2026 April 30/ 05:20: 31am

    लामो समय देखि चल्न नसकेको श्रीखण्डपुर स्थित सुरक्षण मुद्रण प्रेसका नाममा रहेका संरचनालाई प्रयोगमा ल्याउँदै अत्यावश्यक सेवा प्रदान गर्ने सवारी लाईसेन्स छाप्ने प्रकृयाले पूर्णता पाउन सक्दा लाखौँ सवारीचालकलाई राहत दिनेछ । केबल सवारी लाईसेन्स छाप्ने मात्रै भनेर तयारी मात्रै हुने र कार्य नहुने हो भने विगत र अहिलेमा कुनै अन्तर हुँदैन । राज्यका सूचना प्रणाली, सार्वजनिक सेवा प्रवाह र संस्थागत समन्वयबारे गम्भीर प्रश्न उठाएको छ । राजश्व तिरेर पनि सवारी लाईसेन्स पाउन नसकेको अवस्थामा उक्त क्षेत्रबाट सेवा प्रारम्भ हुन सक्यो भने थप सहज हुनेछ ।
    श्रीखण्डपुरस्थित सुरक्षण मुद्रण केन्द्रमा ड्राइभिङ लाइसेन्स छपाइको तयारी तीव्र गतिमा अघि बढिरहेको खबरले लामो समयदेखि असुविधामा परेका लाखौँ सवारीचालकमा आशा जगाएको छ । यातायात व्यवस्था विभागले सुरक्षण मुद्रण केन्द्रमार्फत १२ लाख सवारीचालक अनुमति पत्र छपाइको तयारी थालेको घोषणा गरेको छ । २०८२ भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा विभागको केन्द्रीय कार्यालयमा आगजनी हुँदा सूचना प्रणाली र लाइसेन्स छाप्ने उपकरण क्षतिग्रस्त बने पछि देशभर लाइसेन्स वितरण प्रक्रिया ठप्प भएको थियो । अहिले विभागले क्षतिग्रस्त प्रणालीको डेटा रिकभर गर्ने काम अन्तिम चरणमा पु¥याउँदै छ, जसपछि पुनः छपाई सुरु हुने सहमति भएको छ । यो अवस्थामा श्रीखण्डपुरस्थित केन्द्रबाट छपाइ सुरु हुने तयारीले तत्काल समस्या समाधानको बाटो खोल्नेछ । तर यो केवल तात्कालिक राहत हो । मूल प्रश्न भने प्रणालीको दिगो सुधारमा छ ।
    आगजनीको घटनाले देखाएको मुख्य कमजोरी हो, डिजिटल सुरक्षा र ब्याकअप प्रणालीको अभाव । एकपटक सर्भर जल्दा देशभरको अनुमति पत्र सेवा ठप्प हुनु कुनै सामान्य घटना होइन । यो केवल आगजनीको परिणाम होइन, दीर्घकालीन तयारीको अभावको दुष्परिणाम हो । उसै त लाईसेन्स वर्षाै नागरिकले पाउन सकेका छैनन् । अर्काेतर्फ उक्त घटनाले नागरिकलाई र राज्यले प्रदान गर्ने सेवा प्रति थप अविश्वास र अर्कमन्यतातर्फ उन्मुख गराएको छ । यातायात व्यवस्था विभागले समयमै पर्याप्त क्लाउड ब्याकअप, सर्भर प्रतिलिपि र आपत्कालीन डेटा पुनःस्थापना योजना तयार गरेको भए यो अवरोध आउँदैनथ्यो । सरकारले सबै मन्त्रालयको सूचना प्रणालीको सुरक्षा पुनःमूल्यांकन गर्नुपर्ने स्पष्ट सन्देश पाएको छ । विभागले सुरक्षण मुद्रण केन्द्रलाई ३० करोड रुपैयाँ उपलब्ध गराउने योजना बनाएको छ । प्रारम्भिक चरणमा १२ लाख लाइसेन्स छपाई हुने र त्यसपछि थप मागअनुसार विस्तार गर्ने तयारी छ । मुद्रण केन्द्रका प्राविधिकहरूका अनुसार, छपाइका लागि आवश्यक प्रविधि र जनशक्ति दुवै तयार छन, अब केवल विभागबाट रिकभर भएको डेटा प्राप्त गर्न बाँकी छ । यो योजनाले लामो समयदेखि रोकिएको वितरण प्रक्रिया त शुरु गराउनेछ, तर हामीले यसलाई केवल ‘छपाइ पुनःसञ्चालन’को रूपमा होइन, ‘संस्थागत पुनर्जागरण’को अवसरका रूपमा हेर्नुपर्छ । 
    २०८२ साल जेठमै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र बीच लाइसेन्स छपाइका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । तर प्राविधिक कारण देखाउँदै भएको ढिलाई, प्राविधिक असहजता र आन्दोलनको हिंसात्मक असरले त्यसको कार्यान्वयन अघि बढेन । सरकारी सम्झौताहरू अक्सर कागजमै सीमित हुने गर्छन् । एकातिर प्रविधि र स्रोतको समस्या, अर्कोतर्फ अनावश्यक प्रक्रियागत जटिलताले नागरिक सेवामा ठोस असर पु¥याउँछ । अहिले यो प्रकरण त्यसको प्रत्यक्ष उदाहरण हो । लाइसेन्स प्रणाली केवल प्रशासनिक प्रक्रिया होइन, यो नागरिक–राज्य सम्बन्धको प्रत्यक्ष सूचक हो । जब नागरिकले आफ्नो काम समयमै पाउँदैनन्, उनीहरूको राज्यप्रतिको विश्वास कमजोर हुन्छ । त्यसैले अबको प्राथमिकता केवल लाइसेन्स छाप्ने होइन, पारदर्शी, समयमै र विश्वसनीय सेवा प्रणाली निर्माण गर्ने हुनुपर्छ । विभागले आफ्नो सूचना प्रणालीलाई पूर्ण रूपमा पुनर्संरचना गर्दै सुरक्षा, पारदर्शिता र सेवा–गतिशीलताका तीन आधारमा सुधार गर्नुपर्नेछ । सुरक्षण मुद्रण केन्द्रसँगको सहकार्यलाई दीर्घकालीन साझेदारीको रूपमा विकसित गर्न सकिएमा भविष्यमा यस्ता अवरोध दोहोरिने छैनन् । यो केवल एक संस्थाको प्रयास होइन, राज्य संयन्त्र पुनः गतिमा फर्किन लागेको संकेत हो । विभागले पारदर्शिता र दक्षता देखायो भने, यो प्रक्रिया प्रशासनिक पुनर्जागरणको सफल उदाहरण बन्न सक्छ ।