2026 July 27/ 12:02: 24pm

    बनेपा/वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था अनुसार बनेपा नगरपालिकाले श्रम स्वीकृति प्रदान गरेको छ । 
    वैदेशिक रोजगार विभागको बैदेशिक रोजगार सूचना ब्यवस्थापन प्रणाली मार्फत अनलाईन आबेदन दिने ब्यवस्था गरे अनुरुप बनेपा नगरपालिको बैशाख १७ गतेबाट उक्त ब्यवस्था शुरु गरेको नगर प्रमुख शान्तिरत्न शाक्यले जानकारी दिनुभयो । अनलाइन आवेदन गरी श्रमिकले श्रम  स्वीकृति प्राप्त गर्न सक्ने व्यवस्था भए पनि अधिकांश नेपाली श्रमिकले अनलाइन आवेदन अन्य अनधिकृत व्यक्ति वा सेवाप्रदायक संस्था मार्फत गर्दा श्रमिकको सम्पूर्ण विवरण प्रविष्ट नहुने, सो वापत धेरै रकम तिर्न बाध्य हुनुपर्ने र विभिन्न वाहाना बनाइ श्रमिकलाई दुःख हैरानी दिने कार्य हुँदै आएको थियो । 
    सोहि अवस्थालाई मध्यनजर गर्दै वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित एवं भरपर्दो बनाई स्थानीय तहसम्म पहुँच अभिवृद्धि गर्न वैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारको व्यक्तिगत तथा पुनः श्रम स्वीकृतिको अनलाइन आवेदन कार्य एवं वैदेशिक रोजगार सम्बन्धी सूचना प्रवाह गर्ने कार्यमा ७ सय ५३ स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई जिम्मेवारी तोकी २०८० साल वैशाख १ गते देखि कार्यान्वयन गर्ने परिपत्र अनुसार बनेपा नगरपालिको उक्त कार्य प्रारम्भ गरेको नगर प्रमुख शाक्यले बताउनु भयो ।