ्नै स्वार्थमा रमाउन थाले । नेतृत्वमा रहेकाहरु आफ्नै पीडा होला । समस्या होला । तर पनि नागरिकहरुले खोजे जस्तो समस्या समाधानमा दोश्रो पटक निर्वाचित जनप्रतिनिधिहरु त्यति संवेदनशील देखिएनन् ।
    विशेषगरी नागरिकहरुका थुप्रै समस्याहरु हुन्छन् । प्रहरी र अदालत जाने सम्भावना पनि हुँदैन । भए पनि कठिन छ । घरदैलोको सरकारले दिने सेवा मध्येको महत्वपूर्ण सेवा न्यायिक समिति मार्फत न्याय पाएको अनुभूति गराउनु हो । अहिले त न्यायिक समितिमा उजुरी पनि दर्ता गर्न नदिने, दर्ता भएका उजुरीमा आफु खुशी गर्ने, बरु बाहिर बाहिर नै छलफल गराएर राजनीतिक लाभ लिने यस्ता विकृति न्यायिक समितिका नाममा हुने गरेको छ । कतिसम्म पनि न्यायिक समितिका पदाधिकारीहरु नै झै झगडामा संलग्न हुने, ब्यक्तिहरुलाई मिल्न दबाब दिने र नमिले प्रहरी र अदालतमा पनि दुःख दिन्छु भन्दै तर्साउने समेत गर्न थालेका छन् । यसले समग्र न्यायिक समितिका पदाधिकारीहरुप्रति गलत दृष्टिकोण बन्न थालेको छ । अघिल्लो पाँच वर्षको अनुभवले यो चरणमा केहि गर्नु पर्ने जनप्रतिनिधिहरु आफैमा उत्साह छैन । पटक–पटक दलहरुको गठबन्धन बदलिँदा झनै निराशा छ । 
    चुनावमा एउटा दलसँग, चुनाव सकिए लगत्तै विजय जुलुस पनि मनाउन नपाउँदै अर्काे दलसँग, केहि दिनमा फेरी पुरानै दलसँग, फेरी अर्काेसँग यस्ता नौटंकी देखेर दलका कार्यकर्ता र जनताहरु पनि निराश बनेका छन् । काम भन्दा धेरै यस्ता अनेकखाले गतिविधिहरुले उत्साह पनि छैन । एकले अर्काेलाई छेक्ने, रोक्ने र अघि बढ्न नदिने षड्यन्त्र बनाउँदैमा वित्ने भए पाँच वर्ष । अघिल्लो कार्यकालमा धेरै राम्रा कामहरु भए । त्यसको उदाहरण म आफै हो । त्यसको प्रत्यक्ष अनुभुति मैले मात्रै गरेको छु । बेरोजगार प्रमुख समस्या छ । बेरोजगारका समस्याहरुले मुलुक संक्रमित छ । दैनिक विदेश जाने क्रम रोकिएको छैन । यो रोक्न पनि कठिन छ । विदेशबाट स्वदेश फर्केका युवाहरुलाई नेपालमै रम्न दिन वातावरण छैन । काम गर्छु भन्दा पनि सहज हुन नसक्नुका कारण एउटा मात्रै छैन । तर पनि मान्छेहरुले प्रयास गरिरहेका छन् । घर परिवारले सुन्नुपर्ने उल्टै दुःख दिन्छ । मैले त दुःख पाएँ पाएँ सन्तानले पनि मेरो भन्दा धेरै दुःख पाउने भए । बाबुले निभाउनु पर्ने भूमिका र कर्तब्य पूरा गर्न नसक्दा बेसहारा बनेका लालाबालाहरुको जिम्मेवारी पूरा गर्नु अर्काे दायित्व छ । जति भने पनि नसकिने पीडाहरु लिएर बाँचेको पनि धेरै भईसक्यो । केहि मात्रा भए पनि स्थानीय तहको न्यायिक समितिले निभाएको भूमिकाले मनमा खुशी मिलेको छ । जनप्रतिनिधिले कुनै न कुनै रुपले नागरिकहरुको भावना बुझ्दा रहेछन् भन्ने महसुस पनि भयो । 
