2026 August 09/ 03:14: 57pm

    महाभारत/महाभारत गाउँपालिकाले चालु वर्षमा भए गरेका कार्यहरु तथा आगामी वर्ष गर्नु पर्ने योजनाहरुका बारेमा नागरिकहरुसँग अन्र्तक्रियात्मक सार्वजनिक सुनुवाई गरेको छ । 
    वडा नम्वर १ देखि वडा नम्वर ८ सम्म तालिका बनाएरै सार्वजनिक सुनुवाई अयाोजना गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । सार्वजनिक सुनुवाईका लागि प्रदेश सभा सांसद रत्न ढकाल समेत महाभारत गाउँपालिकाका सबै वडामा पुग्नु हुने भएको छ । वडा नम्वर २ मा बैशाख १६ गते आयोजना गरिएको सार्वजनिक सुनुवाई वडा नम्वर १ मा १७ गते आयोजना गरिएको थियो । त्यस्तै वडा नम्वर ८ घर्तिछापमा बैशाख १८ गते सार्वजनिक सुनुवाई आयोजना गरिएको थियो । वडा नम्वर ७ बनखुमा बैशाख १९ गते, वडा नम्वर ३ फोक्सिङ्गटारमा बैशाख २० गते, वडा नम्वर ४ बुढाखानीमा वैशाख २२ गते सार्वजनिक सुनुवाई आयोजना गरिएको छ । त्यस्तै बुढाखानीमै वडा नम्बर ५ को बैशाख २३ गते सार्वजनिक सुनुवाई आयोजना गरिएको छ भने बनखुमा वडा नम्वर ६ को सार्वजनिक सुनुवाई बैशाख २४ गते आयोजना गरिएको छ । 
    नागरिकहरुले स्थानीय स्तरमा अस्पताल तथा ब्याचलर तहको अध्ययन गर्ने शैक्षिक संस्था खोल्न अनुरोध गरेका छन् । यस अघि सडक सञ्जालमा नजोडिएको महाभारतको विकट क्षेत्रहरुमा विभिन्न स्थानबाट हिउँदको समयमा निर्वाध यातायातका साधन सञ्चालन हुन थालेपछि बुढखानी बनखुको मोटरबाटो तत्काल निर्माण सम्पन्न गर्न, विद्युत्तिकरणको कार्यलाई तत्काल सम्पन्न गर्न आग्रह गरेका छन् । महाभारत क्षेत्रमा एउटा अस्पताल समेत नभएकाले नागरिकहरुलाई स्वास्थ्य सेवाका लागि अझै सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य गर्न आफ्नै अस्पताल निर्माण र संचार तथा सूचनाको क्षेत्रमा पहुँच पु¥याउन रेडियो सञ्चालन गर्न आग्रह गरेका थिए । स्थानीय सरकारले १५ शैयासम्मको अस्पताल निमार्ण गर्न सक्नेछ । 
    कर्मचारी अभावका कारण दुई वर्षमा जनप्रतिनिधिहरुले चाहे अनुसारका योजनाहरु सम्पन्न गर्न समस्या भएको बताउँदै गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले जनताका गुनासाहरुलाई ब्यवस्थापन गर्न र गाउँपालिकाले प्रदेश र संघ सरकारको समन्वयमा तत्काल आयमुलक कार्यक्रम संचालन र पुर्वाधार निर्माणमा जोड दिने बताए । प्रदेश सभा सांसद रत्न ढकालले प्रदेश सरकारले महाभारत क्षेत्रलाई प्राथमिकतमा राख्दै योजनाहरु छनौटमा रकम विनियोजन गरेको बताउनु भयो । महाभारत क्षेत्रका नागरिकहरुको जीवन स्तर माथी उठाउन भौगोलिक अवस्था अनुसार आयमुलुक कार्यक्रम गर्न योजना छनौट गर्ने बताए । 
    सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, उपाध्यक्ष चेतकुमारी माझी, सम्वन्धित वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु, प्रमुख प्रशासकिय अधिकृत लगायतले नागरिकहरुले उठाएका सरोकारका विषयलाई सम्बोधन गरेका थिए । यस अघि नमोबुद्ध नगरपालिकाले पनि सार्वजनिक सुनुवाई तथा अर्धबार्षिक समिक्षा गरेको थियो ।