2026 July 24/ 11:08: 11pm

एक रुपैयाँ गरिवका लागि मेरो सहयोग सधैंका लागि ः कार्यक्रमलाई निरन्तरता 
          बनेपा/सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औं वार्षिक साधारण सभा नेफ्स्कुन पुर्ब अध्यक्ष एवं सहकरीविद् कैलाशभक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा सक्षम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेशकाजी श्रेष्ठको अध्यक्षता रहेको थियो । कार्यक्रममा चण्डेश्वरी साकोसका अध्यक्ष नविन भक्त वादे लगायत सहकारीकर्र्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिती कैलाशभक्त प्रधानाङ्गले सहकारीले सदस्यको विश्वास जित्नुपर्ने बताएका छन् । गलत गर्ने सहकारी कारवाहीको दायरामा आउनुपर्ने भन्दै उनले सहकारी क्षेत्र छिट्टै शुद्धिकरण हुने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष रमेशकाजी श्रेष्ठले संस्थाले हालसम्म हासिल गरेका उपलब्धी र आगामी कार्ययोजना बारे जानकारी गराएका थिए । आर्थिक मन्दी, नेपाल सरकारका जिम्मेवार निकायको असावधानी, सहकारी क्षेत्रमा छाता संगठनहरुको लापरवाही, सहकारी संस्थाहरुको गैर जिम्मेवारीपनका कारण केहि सहकारीका कारण राम्रा सहकारीमा पनि संकट आउनु दुखद भएको उनले बताए । सक्षम साकोसले सहज, प्रविधिमैत्री सेवामा जोड दिएको पनि बताएका छन । 
            कार्यक्रममा स्वगत मन्तव्य संस्थापक मणिराज श्रेष्ठले राखेका थिए भने कार्यक्रम सञ्चालन उपाध्यक्ष भवानी जोशीले गरेका थिए । यस्तै सचिव सरोजकाजी श्रेष्ठले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन सम्बन्धी संक्षिप्त प्रस्तुती पस्तुत गरेका थिए । संस्थामा २ हजार ४० जना शेयर सदस्य रहेका उनले जानकारी दिए । मुस्कान सहित व्यवस्थापन भन्ने उद्देश्यलाई सार्थक बनाउन संस्थालाई चुस्त ढंगले सञ्चालन गरी सदस्यहरुलाई प्रतिस्पर्धी र सक्षम सेवा भन्ने उद्देश्यले व्यवसायी सक्षम र उत्कृष्ट कर्मचारी व्यवस्थापनका साथै आवश्यक पर्ने आधुनिक प्रविधी र विविध व्यवस्था गरिएको उनले जानकारी दिए । यस्तै संस्थाले लेट–बेलुकी कारोवार सञ्चालन गरिरहेको पनि उनले बताए । यो कारोवार ठुलो रकमको कारोवार हुने सदस्य तथा सन्ध्याकालीन कारोवारको लागि तयार गरिएको उनले बताएका छन । यस्तै ब्लुबुक नवीकरण गर्ने व्यवस्था समेत संस्थाले गरेको छ । संस्थाका सदस्यहरुको सवारी कर भुक्तानी सहज रुपमा गराउनको लागि स्मार्ट सर्भिस इन प्रालिसँगको सहकार्यमा सवारी कर भुक्तानी तथा सवारी साधनको ब्लुवुक नविकरण सेवा सञ्चालन भइरहेको प्रवन्धक पार्वती थापाले बताईन् ।
साधारण सभाको अवसर पारेर उत्कृष्ट नियमित बचतकर्ता सरिता शाक्य, सन्ध्याकालिन बचतकर्ता ओमकृष्ण बादे, बाल बचतकर्ता नविन जस्पाउ, उत्कृष्ट ऋणी विना श्रेष्ठ, उत्कृष्ट कर्मचारी साँगा सेवा केन्द्रकी रजनी खड्कालाई सम्मान गरिएको थियो । जेष्ठनागरिक जन्मदिन कार्यक्रलम अन्तर्गत मणिराज श्रेष्ठ र सुलोचना वादेको जन्मदिन मनाइएको छ ।
            साधारण सभामा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष मनोज थापाले प्रस्तुत गरेका थिए । लेखा तथा सुपरिवेक्षण समितको प्रतिवेदन संयोजक राजेश मानन्धर, सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको जेष्ठ नागरिक उप–समितिको प्रतिवेदन संयोजक मणिराज श्रेष्ठ, शिक्षा तथा सामाजिक उप–समिति संयोजकको प्रतिवेदन संयोजक भवानी जोशीले प्रस्तुत गरेका थिए ।
यस्तै सक्षम गरिबी निवारण कोष प्रतिवेदन प्रबन्धक पार्वती थापाले प्रस्तुत गरेकी थिइन । संस्थाले सुरु गरेको एक रुपैयाँ गरिवका लागि मेरो सहयोग सधैंका लागि ः कार्यक्रम सञ्चालन गरिरहेको उनले बताइन । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई केही राहत पुर्याउने उदेश्यले सञ्चालन गरिएको उक्त कार्यक्रम मार्फत २५ हजार रुपैयाँसम्म १ प्रतिशत व्याजमा विना धितो ६ महिनासम्म ऋण प्रदान गर्ने गरिएको प्रबन्धक थापाले जानकारी दिएकी छन्  ।