नेपाली लोकजीवन र लोक साँस्कृतिक चेतनाको एक सर्वोत्तम सङ्गम हो तिहार पर्व । सामान्य बोलीचालीमा हिन्दू धर्मावलम्बी नेपालीहरूको दोस्रो ठूलो चाडका रूपमा चिनिने तिहारस दीपावली, यमपञ्चक वा भ्रातृपञ्चक जस्ता अनेकौँ नाम र विशेषताले सयपत्री जस्तै स्वच्छ र सप्तरङ्गी टीका जस्तै सुसज्जित छ । मूलतः यसलाई दाजुभाई र दिदीबहिनीबिचको आत्मिक सम्बन्धको रूपमा लिइए तापनि यसको अन्तर्य ऐतिहासिक, साँस्कृतिक, अर्थशास्त्रीय र विशेष गरी मानवशास्त्रीय तथा समाजशास्त्रीय दृष्टिकोणले निकै उत्कृष्ट छ । यो केवल एउटा परम्पराको निरन्तरता मात्र होइन, बल्कि सिङ्गो समाजलाई एउटै सूत्रमा बाँध्ने र जोड्ने सामाजिक संरचना र मानवीय चेतनाको बलियो सेतु हो ।
व्युत्पत्ति र लोक–व्याख्या
भाषिक एवं व्याकरणिक दृष्टिले हेर्दा, संस्कृतको ‘तिथि–वार‘ (अर्थात् निश्चित तिथी र बारमा मनाइने पर्व) शब्द अपभ्रंश भई ‘त्यौहार‘ हुँदै नेपाली भाषामा ‘तिहार‘ बनेको मानिन्छ भने सांस्कृतिक लोक(बोलीमा यसलाई विच्छेद गरी ‘ति‘ (त्री अर्थात् तीन) र ‘आहार‘ (विशेष भोजन) सँग जोडेर समेत लोक–व्याख्या गर्ने गरिन्छ । यस मौलिक लोक–अवधारणा अनुसार, निश्चित तिथिमा तीन प्रकारका विशिष्ट परिकार वा खाद्यसामग्रीको समिश्रण खाएर मनाइने पर्व नै तिहार हो, जसमा पहिलो आहारका रूपमा चामलको पीठो र घिउबाट तयार पारिने परम्परागत सेलरोटी, फिनी, अर्सा र अनरसा जस्ता पक्वानहरू पर्दछन्, दोस्रो आहारका रूपमा शरीरलाई ऊर्जा र प्राकृतिक शक्ति दिने ओखर, कटुस, बिमिरो तथा विभिन्न कन्दमूलहरू समेटिन्छन् भने तेस्रो आहारका रूपमा चाडबाडको मधुरता झल्काउने गुलियोजन्य पदार्थहरू जस्तै मसिरी (मिश्री), सक्खर, खुँदो र रैथाने मिठाईहरू पर्दछन् । यसरी तीन प्रकारका विशिष्ट लोक–आहारहरू ग्रहण गरेर हर्षाेल्लासका साथ मनाइने भएकाले नै जनस्तरमा यस पर्वको नाम र परम्परा ‘तिहार‘ का रूपमा जनजिब्रोमा स्थापित हुन पुगेको देखिन्छ ।
शास्त्र, उज्यालो र बहुआयामिक पहिचान
तिहार चन्द्रमास (चन्द्रमान) अनुसार मनाइने पर्व भएकाले यो सधैँ कात्तिक महिनामै पर्ने लोकविश्वास रहँदै आएको छ र व्यावहारिक रूपमा पनि सधैँ कात्तिक महिनामै पर्दै आएको छ । तिहारको अर्काे मुख्य र शास्त्रसम्मत नाम ‘यमपञ्चक‘ हो । यमपञ्चक संस्कृत भाषाबाट आएको शब्द हो, जसको शाब्दिक अर्थ यमराजसँग जोडिएका पाँच दिनको समूह हुन्छ । धर्मशास्त्र अनुसार कार्तिक कृष्ण त्रयोदशी (काग तिहार) देखि कार्तिक शुक्ल द्वितीया (भाइटीका) सम्मका ५ दिनलाई ‘यमपञ्चक‘ भनिएको छ । यस अवधिमा आफ्ना दाजु यमराजलाई बहिनी यमुनाले क्रमशः काग र कुकुरमार्फत आफ्ना घरमा बोलाउन सन्देश पठाएको र द्वितीयाका दिन यमराज आफ्नै लोक छाडेर बहिनी यमुनाका घरमा पुगी बहिनीबाट पूजा र आतिथ्य ग्रहण गरेको पौराणिक मान्यता रहेको छ । (ज्योतिषशास्त्रमा भने पञ्चक भन्नाले धनिष्ठा नक्षत्रको दोस्रो चरणदेखि क्रमशः शतभिषा, पूर्वाभाद्रपद, उत्तराभाद्रपद र रेवती नक्षत्रको चौथो चरणसम्म चन्द्रमा रहँदा बन्ने ५ नक्षत्रको अवधिलाई बुझाउँछ।)
