2026 August 05/ 01:37: 44pm

पनौती/एकीकृत साकोस पनौती शिक्षा उप–समितिको आयोजनामा सञ्चालित दशौं अन्तर विद्यालय आमन्त्रित हाजिरी जवाफ प्रतियोगिताको उपाधि काभ्रे इङलिस मा.वि. पनौतीले प्राप्त गरेको छ । 
प्रतियोगिताको दोस्रो स्थान भालेश्वर मा.वि. मल्पी, तेस्रो पनौती बोर्डिङ स्कूल ठाडोबाटो र सान्त्वना  कुशादेवी मा.वि. विहावरले भए । विजयी विद्यालयका विद्यार्थीहरुलाई टिका,  प्रमाणपत्र, मेडल, ट्रफीका साथै नगद पुरस्कार प्रथम ७ हजार, द्वितीय ४ हजार, तृतीय ३ हजार, सान्त्वना २ हजार र पाँचौं, छैंठौ १÷१ हजार प्रदान गरिएको थियो । एकीकृत साकोसको १३ औं स्थापना दिवसको उपलक्ष्यमा सञ्चालित हाजिरीजवाफ प्रतियोगितामा पनौती र आसपासका २० विद्यालय सहभागी रहेका थिए । पाँच विद्यालयका ४ वटा समूह विभाजन गरि छनौट चरणबाट प्रत्येक समूहको विजेता र उच्चतम अंक प्राप्त गर्ने २ वटा उप–विजेता गरी ६ वटा विद्यालय अन्तिम चरणमा प्रवेश गरेका थिए । कार्यक्रमका सभापति चण्डेश्वरी मुनाकर्मीले कार्यक्रममा सहभागी विद्यार्थी, प्रतिनिधि शिक्षक, विद्यालय, शुभचिन्तक तथा सहयोगीलाई धन्यवाद दिनु भएको थियो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालले प्रतियोगिता भनेको श्रेष्ठता जाँच गर्ने माध्यम भएकाले जहिले पनि अब्बल हुने उद्देश्य राख्नु पर्ने बताउनु भयो । कार्यक्रममा पनौती शिक्षा शाखाका महेश्वर जंगम, ज्योति लाईफ इन्स्योरेन्स क्षेत्रिय कार्यालयका प्रमुख अम्बिका तिमल्सिनाले विजयी टोलीहरुलाई ट्रफि र पुरस्कार प्रदान गर्नु भयो । हाजिरीजवाफ प्रतियोगिताका संयोजक नेपाल राष्ट्र बैंकका उप निर्देशक तथा साकोसका संस्थापक अध्यक्ष लक्ष्मीनारायण ताम्राकारले हाम्रो समाज आधुनिकरण भए संगै ज्ञान र बौद्धिक कार्यक्रमहरुको कमी भएकोले यस प्रकारको प्रतियोजिता आयोजना गरेको बताउनु भएको थियो । कार्यक्रम संचालन मदनसुन्दर गोच्छेले गरेका थिए भने कोषाध्यक्ष तथा शिक्षा उप समितिका संयोजक भरत राउलले कार्यक्रमको समापन समारोहमा संस्थाले सामाजिक उत्तर दायित्व बहनको रुपमा हाजिरीजवाफ प्रतियोगिता धन्यवाद ब्यक्त गर्नु भएको थियो ।  प्रतियोगिताको छनौट चरणको सञ्चालकमा दिपक शर्मा, उत्तमकृष्ण ताम्राकार, मदनसुन्दर गोच्छे, र अन्तिम चरण लक्ष्मीनारायण ताम्राकारले सञ्चालन गर्नु भएको थियो ।