2025 March 15/ 11:50: 47pm

   फ्रेबुअरी १४ । हाँसो लाग्छ प्रेम दिवस । मेरो लागि एउटा फगत सपना । मानु यो के को लागि ? जीवनको ३० औँ वसन्तमा छु । यो विच आए धेरै यस्तै मृगतृष्णाहरू । जसले मलाई न हसाँउन सके न रुवाउन नै । मन चोर्नेहरुका भीडमा बाँचेकै छु यस्तै गरी मरी मरी । हो यही हो मेरो जीवनको यथार्थता । के को लागि ? न त म भन्न सक्छु न देखाउन नै ।
    आजैको साँझ हो । खाना खाएँ । सुतेँ । चाहेँ मिठो निद्रा । सायद गल्ती गरें । हुन्न थियो होला सायद यती मिठो निद्राको कामना गर्न । गरें । मलाई सिकाइएकै थियो मिठो सपना देख्न । मानुँ सपना मिठै हुन्छ सायद दुनियाँकै सबभन्दा मिठो । कति मिठो सपना । कति मिठो । कति मिठो । सबैको कल्पनाभन्दा बाहिरको मिठो । हो । दिन त बिताएकै हो । आफ्नै रोजाईमा । अलिअलि हाँसे जस्तो अनि अलि अलि निरास भएजस्तो । तर लाग्छ मलाई किन दिन्छ चासो वारम्वार ? नाता छ के ? जोडिएको छ किन ? किन चाहन्छ जोडिन ?
    सुतेथेँ । सायद सपनामै थिएँ । मोवाईलमा मेसेज वज्यो । लाग्यो कसैले भ्यालेन्टाइनको म्यासेज पठायो । त्यही त छ आखिर । सस्तो अनि तेस्रो दर्जाको मेसेजको निरन्तर आगमनले तर्सिएकी म त्यही सोचेँ । यस्तो लाग्थ्यो म त्यो मोवाईलको भाँडोभन्दा पर वसुँ संगत गर्न नपरोस् त्यो भाँडोसँग । विरक्तिएको मनले केही आशा गरेछ सायद । यसो मोबाईल खोलें किन किन कसैको मायाको आभास आफै हुन गयो । खोई कारण थाह हुन सकेन । तर अकस्मात त्यो मायाका शब्द किन यती प्रिय लाग्यो नि यस्तो लाग्यो म साँच्चै जिउँदो छु । फटाही । यो के शब्द हो मलाई थाहा छैन । किन म माथि प्रयोग गर्छ ? त्यो समेत थाहा छैन । मलाई मन समेत पर्दैन यो शब्द । तर मलाई पटक पटक यही शब्द प्रयोग गर्छ । यही भनेर बोलाँउछ । किन ? केका लागि ?
    मोबाईल खोलें । उसकै रहेछ । हाँसु हाँस्न मन नै छैन । रोउँ त केका लागि रोउँ म । म के हो उसको ? उही शब्द अनि खोई कता कता माया हो कि लाग्ने उही सम्बोधन । फटाही । रिस उठ्छ चौपट्टै । यती रिस उठ्छ न नाप्ने भाँडो पाँउछु न जोख्ने । ऊ अर्थात् पराई । अर्कैको लोग्ने । परपुरुष । मेरो बुझाईमा काम नलाग्ने लोग्ने मान्छे । मलाई केही काम छैन । आफ्नै संसारमा रमाउने स्वार्थी पुरुष हो त्यो । के को नाता ? के को प्यार ? के को आफ्नोपन ? म आज तिम्रा खातिर एउटा कथा लेख्छु । उसका मोबाईल सन्देशले मेरा कम्पारा तात्न कतिबेर लाग्दैन । 
    मायाका आस्वासन दिदै मन चोर्न सिपालु यी लोग्नेमान्छे । अझै मलाई पात्र बनाँउदै पो छ । अनायसै मन फिस्स हाँसिदिन्छ । नकच्चरो पुरुष । आफ्नो कर्तव्य समेत भुलेर मेरो सुन्दर जीवनसँग समेत खेलवाड गर्न आइपुग्दैछ । मोबाईलमा उसका बग्रेल्ती म्यासेज आइरहे मायाका अनि धम्कीका समेत । सहिरहेँ एउटी नारीको सहनशील मन बोकेर । वाध्यतामा अल्झेको एउटा निरीह नारी पात्र त बनेँ नि आखिर म । त्यसमा नि उसैको कथाको पात्र बन्दै छु म । थाहा छैन कस्तो पात्र बन्दै छु । सायद उसका दबिएका चाहनाहरुलाई अस्थायी समाधान गरिदिनुपर्ने अपिल बोकेको पात्र वनायो होला । एउटा अहंकारी घमण्डी नकच्चरो पुरुषको आँखामा यो भन्दा ज्यादा के हुन सक्ला र !