अर्काेतर्फ, तिहारलाई ‘दीपावली‘ पनि भनिन्छ । शाब्दिक रूपमा दीपावलीमा ‘दीप‘ भन्नाले बत्ती (दियो) र ‘आवली‘ भन्नाले लहर वा पङ्क्ति भन्ने बुझिन्छ । भारततिर यसलाई ‘दिवाली‘ नामले पनि चिनिन्छ । दीप अर्थात् बत्ती लहरै बालेर मनाइने पर्व विशेष भएकाले यसलाई दीपावली भनिएको हो । घर–आँगन, चोटा–बार्दली लगायतका स्थानहरूमा दियो र बत्तीको लहरै पङ्क्तिबद्ध रूपमा बालेर मनाइने दीप वा उज्यालोको पर्व भनेर पनि तिहारलाई चिनिन्छ ।
नामतः हेर्दा, तिहार केवल एउटा धार्मिक वा पारिवारिक पर्व मात्र नभई यो नेपाली समाजको बहुआयामिक लोकसाँस्कृतिको विशिष्ट पहिचान बोकेको चाड हो । शाब्दिक रूपमा ‘तिथि–वार‘ वा लोक–व्याख्याको ‘विशेष आहार‘, शास्त्रको ‘यमपञ्चक‘ र उज्यालोको प्रतीक ‘दीपावली‘ जुनसुकै कोणबाट हेरे पनि यसले मानव, प्रकृति, पशुपन्छी र देवी–देवताबिचको सुमधुर सम्बन्धलाई जोड्दछ । अन्धकारलाई हटाएर समृद्धिको उज्यालो फैलाउने यो पर्वले एकातिर दाजुभाई र दिदीबहिनीबिचको आत्मीयतालाई प्रगाढ बनाउँछ, माइती र चेलीबिचको लोकपरम्परालाई जीवन्त पार्दछ भने अर्कोतिर मौलिक लोकपरिकार, भैलो–देउसी जस्ता लोकपरम्परा र उज्यालोको माध्यमबाट सांस्कृतिक निरन्तरता, सामाजिक सद्भाव र आर्थिक गतिविधिलाई जीवन्त राख्न मद्दत पु-याउँछ ।
चेलीबिचको लोकपरम्परालाई जीवन्त पार्दछ भने अर्कोतिर मौलिक लोकपरिकार, भैलो–देउसी जस्ता लोकपरम्परा र उज्यालोको माध्यमबाट साँस्कृतिक निरन्तरता, सामाजिक सद्भाव र आर्थिक गतिविधिलाई जीवन्त राख्न मद्दत पु¥याउँछ ।
पर्यावरण, समाज र पञ्चमहाभूत
तिहार अर्थात यमपञ्चकका ५ दिन प्रकृतिका विभिन्न ५ जीवन्ततालाई वा पन्छी, जनावर, घरपालुवा जनावर, पहाड र मानिसहरूको पूजा गरेर मनाइने यो पर्व केवल बलिराजा र यमराज जस्ता अदृश्य लौकिक शक्तिहरूमा मात्र सीमित छैन । तिनमा जोडिएको समाजशास्त्रीय दृष्टिकोणबाट हेरिनु आजको आवश्यकता रहेको पाइन्छ । आजको वैज्ञानिक युगले लौकिक र लोकविश्वास तथा लोकपरम्परामा भन्दा पनि प्रत्यक्षतामा बढी विश्वास राख्दछ । यस्ता लौकिक मान्यताहरू केवल सीमित समयका लागि मात्र हुन्छन् । आजको वैश्य युगमा अर्थतन्त्र र आर्थिक उन्नतिलाई मात्र मान्ने भएकाले पनि लौकिक र लोकविश्वासहरू केवल अध्ययनका लागि मात्र हुन् भन्ने हुँदै गएको छ । तथापि, समाजमा हरेक प्राणीको