    नगरपालिकाको न्यायिक समितिमा २ सय ५० भन्दा धेरै विवाद दर्ता भएका रहेछन् । थुप्रै विवादहरु मध्ये गाली बेईज्जती सम्वन्धी विवादमा फरक खालको अनुभुति भएको समितिले पनि भनेको रहेछ । २०७५ साउन २० गते गाली बेइज्जती सम्बन्धी बिषय बनाई पति विरुद्ध जाहेरी दिएँ । मेरा पतिले ५ बर्ष अगाडि देखी मादक पदार्थ सेवन गरी कुटपिट गरी गाली बेईजती गरेकोले उहाँलाई कार्यालयमा झिकाई छलफल गराई न्याय दिलाई पाउँ भनि निवेदन दर्ता गराएको थिएँ । विवादका हामी दुवै पक्षलाई मेलमिलापको माध्यमबाट २०७५ साउन २४ गते छलफल गराईएको थियो । हामी दुई ४२ बर्षीय पति र ४१ बर्षीया म मिल्दा असाध्यै मिलेका थियौं । हामीबाट एक छोरा र एक छोरी गरी २ जना सन्तान जन्मेका थिए । पतिले घर निर्माण गर्ने काम गर्ने र मैले गृहिणी र खेती किसानी गर्ने काम गर्दै आएको थिएँ । ती मध्ये जेठो छोरा वैदेशिक रोजागारमा गएको ४ बर्ष भएको थियो । उमेरले पनि हामी धेरै बुढो त हैन तर पनि छोरा विदेश गएर कमाउने भईसकेको छ । छोरी कक्षा ८ मा पढ्दै छन् । विवाहको ५, ६ बर्षसम्म हाम्रो राम्रो सम्बन्ध थियो । सबै काम एक आपसमा सरसल्लाहबाट नै हुने गरेको थियो । करिब ४ बर्ष अगाडी देखी मेरा पति अस्वभाविक रुपमा मादक पदार्थ सेवन गरी घरमा ढिलो आउने, मलाई राम्रो नदेख्ने अरु स्त्रीको बयान गर्ने अनेक खालका लान्छना लगाउने र कुटपिट गर्न थालेका थिए । अझ छोरीलाई पनि म जस्तै गरी तथानाम गाली गर्ने र श्रीमतीसँग बोल्ने र भन्न सकिने छाडा शब्दहरु बोल्न थालेका थिए । घरायसी खर्चको लागी पैसा नदिने लगाउने लुगा कपडा सामान्य नुन, तेल पनि खरिद गरी नल्याउने र घरमा अभाव मात्र पार्ने काम गर्न थालेका थिए । पतिले यती धेरै मादक पदार्थ सेवन गरी घरमा ढिलो गरी आउने घरको वास्ता नगरेको ५ वर्ष जती भई सकेको थियो । मलाई उनिप्रति शंका लाग्न थाल्यो । घर बाहिर कुनै महिलासँग उनको सम्वन्ध छ कि ? 
     कुनै परस्त्रीसँग हिमचिम बढेको मलाई शंका लाग्न थाल्यो । यो क्रम तिव्र रुपमा बढ्दै गए पछि एक आपसमा बोलचाल नै बन्द भयो । मेरा हरेक ब्यवहार नराम्रा हुन थाले । म बोल्दा रिस उठ्ने तर अरु मान्छे बोल्दा उनी खुशी हुने भए । विवाह गरेको त्यति लामो उमेरसम्म म उनिहरुका लागि राम्रो भएँ । एक्कासी उनमा आएको परिवर्तनले ल्याएको शंकाले झनै तिक्तता बढायो । मसँग बोलचाल नभए पछि छोरीलाई समेत उसले त्यहि ढंगको ब्यवहार गर्न थाल्यो । विदेश गएको छोराले समेत धेरै पटक बाबुलाई सम्झाउन थाल्यो । तर पनि उनले त्यो कुरा मान्न तयार भएनन् । छोरीलाई समेत मादक पदार्थ सेवन गरी अनेक लान्छना लगाउने गर्न थाले । विचरा कक्षा ८ मा पढ्दै गरेकी छोरी को सँग के गर्न सक्छिन् ? आफु जस्तो अरुलाई त्यस्तै सोच्ने उनको सोच देखि दया जागेर आयो । उनी घर फर्कदा दैनिकजसो रक्सी सेवन गरी फर्कन थालेका थिए । छोरीलाई पढ्नका लागी किताब कापी र फि तिर्न पनि बन्द गरिदिए । आमा छोरीलाई नै अनावश्यक अपशब्द प्रयोग गरी धम्क्याउने, अरुसंग लान्छना लगाउने गरेको देखेर छिमेकीहरु गाउँ समाज बसी पति पत्नीलाई सम्झाउने काम भयो तर पनि समस्या जस्ताको त्यस्तै । वडाका जनप्रतिनिधिले निवेदन दर्ता गराउन कार्यालयमा पुग्दा समेत