    आँखाले चिम्म गर्नै चाहेन । किनकिन बाबा ममीको चौपट याद आयो । लाग्यो बाबा ममीको साथ थिएँ भने आज यस्तो व्यक्तिको सामना गर्नु त पर्थेन । फेसबुक खोलेँ । त्यहाँ अँझै वग्रेल्ती मेसेजका थुप्रा थिए । ती सबैमा लेखिएका थिए उसले मलाई चाहनुका कारण । सबै हाँसो लाग्ने कारणहरू त थिए । उसका अतृप्त चाहना म बाट पुरा गर्ने अभिलाषा बोकेको रे । घृणा लाग्यो आफैप्रति । कसैका अतृप्त चाहनाको प्यासी बन्दिनुपर्ने रे म । उसका लागि । मतलब मसँग कुनै चाहना नै जीवित छैनन् छन् त फगत उसैका अतृप्त चाहना ।
    बाध्यतावस जोडिन पुगेको उसको र मेरो सम्बन्ध यसैको लागि हुँदो हो र ? म त उसको शक्तिलाई पो मान्थेँ । उसका आत्मविश्वासलाई मान्थेँ । उसका संघर्षका कथाहरुलाई मान्थेँ अनि उसका जोश र जाँगरहरुलाई पो मान्थेँ । म नारी हुनुको फाइदा नराम्ररी उठाउन चाहने उसका ती मनलाई मान्ने मसँग कुनै अभिलाषा थिएन । आफूभन्दा कता कता उच्च लाग्ने उसको उच्च जीवन प्रति मोह समेत आँक्न नसक्ने म अनायसै उसका तल्लो स्तरको व्यवहारलाई पचाउन सक्थेँ होला र ? फिटिक्कै निद्रा परेन । उही हो फेरि फेसवुक खोलेँ । अन्त ध्यान दिनु अगाडि उसैका म्यासेज आए । सुतिनौ र ? कति चासो गरेको ? के को लागि ? मसँग कुनै साइनो नजोडियोस् तर मलाई तिमी हाँसेको मन पर्छ । उसका यी मेसेज हेर्दा म नहाँसी वस्नै सकिन । फिस्स हाँसेँ । किन हो आज उसका तस्विर नियाल्न पो मन लाग्यो । हरेक तस्विर उदासिन मुहार बोकेर उभिएको पो देख्छु । कि कतै ?? किन किन उसको प्रोफाईल खोतल्न मन लाग्यो । शब्द शब्द नियालेँ । अक्षर अक्षर पढेँ । हरेक तस्विर साँच्चै हेरेँ । उसका उदासिन अनुहारहरू पढ्न मन लाग्यो । पढिरहेँ । फलानो अपडेटेड हिज स्टाटस । नोटिफिकेशन वज्यो । उसकै नाम उफ् ।
    कहिलेकाँहि बुढापाकाले भनेको पुग्छ । साँझको समय । बोलेको बोली । पाकेको खाना । यस्तै केहि ब्याख्यात्मक उदाहरणहरु प्रशस्तै भेटिन्थे । तर उमेर र समयले त्यसको कहिल्यै ख्याल हुँदैन थियो । मन नपरेका धेरै कुराहरु गर्नै पर्ने र मन परेका अधिकांश कुराहरु गर्नै नसकिने अवस्थामा पुगिन्थ्यो । अहिले सप्ताहव्यापी प्रेम दिवस छ । कुनै न कुनै दिन कुनै न कुनै दिवसका अवसरमा माया साटासाटा गर्ने परम्परा नै बनेको छ । पहिला पहिला बोलचाल कठिन थियो । सँगै बस्नु, बोल्नु र शुभकामना आदान प्रदान गर्नु अपराध जस्तै मानिन्थ्यो । अहिले शारिरीक सम्बन्ध समेत सामान्य भई सकेको छ । तर पनि युवा युवतीहरुको प्रेम र सम्बन्धलाई अझ फराकिलो रुपले प्रस्तुत गर्ने भनेको प्रेम दिवस एउटा माध्यम हो । 
