2026 August 02/ 11:20: 52am

    धुलिखेल/संघीय सरंचरना कार्यान्वयन भई तीन तहका सरकार कार्यान्वयनमा आएको केहि वर्ष पछि मालपोत कार्यालयबाट प्रदान हुने सेवाहरुलाई सरकारले पहिलो चरणमा नमुनाका रुपमा केहि जिल्लाका केहि पालिकाहरुबाट उपलब्ध गराउने गरी तयारी स्वरुप मालपोत कार्यालयको प्रारम्भिक कार्य भु–सेवालाई जिल्लाका १३ वटै पालिकाले शुरु गर्ने तयारी गरेका छन् । असोज १ गतेबाट सेवा प्रारम्भ गर्ने गरी जिल्लाको धुलिखेल, बनेपा र तेमाल गाउँपालिकाले अनुमति लिएका छन् । 
    मालपोत कार्यालय काभ्रेपलाञ्चोकका निमित्त प्रमुख ऋषिकुमार दाहालले तीनवटा पालिकाका लागि असोज १ गतेबाट सेवा शुभारम्भ गर्ने गरी प्रमाणपत्र प्रदान गर्नु भएको थियो । लेखापढी ब्यवसायीहरुले गर्ने काम अब पालिकाहरुले आफै राजश्व लिएर गर्न सक्नेछन् । पालिकाहरुले अनलाईन मार्फत सेवाग्राहिहरुको कार्य सम्पन्न गरी मालपोत कार्यालयको सेवामा पठाए पछि सेवाग्राहिहरु मालपोत कार्यालय आउनु पर्नेछ । प्रारम्भिक कार्य भएकाले जग्गा पास तथा अन्य सेवा तत्काल स्थानीय सरकारबाट हुने छैन । जिल्लामा र पालिकाहरुमा पनि लेखापढी कानुन ब्यवसायीहरुले तत्कालका लागि कार्य गर्न सक्ने छन् । भू–सेवा मार्फत नागरिकहरुलाई मालपोतको सेवा स्थानीय सरकारबाटै शुभारम्भ भएको सन्देश दिन खोजिएको सूचना प्रविधि कर्मचारी रामभक्त हुमागाईले जानकारी दिनुभयो । साउन १५ गते देखि १३ वटै पालिकाका ३९ जना कर्मचारीहरुलाई भू–सेवा सम्बन्धी तालिम प्रदान गरिएको थियो ।     
    भौतिक पूर्वाधार र दक्ष जनशक्तिको अभावमा अझै केहि स्थानीय तहहरु नियमित संचालनमा कठिनाई ब्यहोरिरहेका छन् । गुणस्तरीय इन्टरनेट, सडक सञ्जाल तथा विद्युत सेवा समेत नभएका पालिकाहरुमा अझै यो सेवा संचालनमा कठिनाई छ । केन्द्रिय सर्भरसँग जोडिएर दैनिक नागरिकहरुलाई सेवा दिन उक्त पालिकाहरुबाट कठिनाई छ । सरकारले सुविधा सम्पन्न पालिकाहरुमा उक्त सेवा शुरु गर्ने गरी आर्थिक वर्षको २०७७÷०७८ बाट मालपोत कार्यालयहरुबाट प्रदान भईरहेका जग्गा प्रशासन सम्वन्धी केहि सेवाहरु स्थानीय तहमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो । सोहि घोषणा अनुरुप भूमि ब्यवस्थापन तथा अभिलेख विभागले २०७७ साउन ६ गते मालपोत कार्यालय काभ्रेलाई पत्र लेख्दै जिल्लाका सबै स्थानीय तहहरुलाई जग्गा प्रशासन सम्बन्धी जानकारी तथा अभिमुखीकरण गराउन स्थानीय तहका कर्मचारीहरुलाई सहभागिताका लागि अनुरोध गरेको थियो । सोहि निर्देशन बमोजिम मालपोत कार्यालय काभ्रेले साउन १५ गते बिहिबारबाट १३ वटै स्थानीय तहका ३÷३ जना कर्मचारीहरुलाई अभिमुखीकरण तालिम दिन शुरु गरिएको तत्कालिन मालपोत कार्यालय काभ्रेका प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले जानकारी दिनुभयो । 
    जग्गा प्रशासन सम्बन्धी सेवा हस्तान्तरण गर्न कानून तथा कार्यविधिको तर्जुमा अन्तिम चरणमा पुगिसकेको छ । स्थानीय तहबाट प्रवाह हुने जग्गा प्रशासन सम्बन्धी कार्यलाई शुरुवाती चरणबाटै ब्यवस्थित, प्रभावकारी र विवादरहित बनाउन स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई जग्गा प्रशासनका बारेमा जानकारी गराउने र अभिमुखिकरण गराईएको छ । मालपोत कार्यालय काभ्रेपलाञ्चोकले भूमि ब्यवस्थापन तथा अभिलेख विभागको निर्देशन अनुसार भू–सेवा केन्द्र संचालन निर्देशिका २०७६ लागु गरेको छ । भू–सेवा केन्द्र स्थापना तथा संचालनका लागि मालपोत नियमावली २०३६ को नियम २३ क र २३ ख बमोजिम चाहिने योग्यता पुगेका तथा भू सेवा केन्द्र संचालन निर्देशिका २०७६ बमोजिम भू सेवा केन्द्र संचालनका लागि चाहिने पूर्वाधार पुरा भएका ब्यक्ति, संस्था तथा स्थानीय सरकारले अनुमति लिनका लागि साउन महिना भर अनलाईन मार्फत निवेदन पेश गर्न अनुरोध गरेको थियो ।