उत्तिकै अस्तित्व रहेको हुन्छ । कागको पूजाले हाम्रो समाज र प्रकृतिको, कुकुरको पूजाले घरको सुरक्षामा खट्ने प्राणीको अस्तित्वको, र गाईको पूजाले गाईधनको प्रतीक वा सम्पत्ति लक्ष्मी तथा त्यसको मलमूत्र पवित्र हुने कुराको सन्देश दिन्छ । गोवर्धन, हलुगोरू र पहाडको पूजाले प्रकृति वा विपत्तिबाट जोगाउने पर्यावरणको र भाइ (मान्छे) जसको अन्त्यमा पूजा गरिन्छ, उही प्रकृतिको संरक्षक हो भन्ने प्रतीकात्मक सन्देश जान्छ । यसका साथै, यमपञ्चकका ५ दिनलाई ‘पञ्चमहाभूत‘ को प्रतीकका रूपमा समेत अथ्र्याउन सकिन्छ । आकाश तत्वः काग आकाशमा उड्ने भएकाले, वायु तत्वः कुकुरको सुँघ्ने क्षमता अधिक हुने भएकाले, अग्नि तत्वः गाईको पूजा गर्दा दीप प्रज्ज्वलित गरिने र सोही दिन दीपमालिका गरिने भएकाले, पृथ्वी तत्वः गोवर्धन (पहाड र माटो) भएकाले, जल तत्वः यमुना (नदी) र यमराजलाई सम्झिएर हालिने तेलको धारा जलसँग सम्बन्धित भएकाले ।
नेवारी लोक संस्कृतिमा, म्ह पूजा र नेपाल सम्बत
नेपालको रैथाने नेवार समुदायमा मनाइने ‘म्ह पूजा‘ र यसै पर्वबाट सुरु हुने ‘नेपाल सम्बत‘ नेपाली लोकसंस्कृतिका अद्वितीय र विश्वकै लागि अनुकरणीय सांस्कृतिक पहिचान हुन् । संसारका अन्य कुनै पनि संस्कृतिमा नभेटिने आफ्नै शरीर, चेतना र ‘स्व‘ (आत्मा) को पूजा गरिने ‘म्ह पूजा‘ ले मानव शरीरलाई नै ईश्वरको जीवन्त मन्दिरका रूपमा स्वीकार गर्ने उच्च मानवशास्त्रीय दर्शन प्रकट गर्छ । यसै दिनबाट प्रारम्भ हुने ‘नेपाल सम्बत‘ कुनै राजा वा धार्मिक शासकको नाममा नभई जनताको ऋण मोचन गराएर देशकै नामबाट सुरु गरिएको विश्वकै एकमात्र मौलिक राष्ट्रिय संवत् हो, जुन नेपालको आफ्नै प्राचीन लिपि (रञ्जना, प्रचलित आदि) र समृद्ध नेपालभाषाको ऐतिहासिक आधारमा अगाडि बढेको छ । युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा (क्ष्लतबलनष्दभि ऋगतिगचब िज्भचष्तबनभ) को दृष्टिकोणबाट हेर्दा, जीवित लोक(परम्परा, मौलिक लिपि, भाषा, आत्म–सम्मानको दर्शन र सामाजिक न्यायको यो अभूतपूर्व सङ्गम केवल एउटा समुदायको अभ्यास मात्र नभई सम्पूर्ण नेपालको अमूल्य लेकसांस्कृतिक धरोहर हो । यसरी म्हः पूजाको आत्म–पूजा दर्शन र नेपाल सम्बतको स्वाभिमानले तिहारलाई शास्त्रीयरूपमा मात्र नभएर विविधतायुक्त, बहुभाषिक र विश्वव्यापी रूपमा गौरव गर्न योग्य नेपाली पहिचानका रूपमा स्थापित गरेका छन् ।
लोकसंस्कृतिको पौराणिक र ऐतिहासिक आधार
