नमोबुद्ध/नमोबुद्ध नगरपालिकाभित्रका सरकारी, सार्वजनिक तथा राष्ट्रिय वन क्षेत्रको अतिक्रमण नियन्त्रण गरी संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यले जग्गाको नापजाँच तथा सीमाङ्कन गरिने भएको छ । नगरपालिकाले वन क्षेत्रको स्थलगत नापजाँच गरी स्थायी पिलर गाड्ने र अतिक्रमण भएको पाइएमा कानुनी प्रक्रियाबाट हटाउने निर्णय गरेको छ ।
नगर प्रमुख कुन्साङ लामाको अध्यक्षतामा नगरपालिकाको कार्यालयमा बसेको बैठकले सरकारी, सार्वजनिक तथा राष्ट्रिय वन क्षेत्रको संरक्षण, सीमाङ्कन र अतिक्रमण व्यवस्थापनसम्बन्धी निर्णय गरेको हो । बैठकमा डिभिजन वन कार्यालय धुलिखेलका प्रमुख डिभिजनल वन अधिकृत कृष्णबहादुर थापासहित नगरपालिकाका जनप्रतिनिधि, वन प्राविधिक, कर्मचारी तथा सामुदायिक वनका प्रतिनिधिहरूको सहभागिता थियो ।
बैठकको निर्णयअनुसार पहिलो चरणमा नमोबुद्ध नगरपालिका–३ स्थित चरुवा सामुदायिक वन र मेथिनकोट सामुदायिक वन तथा वडा नं. ४ स्थित साउने पाखा पात्ले रुम्टो पदाँली पाखा सामुदायिक वन क्षेत्र आसपासको जग्गा नापजाँच गरी सीमाङ्कन गरिनेछ । ती क्षेत्रमा स्थायी प्रकृतिका पिलर गाडेर सरकारी, सार्वजनिक, निजी र वन क्षेत्रको सीमा छुट्याइने निर्णय भएको छ ।
सीमाङ्कनका लागि आवश्यक पिलर नगरपालिकाको आर्थिक सहयोगमा तयार गरी सम्बन्धित सामुदायिक वनका उपभोक्ता, नापी प्राविधिक तथा वन प्राविधिकको सहकार्यमा गाडिनेछ । पहिलो चरणको कामबाट प्राप्त अनुभव र प्रगतिको समीक्षा गरी क्रमशः अन्य वडामा समेत कार्यक्रम विस्तार गर्ने निर्णय बैठकले गरेको छ ।
सरकारी, सार्वजनिक तथा राष्ट्रिय वन क्षेत्र व्यक्ति, उद्योग, समूह वा संस्थाले अतिक्रमण गरी प्रयोग गरेको पाइएमा छानबिन गरी कानुनी प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ । अतिक्रमण भएको पुष्टि भएमा सम्बन्धित पक्षलाई सार्वजनिक सूचना जारी गरी जग्गा खाली गर्न निश्चित समय दिइनेछ । तोकिएको अवधिमा जग्गा खाली नगरेमा नगरपालिकाले डिभिजन वन कार्यालयसँगको समन्वयमा प्रचलित कानुनबमोजिम अतिक्रमण हटाउने तथा आवश्यक कारबाही अघि बढाउने निर्णय गरेको छ ।
नापजाँच, रेखाङ्कन तथा सीमाङ्कनको कामलाई व्यवस्थित बनाउन नगर उपप्रमुख रत्नबहादुर लामाको संयोजकत्वमा अनुगमन तथा सहजीकरण समिति गठन गर्ने निर्णयसमेत गरिएको छ । समितिमा सम्बन्धित वडाका अध्यक्ष, नगरपालिकाको नापी शाखा प्रमुख, नमोबुद्धस्थित सबडिभिजन वन कार्यालयका वन अधिकृत तथा सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष वा सचिव सदस्य रहनेछन्। नगरपालिकाले तोकेको कर्मचारीले समितिलाई आवश्यक सहयोग गर्नेछ ।
बैठकले २०८३ साल कात्तिक १ गतेदेखि नापजाँच, सीमाङ्कन तथा पिलर गाड्ने काम सुरु गरी चार महिनाभित्र सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ । निर्धारित समयभित्र काम सम्पन्न गरी त्यसको प्रतिवेदन नमोबुद्ध नगरपालिका र डिभिजन वन कार्यालय, काभ्रेपलाञ्चोकमा पेस गर्नुपर्ने निर्णयसमेत भएको छ । सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण, वन क्षेत्रको अतिक्रमण नियन्त्रण र जग्गाको वास्तविक सीमाना पहिचान गर्न यो अभियान महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । प्रभावकारी कार्यान्वयनसँगै वन क्षेत्रको संरक्षण, सार्वजनिक सम्पत्तिको सुरक्षा तथा सम्भावित जग्गासम्बन्धी विवाद न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको बरिष्ठ बन अधिकृत हरिचन्द्र तिमल्सिनाले बताए । बैठकमा नगर उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत सुषमा महता, बरिष्ठ बन अधिकृत हरिचन्द्र तिमल्सिना, बरिष्ठ बन अधिकृत सरिता लामा, वडा अध्यक्षहरु, सामाजिक अभियान्ताहरु, स्थानीयहरुको सहभागिता रहेको थियो ।









