2026 April 30/ 03:52: 38am

    गुण्डागर्दी र राजनीति । पछिल्ला केहि वर्ष यी दुवै विषय पर्यायवाची बन्न पुगेका छन् । राजनीतिका आडमा गुण्डागर्दी गर्ने कि ? गुण्डागर्दीका आडमा राजनीति गर्ने ? राजनीतिक दलका लागि दुवै महत्वपूर्ण विषय हुन् । यी नङ र मासु जस्तै सम्बन्ध राख्छन् । हरेक दल भित्र हुर्कंदै गएका यी संस्कृति र परिपाटीका कारण बर्षाै देखि राजनीतिक दलहरुप्रति नागरिकहरुले राखेको आशा र भरोसा पनि टुट्दै गएको छ । नयाँ भनिएका दलहरु भित्र पनि नयाँ जोगीले झै धेरै खरानी घसेका कारण नागरिकहरुमा नैराश्यता बढिरहेको छ । ठगी, लुटपाट, चोरी, जघन्य अपराधहरु लागुऔषध ओसारपसार, जर्बजस्ति करणी, हत्या जस्ता विषयमा समेत दलहरुले तेरो मेरो भन्दै राजनीतिक संरक्षण गर्न थाले पछि मुलुक निर्माणका लागि आहूति दिनेहरुको आँशुले पनि नेतृत्वकर्ताहरुको मन चिसो बनाईरहेको हुनुपर्छ । 
    एकसाता अघि नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलमा आबद्ध युवाहरु पक्राउ परेका छन् । अन्य दलमा आबद्ध युवाहरु पनि कुनै न कुनै अभियोगमा पक्राउ परिरहेका छन् । दरबारमार्गस्थित महेन्द्र शालिक नजिकैको एक रेस्टुरेन्टमा भएको झडपमा संलग्न रहेको आरोपमा प्रहरीले ८ युवालाई पक्राउ ग¥यो । पक्राऊ गरेको दिन शनिबार थियो । नेताहरु शनिबार भएकाले प्रहरी कार्यालय पुग्न सकेनन् । फोन मार्फत तत्काल छुटाउन दबाब दिन थाले । कार्यालय खुले लगत्तै मन्त्री, सांसद् र नेताहरुको लर्काे लाग्यो । तर पनि प्रहरीले पक्राउ गरेकाहरुलाई कानूनी कारवाही अघि बढाई रह्यो । कुलध्वज र सुजनसहित पब्लिक युथ क्याम्पस धोबिचौरका स्ववियू उपसभापति मिलन लामा, भुम्लु गाउँपालिका कार्यपालिका सदस्य सुलभ पहरी, तरुण दल काभ्रेका जिल्ला सदस्य युवराज लामा, मोरङका उर्लाबारी–७ का डम्बरबहादुर कार्की, तरुण दल सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका अध्यक्ष दावा तामाङ र काभ्रे तेमाल–५ का शक्ति लामा पक्राउ परेका थिए । रेस्टुरेन्टमा बैतडी स्थायी घर भएका ३६ वर्षीय रमेश भट्टलाई कुटपिट गरेको अभियोग छ । पक्राउ परेका केहि बाहेक अधिकांश विभिन्न अभियोगमा यसअघि पनि पक्राउ परेर छुटेका, कोहि तारेखमा रहेका, कोहि फरार भएका ब्यक्ति थिए । अघिल्लो वर्ष सून तस्करी अभियोगमा पनि विकास लामा लगायतका युवाहरु पक्राउ परेका थिए । नेतृत्वले संरक्षण गर्ने र कार्यकर्ताहरु त्यहि संरक्षणका आडमा अपराध गर्दै जाने हो भने राजनीतिका लागि अपराध कि ? अपराधका लागि राजनीति भन्ने विषयले बहस गराउने छ । युवाहरु समृद्ध, सुखी र खुशी नेपालका लागि सक्रिय हुनुपर्नेमा त्यस्तो हुन छाडेको छ । यस्ता घटनाले नैराश्यता र नकारात्मकता बढाउनेछ । 
    कहिले मलद्वार लुकाएर सुन तस्करी गरेर ल्याउने, कहिले राजधानी लगायतका स्थानमा गुण्डागर्दी गर्ने त कहिले हप्ता असुलीमा जोडिने जस्ता कुकर्ममा संलग्न युवाहरु नै राजनीतिक नेतृत्वमा रहनुको रहस्य के हो ? ठुला भनिएका राजनीतिक दलहरुमा असल कार्यकर्ताहरुको खडेरी लाग्न थालेको हो वा पार्टी भित्र डन, धन र गनको हावी हुन थालेको हो ? विचार सकिए पछि वा विचारले देश र पार्टी संचालन गर्न असमर्थ भए पछि उब्जने यस्ता विषयहरुले भोलिको नयाँ नेपाल र नयाँ पुस्तालाई कस्तो संस्कृति र संस्कार हस्तान्तरण गर्न सकिएला ? यक्ष प्रश्न दल, दलका नेता कार्यकर्ता र सिङ्गो समाज प्रति तेर्सिएको छ ।