लोकसंस्कृति कुनै वैज्ञानिक, तर्कशास्त्री वा सैद्धान्तिक व्याख्याकारले कोठामा बसेर प्रतिपादन गरेको मूर्त सिद्धान्त नभई लोकसमुदायबाटै जीवन्त र प्राकृतिक रूपमा सञ्चालित सामान्य मानवको मौलिक जीवनशैली हो, जुन पुस्तान्तरण हुँदै आजसम्म निरन्तर प्रचलित रहँदै आएको छ । लोकबोली र जनजीवनमा जरा गाडेका यिनै मौलिक मान्यताहरूले नै आजको मानव जगत्लाई सांस्कृतिक जीवन्तता प्रदान गरेका छन्, जसलाई तिहारसँग जोडिएका विभिन्न पौराणिक तथा लोकतथ्यहरूबाट सहजै बुझ्न सकिन्छ। धार्मिक मान्यता अनुसार पाप र धर्मका राजा यमराजकी बहिनी यमुनाले आफ्ना भाइलाई काग र कुकुर जस्ता सन्देशवाहकहरू पठाई निमन्त्रणा गरेर, पाँचौँ दिनमा कामबाट फुर्सद निकालेर आएपछि कहिल्यै नसुकने तेलको घेरा, सूर्यको पहिलो किरणको प्रतीक सप्तरङ्गी टीका र कहिल्यै नओइलाउने मखमली फूलको माला पहिराएर पूजा गरेको पौराणिक लोकविश्वास नै आजको भाइटीका परम्पराको मूल आधार बनेको हो ।
त्यसैगरी, महादानी बलिराजाले वामनरूपी नारायणलाई तीन पाउ जमिन दान दिने संकल्प गर्दा आफ्नै टाउको सुम्पिएर पाताल भासिएको र नारायणले वरदान दिँदा बलिराजाले उहाँको वचन पूरा गरेको खुसीयालीमा उक्त शुभ समाचार सर्वसाधारण समक्ष पु¥याउन देउसी–भैलो र मङ्गल गीतको माध्यमबाट सन्देश प्रवाह गर्ने परम्पराको सुरुवात भई आजसम्म निरन्तर चलिआएको पाइन्छ । यसका साथै, इन्द्र महाराजको पूजा गर्ने ब्रजवासी (गोवर्धनका पर्वत र बृन्दाबन आसपास बसोबास गर्ने स्थानीयहरू) हरूलाई भगवान् श्रीकृष्णले सधैँ मानव जीवनलाई प्राकृतिक उपहार र जीवनदायिनी शक्ति प्रदान गर्ने गोवर्धन पर्वतको पूजा गर्ने सल्लाह दिएपछि प्रकृतिको पूजकका रूपमा व्यक्ती (इन्द्रदेव) के सट्टामा गोवर्धन पूजाको परम्परा स्थापित भएको हो । यसरी यी सबै तत्कालीन लोकजीवनबाट पुस्तान्तरण हुँदै आएका लोकसंस्कृति र लोकपरम्परा हुन् । यी सम्पूर्ण लोककथा र पौराणिक प्रसङ्गहरूले तिहारलाई केवल एउटा पर्वमा मात्र सीमित नराखी मानव, प्रकृति र पौराणिक चेतनाबिचको जीवन्त सम्बन्धका रूपमा स्थापित गरेका छन् ।
लोक–अर्थशास्त्रीय दृष्टिकोण
तिहारमा विशेषगरी धनधान्यकी अधिष्ठात्री देवी लक्ष्मी र धनसम्पत्तिको पूजा गरिनुको सोझो सम्बन्ध अर्थशास्त्रको चलायमान र गतिशील प्रणालीसँग रहेको हुन्छ । त्यसैले तिहारलाई लोक(बजार र लोक(अर्थशास्त्रीय दृष्टिकोणबाट पनि विश्लेषण गरिएन भने यो पर्वको व्यावहारिक र भौतिक महत्व ओझेलमा पर्न सक्छ । धार्मिक रूपमा लक्ष्मी र सम्पत्ति परिपूरक मानिए जस्तै व्यावहारिक जीवनमा यस पर्वले स्थानीय लोक–बजारको चक्रलाई गतिशील बनाउन ठूलो भूमिका खेल्छ । यसले ठूला व्यापारिक घराना वा बृहत् राष्ट्रिय अर्थतन्त्रलाई मात्र नभई विशेष गरी साना, ग्रामीण र घरेलु लघु–अर्थतन्त्रलाई प्रत्यक्ष चलायमान बनाउँछ ।
