2026 August 05/ 05:32: 50am

बनेपा/चण्डेश्वरी माईको जात्रा स्थगित भए पछि मन्दिरमा क्षमा पूजा गरिएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिइ सर्वसाधारणको जिउधनको सुरक्षाका लागि बनेपा नगरपालिकाले श्रीमाई चण्डेश्वरी मन्दिरमा क्षमा पुजा गरिएको नगरप्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले बताउनु भयो । 
क्षमा पुजामा मन्दिरका द्वारे चन्द्रबहादुर रंजित, नगरपालिकाका प्रशासन अधिकृत कृष्ण कायस्थ,  कर अधिकृत धुर्वराज नेपाल, योजना अधिकृत यज्ञ बैद्य, प्रशासन प्रमुख जुजुभाई सुद्धकार, ईलाका प्रहरी कार्यलयका प्रमुख योगेन्द्र तिमल्सिना लगाएतको सहभागिता रहेको थियो । १७ औं शताब्दी देखि सुरु भएको बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा कोरोना भाईरसको संक्रमणको त्रासका कारण स्थगित गरिएको हो । हरेक बर्ष बैशाख पूर्णिमाका दिन मनाउने जात्रा बैशाख २५ र २६ गते आयोजना हुँदै थियो । नगरपालिकाले क्षमा पूजा गरेर जात्रा स्थगित गर्ने निर्णय गरेको थियो । हरेक बर्ष हुने बैशाख पूर्णिमाको अवसरमा चण्डेश्वरीको नियमित पूजा अर्चना लगाएतका कार्यहरु पुजारी तथा रकमीहरुबाट गर्ने, माताको खट यात्रा स्थगित गर्ने, माताको परम्परागत जात्रा सञ्चालन गर्न नसकेकोमा क्षमा पुजा गर्ने निर्णय भए अनुसार उक्त पुजा गरिएको नगर प्रमुख बादेले जानकारी दिनुभयो ।