2026 April 30/ 05:20: 30am

    काभ्रेपलाञ्चोकको शैक्षिक तथ्यांकले अहिले गम्भीर सङ्केत गरिरहेको छ । हामी विद्यालयका भवन गन्दैछौँ, विद्यार्थीका संख्या गणना गर्दैछौँ, तर शिक्षक विहीन कक्षाकोठाहरू दिनदिनै बढ्दै छन् । यसलाई सामान्य प्रशासकीय उतार–चढाव ठानी उपेक्षा गरियो भने निकट भविष्यमा काभ्रेको सामुदायिक शिक्षा संरचना नै धरासायी हुने जोखिम छ । २०८१ साउनदेखि २०८२ कार्तिकसम्म काभ्रेमा ५६ शिक्षकले समय अगावै राजिनामा दिए । केवल प्राथमिक तहमै ५२ जना । कुनै एक विद्यालय वा एक तहमा मात्रै होइन, माध्यमिक, निम्न माध्यमिक र प्राथमिक सबै तहका शिक्षकहरू क्रमशः राजिनामा दिँदै विद्यालय छाडिरहेका छन् ।
    कानपुर माविका नेपाली विषयका शिक्षक तीर्थप्रसाद भट्टराई, सञ्जीवनी माविका लोकप्रसाद ढकाल, चक्रज्योति माविका अंग्रेजी शिक्षक कविप्रसाद दाहाल र माधवप्रसाद तिमल्सिना । यी नामहरू केवल चार उदाहरण मात्र हुन् । तथ्याङ्कले भन्छ यो त हिमाली पहाडबाट झरेको सानो ढुङ्गा मात्र हो, सिंगो पहिरो त तलै तिर खसिसकेको छ । यससँगै एक वर्षमै ६० जना शिक्षक अनिवार्य अवकाशमा गएका छन् । अर्को वर्ष कति बढ्ने हो निश्चित भन्न सक्दैन । काभ्रेलाई दुई आर्थिक वर्षमा १ सय ६५ शिक्षक आवश्यक परेको छ । तर नियुक्ति भएका केवल १८ जना मात्रै । तेस्रो श्रेणीका माध्यमिक तहका शिक्षक मात्र । निम्न माध्यमिक तहका २२ शिक्षक माग भए पनि अझै प्रक्रियामा छन् । प्राथमिक तहका ९९ दरबन्दी त शिक्षक सेवा आयोगले विज्ञापन नै गरेको छैन । शिक्षकको राजिनामा र अवकाशले दरबन्दी खाली हुँदै गइरहे पनि प्रतिक्रिया शिथिल छ । काभ्रेमा ६ सय ५५ शिक्षण संस्था छन् विद्यालय, क्याम्पस, प्राविधिक विद्यालय र सिकाई केन्द्र । सामुदायिक विद्यालय मात्र ५१८ छन् ।
    यो संरचनालाई धान्न काभ्रेका शिक्षक संख्या ३२ सय ४५ जना छन् । यसमा राहतदेखि अस्थायी र निजी विद्यालयका शिक्षकहरूको उल्लेखनीय हिस्सा छ । तर ९२ हजार ४ सय ७६ विद्यार्थीलाई शिक्षित गराउने यो संरचनामा शिक्षकको निरन्तर कमीले तानाबाना फाट्दै गएको छ । विद्यार्थी संख्या कुनै समस्या होइन । सामुदायिकमा ५२ हजार ४१९, संस्थागतमा ४० हजार ५७ गरी जम्मा ९२ हजार ४७६ विद्यार्थी—जसमा आधाभन्दा बढी आदिवासी–जनजाति । विद्यार्थी संख्या बढ्दै, विविधता बढ्दै गएको छ । तर शिक्षणका लागि अत्यावश्यक जनशक्ति घट्दै गइरहेको छ ।
    एकातिर शिक्षक राजिनामा, अर्कोतिर नयाँ शिक्षकको नियुक्ति सुस्त, अनि बढुवा पनि केवल ९ जना । कस्तो विडम्बना ! समस्या कहाँ छ ? शिक्षकको मनोबल कमजोर हुँदै छ । तलब संरचना आकर्षक छैन । जिम्मेवारी बढ्दो तर प्रोत्साहन घट्दो । राजनीतिक हस्तक्षेप, अस्थिरता र बढुवा प्रणालीको अन्योल । शिक्षक सेवा आयोगको ढिलासुस्ती छ । दरबन्दी रिक्त छ, तर विज्ञापनै छैन । प्रक्रिया लामो र झन्झटिलो छ । विद्यालयहरूको संख्या वृद्धि, स्रोत–मानवशक्ति विस्तार बिना ६ सयभन्दा धेरै संस्थातर व्यवस्थापन ठेगान छैन । स्थानान्तरण, राजिनामा र अवकाश व्यवस्थापनमा योजना अभाव, विद्यालय छाड्ने शिक्षक थाहा हुन्छ, तर योजना बनाउने निकाय मौन छ । समाधान असम्भव छैन, तर अहिलेको सुस्त गतिले सम्भावना हराउँदै छ ।
    शिक्षक नियुक्ति प्रक्रियालाई अत्यावश्यक सेवाजस्तै बनाउन, विज्ञापन, सिफारिस, नियुक्ति—सबै शतप्रतिशत समयसीमा सहित टुंगिने व्यवस्था गर्न, रिक्त दरबन्दी महिनौंदेखि नछुनु काभ्रेको शिक्षा होइन, प्रशासनिक कमजोरी हो । निम्न तलब, धेरै काम, ग्रामीण विद्यालयको चुनौती यी सबैलाई सम्बोधन गर्न विशेष भत्ता, तालिम र पदोन्नतिको स्पष्ट मार्ग आवश्यक छ । समुदायिक विद्यालयमा शिक्षण वातावरण सुधार आवश्यक छ । काभ्रेका धेरै विद्यालयमा मनोबल घटेको मुख्य कारण—शैक्षिक वातावरण कमजोर छ । विद्यालयलाई स्थानीय तहले जिम्मेवारीपूर्वक सम्बोधन गर्नुपर्छ । काभ्रेको शिक्षा क्षेत्र अहिले मोडबिन्दुमा छ । राजिनामा र अवकाशले शिक्षा प्रणालीको मेरुदण्ड नै कमजोर बनाउँदैछ । विद्यालय, भवन, पाठ्यक्रम, पुस्तक सबै आवश्यक छन्, तर शिक्षक बिना यी सबै निर्जीव ढाँचा मात्र हुन् । राज्य, स्थानीय तह र शिक्षाप्रेमी समुदायले यो संकटलाई प्राथमिकतामा राखेनन् भने काभ्रेले केही वर्षमै ‘विद्यालय धेरै, तर सिक्ने मान्छे छैन’ भन्ने स्थितिको सामना गर्नु पर्छ ।