2026 July 25/ 10:06: 45pm

    बनेपा/काभ्रे जेसीजको आयोजनामा काभ्रे उद्योग बाणिज्य संघको ४२ औ बार्षिक साधारण सभाबाट निर्वाचितहरुलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जेसिजका अध्यक्ष रिकेश सैंजुको अध्यक्षता रहेको थियो । 
    कार्यक्रममा बोल्दै नगर प्रमुख शाक्यले बनेपा क्षेत्रको बजारको विकास तथा अरनिको राजमार्ग विस्तारका क्रममा हुने क्षति र त्यसको असरका बारेमा केहि वर्ष अघि देखि नै आयोजनालाई जानकारी गराएको बताए । नगरको विकासका लागि सबै क्षेत्र र ब्यक्तिहरुको समन्वय आवश्यक रहेको नगर प्रमुख शाक्यले बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्य, काभ्रे उद्योग बाणिज्य संघका निर्वाचित अध्यक्ष प्रताप बैद्य, अध्यक्ष राजेन्द्र पसक्षें, जेसिजका निर्वतमान राष्ट्रिय अध्यक्ष विकास मानन्धर, महिला जेसीज, जुनियर जेसीजका अध्यक्ष लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा निर्वाचितहरु सबैलाई जेसिज पदाधिकारीहरुले सम्मान गरेका थिए । 
    कार्यक्रममा जेसीजका अध्यक्ष रिकेश सैंजुले समुदायमा जेसीजले पारेको प्रभावका बारेमा जानकारी गराउँदै आगामी दिनमा समन्वय र सहकार्यमा विभिन्न कार्यक्रमहरु आयोजना गरिने बताए ।