बनेपा/बनेपा नगरपालिकाले पछिल्लो ३ वर्षमा सेवा प्रवाहमा उल्लेख्य सुधार गरेको छ ।
लैगिंक समानता तथा समाजिक समावेशीकरण परिक्षाको नतिजाले उक्त कुरा पुष्टि गरेको हो । बनेपा नगरपालिकाले सेवा प्रवाहमा आर्थिक वर्ष २०७७/०७८ मा ७५, २०७८/०७९ मा ८० अंक प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७९/०८० मा भने सेवा प्रवाहमा उल्लेख्य सुधार गर्दै ९० अंक प्राप्त गरेको छ । लैंगिक समानता तथा सामाजिक समावेशीकरण अन्तर्गत ५ वटा सुचक र २० वटा सहायक सुचक तय गरेर अंक प्रदान गरिएको थियो ।
नतिजा अनुसार नीति, कानुन र योजनामा सबैभन्दा बढी ९७.५ अंक प्राप्त भएको छ । गत वर्ष नगरपालिकाले यो सुचकमा ७७.५ अंक प्राप्त गरेको थियो । यस्तै संस्थागत व्यवस्थामा ७७.५, मानव संसाधन तथा क्षमता विकासमा ८२.५ र सुशासन तथा उत्तरदायित्वमा ९५ अंक प्राप्त भएको छ । ५ वटा सुचकमा गरी नगरपालिकाले ८८.५ अंक प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७८/७९ मा ७६ र आर्थिक वर्ष २०७७/७८ मा ६८.५ अंक प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७८/७९ मा बनेपा नगरपालिकाले बागमती प्रदेशमै सबै भन्दा धेरै अंक प्राप्त गरेको थियो । परिक्षण अन्तर्गत सबलमा १ अंक, आशिंकमा ०.५ अंक र कमजोरमा शुन्य अंक दिइएको थियो । जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख तथा सम्बन्धीत कर्मचारीको सहभागितामा तोकिएको सुचक तथा सहायक सुचकमा अंक प्रदान गरिएको हो । लैंगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण नजिजा सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उप–प्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाँई, वडा अध्यक्ष, कार्यपालिका सदस्य, महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख विजया सुवेदी लगायत विषयगत शाखाका प्रमुख एवं कर्मचारीको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रमुख शाक्यले सेवा प्रवाहमा देखिएको सुधारले हौसला थपिएको बताएका छन् । यद्यपी अझै धेरै सुधारका काम गर्न भने बाँकी रहेको शाक्यको भनाई थियो । शाक्यले क्रमशः सहज, प्रविधिमैत्री सेवा प्रवाह गर्दै जाने पनि बताए । यस्तै उप–प्रमुख सापकोटाले महिला तथा बालालिकाको क्षेत्रमा नीतिगत सुधारसँगै सहज सेवा प्रवाहको लागि काम गरिरहेको बताइन् । प्रमुख प्रशासकीय अधिकृत चापागाँईले उपलब्ध स्रोत साधनबाट अधिकतम सेवा प्रवाहको उदेश्यका साथ काम गरिरहेको बताएका छन् । अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाई छ । कार्यक्रमको सहजीकरण नविनचन्द्र घिमिरेले गरेका थिए ।