स्थानीय र मौलिक उत्पादनहरू उत्पादकबाट सिधै उपभोक्तासम्म पहुँच पु¥याउने यो एउटा जीवन्त लोक–बजारको उत्कृष्ट भूमिका समेत यो पर्वसँग जोडिन्छ । उदाहरणका लागिः सयपत्री र मखमली फूलको व्यावसायिक खेती, स्थानीय कालिगढले बनाएका माटाका दिया, बिमिरा, भोगटे, हलुवावेद, कटुस जस्ता मौसमी कृषि उपज, ग्रामीण महिलाका सिपमा आधारित सालका पातका दुना–टपरी, कपासका बत्ती, घरमै बनाइने सेलरोटी तथा परिकार, तामा–पित्तलका भाँडाकुँडा र प्राकृतिक अम्रिसोको कुचो जस्ता घरेलु तथा लघु–उत्पादनहरूको बजारीकरणले साना उत्पादक, कृषक र ग्रामीण महिलाहरूको हातमा सिधै नगद पु¥याएर स्थानीय क्रयशक्ति बढाउँछ । यसका साथै, देउसी–भैलो खेलेर सङ्कलन गरिने रकमबाट चौतारा, बाटोघाटो निर्माण, खानेपानी व्यवस्थापन तथा युवा क्लब वा विद्यालय सञ्चालन जस्ता सामाजिक कल्याणका कामहरू गरिनुले यसले अर्थतन्त्रको पुनर्वितरण र सामाजिक पुङ्जी निर्माणमा समेत अतुलनीय योगदान र्पुयाउँछ । तसर्थ, तिहार केवल साँस्कृतिक र धार्मिक पर्व मात्र नभई साना उत्पादक, स्थानीय बजार र ग्रामीण जनजीवनलाई आर्थिक रूपमा आत्मनिर्भर र सबल बनाउने नेपाली लोक–अर्थतन्त्रको बलियो मेरुदण्ड हो ।
लैङ्गिक तथा नारीवादी समाजशास्त्रीय दृष्टिकोण
समाजशास्त्रीय र लैङ्गिक दृष्टिकोणबाट विश्लेषण गर्दा तिहार पर्व मुख्य गरी नारीपूज्य र नारी शक्तिको नेतृत्वमा सञ्चालित एक विशिष्ट लोक–पर्व हो । सामान्य बोलीचालीमा यसलाई ‘भाइटीका‘ भनेर पितृसत्तात्मक नाम दिइए तापनि यसको अन्तर्य, मूल मर्म र सम्पूर्ण विधि दिदीबहिनीप्रधान रहेको हुन्छ । विवाह भई अर्कै घर–परिवारमा गएका चेलीबेटी र माइतीपक्षबिचको सामाजिक तथा भावनात्मक सम्बन्धलाई पुनर्जाग्रत, नवीकरण र प्रगाढ बनाउने यो एउटा बलियो सामाजिक संयन्त्र (क्यअष्ब िःभअजबलष्कm) हो । यस पर्वमा समृद्धि र धनकी देवी लक्ष्मी, जीवनदायिनी गाई र जन्मघर फर्किएका चेलीबेटीहरूको सम्मानपूर्वक गरिने स्वागत तथा श्रद्धाले नेपाली लोकसंस्कृतिमा नारी शक्तिको केन्द्रीयता र सर्वोच्चतालाई स्पष्ट पार्छ ।
नारीवादी अर्थ(समाजशास्त्रका अनुसार, तिहारले महिलाको घरभित्रको अदृश्य र अनौपचारिक श्रमलाई सामाजिक र सांस्कृतिक रूपमा उच्च मान्यता प्रदान गर्दछ । पर्वका क्रममा घर(आँगनको सरसफाइ र लिपेपोत गर्ने, दीपमालिका सजाउने, सयपत्री र मखमलीका माला उन्ने, कपासका बत्ती बाट्नेदेखि सेलरोटी लगायतका विविध मौलिक पकवानहरू तयार पार्नेसम्मका सम्पूर्ण सांस्कृतिक, भौतिक र व्यवस्थापकीय गतिविधिहरू महिलाहरूकै प्रत्यक्ष नेतृत्व र अगुवाइमा सम्पन्न हुन्छन् । भाइटीकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई रक्षाकवचका रूपमा तेलको घेरा हाल्ने, सप्तरङ्गी टीका लगाउने र दीर्घायूको आशीर्वाद दिने अनुष्ठानले महिलालाई घरपरिवारको संरक्षक र मूल अनुष्ठानकर्ता (एचष्mबचथ च्ष्तगब िब्नभलत) को दर्जा दिन्छ । यसरी सांस्कृतिक, सामाजिक, आर्थिक र पारिवारिक जीवनका हरेक तहमा महिलालाई मुख्यकर्ता, व्यवस्थापक र संरक्षकका रूपमा स्थापित गर्ने भएकाले लोक–समाजशास्त्रीय र लैङ्गिक दृष्टिले तिहारलाई एक सशक्त ‘नारीवादी लोक–पर्व‘ का रूपमा स्वीकार गर्न सकिन्छ ।