सम्झाउने धेरै प्रयास गरे । उनको एउटै कुरा थियो । छोरी र म उनका लागि ठिक भएनौं । विवादका पक्षहरुलाई वडामा रहेको मेलमिलाप केन्द्रमा रहेका मेलमिलापकर्ताबाट छलफल गराउन उपयुक्त वातावरण नभएका कारण वडा सदस्यहरुले न्यायिक समितिको कक्षमा नै छलफल गराउनु पर्ने सुझाव दिए । पछि विवादका दुवै पक्षलाई न्यायिक समितिमा बोलावट भयो । छलफलको लागी बोलाए पछि हामी उपस्थित भयौं । न्यायिक समितिका संयोजक लगायतका सदस्यहरु राखेर न्यायिक समितिबाट विवादको सत्र संचालन भएको थियो । छलफलमा बस्दा मेरा आँशु रोकिएका थिएनन् । पतिले मलाई र छोरीलाई दिएको दुःख कष्ट सहदै झेल्दै आएको र बाँकी जीवन विताउन नसक्ने निश्कर्ष मैले सुनाएँ । घरी घरी घाँटी अठ्याउन खोज्ने, घाँटी च्यापेर मार्दिन्छु पख्लीस भन्दै दावा राख्ने, छरछिमेकीसँग काम परेर बोल्दा पनि जुन ब्यक्तीसँग बोल्यो त्यही ब्यक्ति सँग लागिस् भन्दै नाङ्गै पार्दै कुटपिट, बेईजत गर्ने र कक्षा ८ मा पढ्ने छोरीलाई समेत अरु केटासँग सम्बन्ध राखेको आरोप लगाई अनावश्यक लज्जास्पद गाली बेईजती गर्ने छोरीलाई माया ममता दिनुको सट्टा उल्टो कुटपिट गर्ने, जस्ता अमानवीय कार्य पटक–पटक गर्ने गरेकोले असुरक्षित समेत भएको हँुदा आमा छोरी समेतको सुरक्षा माग गरें । पतिले मलाई धेरैजसो घरमा नबस्ने खाली छिमेकीहरुसँग नचहिने कुराहरु गरेर बस्ने, समयमा खाना नबनाउने, खान नदिने, मेरा कपडा सफा नगर्ने र त्यही कुरालाई लिएर थोरै गाली ग¥यो भने माईत गई बस्ने गरेकोले हप्काउने र तर्साउने गरेको बयान दिए । छोरी पनि स्कुलबाट आफ्नो साईकलमा सरासर पढेर घर नआई, ढिलो आउने, अरुको मोटरसाईकलमा हिडेको देखेर छोरी माथी शंका गरी गाली गरेको आरोप लगाए । कहिलेकाँहि कामको थकाई र घर परिवारको तनावले गर्दा रक्सि खाएर स्विकारे । उनले पनि परिवारसँगै बस्न नसक्ने बताए । पटक पटकको छलफल, एकान्त भेटघाटबाट पतिले मलाई खान लाउन सहयोग गर्ने, गाली बेईजती नगर्ने, छोरीलाई पनि अनावश्यक गाली वेईजती नगरी लाउने खाने र पढाई लेखाईको बारेमा हेर्ने, घर निर्माण ठेक्कापट्टा गर्ने भए पनि समयमा घर आउने घर परिवारको ख्याल गर्ने, आफ्नो कारण परिवारमा अशान्ति हुन नदिने, अनावश्यक गफ गरी नबस्ने र पतिलाई समयमा खाना दिने र सरफाईमा ध्यान दिने दुवै पक्ष एउटै घर परिवारका सदस्य भएकोले पहिलेको जस्तै राम्रो संग मिलेर बस्ने धेरै लामो छलफल पछि सहमति भयो । सहमतिलाई कार्यान्वयन गर्ने सवालमा पटक–पटक छलफल भयो । न्यायिक समितिमा बसेर भएको छलफललाई समितिको तर्फबाट पटक पटक अनुगमन भयो । विस्तारै उनको बानी सुध्रियो । हाम्रो बानी पनि बदलियो । उनमा आएको एकाएकको परिवर्तनले हाम्रो परिवारमा खुशी छायो । पहिला जस्तो नै भयो परिवार । उनले रक्सी खान छाडे । रक्सीले विगारेको सम्वन्ध र परिवारको खुशी पुनः जोडियो । हामी खुशी छौं । छोरा छोरी र हामी सबै एकआपसमा रमाईरहेका छौं । 


सनिता शर्मा
भक्तपुर, सुर्यविनायक