    विद्यालय जीवनमा म कसैलाई मन पराउँथे । उसले मन पराउथेन । मनमनै त्यो कुरा दबाएँ । विस्तारै विद्यालय सकियो । +२ अध्ययन गर्ने क्रममा एउटा केटा मन प¥यो । उसले पनि मन चाँहि पराउँथ्यो तर उ पहिले नै अरु कसैको बुक भईसकेको थियो । त्यहि दिन लाग्यो मेरो भाग्यमा चाँहि सधै अरुले मन पराएका केटाहरु मात्रै आई पुग्छन कि क्या हो ? त्यो क्रम र समय पनि टिकेन । ब्याचलर तहमा अध्ययन गर्दा पहिलो प्रस्ताव नै उसले राख्यो । उ अर्थात अर्काको लोग्ने । तर पनि मलाई उसको ब्यवहार मन प¥यो । बोली मन प¥यो । शरीर र उसको कन्भिस गर्ने तरिका र शक्तिको प्रभावले तान्यो । विस्तारै उसँगको प्रेममा म फस्न पुगें । त्यहि प्रेमले मलाई पागल बनायो । अरु पुरुषहरु मन पर्ने अवस्थामा समेत मानेन । विवाह हुन दिएन । अरुसँग घुम्न दिएन । बोल्न दिएन । 
    लामो समयको प्रेम पछि उसले मलाई अरु कसैसँग विवाह गर्न भन्यो । म तयार हुन सकिनँ । तर पनि मैले उसलाई माया गर्ने र मन पराउने कुरा भई रह्यो । उसले पनि आफुले गर्नु पर्ने गतिविधिलाई कायम राख्यो । एकदिन उसले जीवनका अन्तिम सत्य जस्तै गरी बाध्यता र परिस्थितिका कथा सुनायो । जीवनको अन्तिम क्षणसम्म प्राण बचाउने र प्रेमका भावहरु रहने घटना सुनायो । भेट हुँदैन थियो । भएको बेला पनि उसले गर्ने र भन्ने फरक हुन्थ्यो । तर पनि उसले छाडेको थिएन । गर्नु पर्ने कर्तब्य पुरा गरेकै हुन्थ्यो । मलाई चाँहि उसको सबै नाटक जस्तो लाग्थ्यो । सधै झै उसका म्यासेजहरु आउँथे । मन  लाग्दा अध्ययन गर्ने र मन लाग्दा हेरेर पनि नहेरेको जस्तो बनाई दिने गरिदिन्थे । केहि सिप लागेन । निरन्तर म्यासेज आएको आई थियो । निद्रामा छु जस्तो लाग्यो । सपना देखेको छु जस्तो लाग्यो । 
    यो अन्तिम कथा तिमीले पढिरहँदा म यो संसारबाट बिदा हुन सकुँ । तिम्रा जीवनमा कहिल्यै दुःख नपरुन् । बेनामी स्टाटसले मलाई नै जिस्काए जस्तै भयो । हतार हतार वत्ति निभाँए सुतिदिएँ । गहिरो निद्रालाई चिर्दै मोबाईल बज्यो साथीले गरिछ । हतार हतार सामाजिक सञ्जाल हेरीहाल भन्दै ऊ ओझेल परी जसलाई मैले सबै दिक्कलाग्दो कहानी सुनाएको थिएँ । भ्यालेन्टाइनले प्रेमका खातिर ज्यान गुमाएकै दिन मध्य रात नवित्दै सामाजिक सञ्जालमा उसको मोटरसाईकल दुर्घटनामा ज्यान गएको समाचार छ्याप छ्याप्ती भइसकेको रहेछ । जीवनमा पहिलोपटक आफू यती धेरै चिसिएको अनुभुत गर्दा म ज्यूँदो छु कि छैन पत्तो नपाए झै हुन पुगेछु । प्रेम, प्रेम दिवस अनि मेरो मरेको प्रेमीसँग सँग गाँसिएका अनुभुतिहरु । कसरी ब्याख्या गरांै ? सम्भावना छ र ? तर पनि भन्न मन लाग्छ अजम्बरी हुन्छ प्रेम । मान्छे मर्छ । मरेर जान सक्छ । तर उसको प्रेम र माया, सम्झना अटुट रहिरहन्छ । 

बसन्ता सुवेदी
काठमाडौ