आधुनिकताको चुनौती, विकृति र मौलिकताको संरक्षण
आधुनिकताको तीव्र प्रभाव र उपभोक्तावादी जीवनशैलीका कारण हाम्रा मौलिक लोकसंस्कृति र परम्पराहरू दिनानुदिन कमजोर र भत्किँदै गइरहेका छन् । पुस्तान्तरण हुँदै सहज रूपमा हस्तान्तरण हुनुपर्ने लोकपरम्पराको मौलिक रौनक आज अत्यधिक व्यावसायिकता र कृतिमताको चेपुवामा परेको छ । यसको प्रत्यक्ष प्रभाव तिहार पर्वमा पनि प्रष्ट देखिन थालेको छ । प्राकृतिक सयपत्री, मखमली र गोदावरी फूलका मालाको सट्टा आयातित प्लास्टिकका मालाको प्रयोग बढ्नुस नयाँ धानको चामलबाट बन्ने सेलरोटी र अनरसा जस्ता मौलिक परिकारहरू ओझेल पर्दै आयातित रेडिमेड सामग्रीले प्रश्रय पाउनुस मादल, झ्याली र मुजुराको तालमा गाइने परम्परागत देउसी(भैलो तथा मङ्गल गीतहरूको सट्टा डिजे स्पिकरमा पप वा हिन्दी सिनेमाका गीतहरू घन्काइनुले तिहारको मौलिक आत्मामाथि नै प्रहार गरिरहेको छ । यसका साथै, मादक पदार्थको अत्यधिक सेवन र घरबार नै विहीन हुने गरी खेलिने जुवातास जस्ता सामाजिक विकृतिहरूले पर्वको सांस्कृतिक पवित्रतालाई धमिल्याएका छन् । बदलिएको जीवनशैली संग संगै देखासिखमा अनावश्यक खर्च गरेर तडकभडक सिहत मनाइने भड्किले कारणाले संस्कृतिक मर्याद राखेर मनाउने र न्यून अय भएर चाडकबाड मनाउन नसक्ने बर्गलाइ साच्चे मर्माहत बनाएको छ ।
यस्तो अवस्थामा लोकसंस्कृतिको मर्म जोगाउन बहुपक्षीय सजगता र प्रतिबद्धताको खाँचो दिखन्छ । राज्यका निकायहरूले मौलिक रैथाने उत्पादन (सयपत्री फूल, माटाका दिया, अम्रिसो) को प्रवद्र्धन गर्दै प्लास्टिकका माला र अस्वस्थ आयातित सामग्रीमाथि कडाईका साथ नियमन गर्नुपर्छ । त्यसैगरी, स्थानीय तह र सामुदायिक सङ्घ(संस्थाहरूले मौलिक देउसी(भैलो, परम्परागत बाजा र सांस्कृतिक झाँकीहरूको संरक्षण तथा प्रतियोगिता सञ्चालन गरी नयाँ पुस्तालाई आफ्नो पहिचानतर्फ आकर्षित गराउनु पर्छ । सर्वाेपरि, हरेक नागरिक तथा संस्कृतिप्रेमीहरूले आफ्नै घर–आँगनबाट विकृतिहरूलाई निरुत्साहित गर्दै तिहारलाई सभ्य, मौलिक र पर्यावरणमैत्री रूपमा मनाउनु पर्छ । समयको रूपान्तरणसँगै पर्व मनाउने शैली परिमार्जित भए तापनि यसको ऐतिहासिक, समाजशास्त्रीय र अर्थशास्त्रीय अन्तर्यलाई जोगाएर भावी पुस्तामा जीवन्त रूपमा हस्तान्तरण गर्नु हामी सबैको साझा दायित्व हो ।









