2026 July 24/ 06:51: 34am

बनेपा/अपाङ्गता सम्बन्धी सचेतना तथा समावेशी शिक्षा सम्बन्धि अभिमुखिकरण रोशी गाउंपालिका, बागमती प्रदेश,सामाजिक विकास मन्त्रालय र पोर्टेज तथा पुनस्र्थापना संस्था नेपालको संयुक्त अयोजनामा सम्पन्न भएको छ । 
    रोशी गाउंपालिकाका जन प्रतिनिधिहरू, वडा सचिवहरू, स्वास्थ्य, शिक्षा तथा खेलकुद, सामाजिक र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका कर्मचारीहरू, महिला स्वास्थ्य स्वयम् सेवीकाहरू, बालविकास कक्षाका शिक्षकहरू, अपांगता क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिहरू सहभागि थिए । कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष दिनेश लामाले गरेका थिए । साथै कार्यक्रममा स्वागत मन्तब्य प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङले गरेका थिए । अपाङ्गताको परिभाषा र प्रकार, विकासमा ढिलाई तथा सिकाई अपाङ्गता, अपाङ्गता हुन सक्ने कारणहरु तथा रोकथामका केही उपायहरु, अपाङ्गताको बर्गिकरण, परिचय पत्र, सेवा सुबिधाहरु, मर्यादित शब्दहरु, छिटो प्रतिरोधात्मक तथा प्रारम्भिक समावेशी  शिक्षाको अबश्यक्ता, प्रमुख सामग्रीहरु पोर्टेज चेकलिष्ट र कार्डहरु,कार्यक्रमका प्रकृया र यसका फाईदाहरु लगायतका बिषयहरूमा पोर्टेज संस्थाका निर्देशक मणिराज श्रेष्ठ, संस्थाका शान्तलाल श्रेष्ठ र सानु केसीले सहजिकरण गरेका थिए । 
    पालिकाका उपाध्यक्ष मिम बहादुर वाईबाले रोशी गाउँपालिकाबाट अपाङ्गता भएका ब्यक्तिहरुको लागि भएका र आगामी दिनमा हुने कार्यक्रमहरुको बारेमा संक्षिप्त जानकारी दिएका थिए । संस्थाका निर्देशक मणिराज श्रेष्ठले महिला स्वास्थ्य स्वयं सेवीकाहरू, बालविकास कक्षाका शिक्षकहरूलाई पार्टेज चेकलिष्ट र उपाध्यक्षलाई पोर्टेज म्यानुल प्रदान गरेका थिए ।