2026 August 04/ 12:53: 23am

भिडियो कन्फरेन्सबाट म्याद थप प्रकृया
धुलिखेल/जिल्ला अदालत काभ्रेपलाञ्चोकमा पहिलो पटक भिडियो कन्फरेन्सबाट म्याद थप गरिएको छ । जिल्ला अदालत नियमावली २०७५ को नियम १०८ बमोजिम अदालतले लकडाउनको अवसरमा भिडियो कन्फरेन्सबाट म्याद थप गरेको हो । 
    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बुधबार राति खसी चोरी गरेको अभियोगमा दुई अभियुक्तलाई पक्राउ गरी अनुसन्धानका लागि अदालतमा म्याद थपको अनुमति माग गरेको थियो । प्रहरी कार्यालयबाट अभियुक्त सहित प्रस्तुत गरिए सँगै जिल्ला अदालत काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला न्यायाधीश पुरुषोतम ढकालले अदालतको नियमावली अनुसार भिडियो कन्फरेन्स गरिएको बताउनु भयो । ‘हामीले पहिलो पटक प्रविधि र नियमावलीको अधिकार दुबै प्रयोग गरेका छौं’–जिल्ला न्यायाधीश ढकालले भन्नुभयो–‘यसले साधन श्रोत सहित समयको समेत सदुपयोग हुनेछ । लकडाउनले नियमावलीमा भएको ब्यवस्था प्रयोगमा ल्याउने अवसर जुटायो ।’ 
    ‘न्यायाधीश र अभियुक्त बीच प्रत्यक्ष कुराकानी हुन्छ, प्रहरीले हिरासत भित्र गरिने ब्यवहार, पक्राउको कारणका सम्वन्धमा इजलाशमा जस्तै गरी संवाद हुन्छ’–श्रेस्तेदार गोविन्दप्रसाद घिमिरेले भन्नुभयो– ‘प्रहरीले जुन अभियोगमा पक्राउ गरेको छ, सोहि अभियोगका बारेमा जानकारी गराउँछ । न्यायाधीशले इजलासबाट सोधिने सबै प्रश्नहरु अभियुक्तलाई सोध्नुहुन्छ र म्याद थपका लागि उपयुक्त लागेमा थपिदिनु हुन्छ ।’ विहिबार चोरी अभियोगमा पक्राउ परेका दुई ब्यक्तिहरुको म्याद थप गरिएको हो । श्रेस्तेदार घिमिरेका अनुसार भिडियो कन्फरेन्सले प्रहरीको श्रोत साधन, अभियुक्तको सुरक्षा र बाहिरी क्षेत्रबाट हुने तनाव कम हुने छ ।