केदार कोइराला
परिचय नेपालको राजधानी काठमाण्डौबाट ३० कि.मि पूर्व रहेको पहाडी जिल्ला काभ्रेपलाञ्चोक महाभारत श्रृंखलाको उत्तरी भागमा अवस्थित छ । समुन्द्र सतहबाट ३५०मिटर (दोलालघाट) बाट ३०१८ (वेथान्चोक नारायण डाँडा) सम्मको उचाईमा रहेको यस जिल्लाको भौगोलिक अवस्थित ८५.२४ देखि ८५.४९ पूर्वी देशान्तर र २७रुरुरुरु० २०० देखी २७० ८५० उत्तरी अक्षांशका बीच रहेको छ । यस जिल्लाको पूर्वमा रामेछाप र दोलखा, उत्तरमा सिन्धुपाल्चोक, पश्चिममा काठमाण्डौ, ललितपुर र भक्तपुर, दक्षिणमा सिन्धुली र मकवानपुर जिल्ला पर्दछन् ।
नेपाल अधिराज्यलाई १४ अंचल ७५ जिल्लामा प्रशासनिक विभाजन गर्नु अगाडी पूर्व १ नं अन्र्तगत पर्ने यो जिल्लाका २८ वटा मौजाहरु मध्ये काभ्रे र पलाञ्चोक नामका दुई ठूला मौजा समेटिएको यस जिल्लामा साविक ८७ गा.वि.स र ३वटा नगरपालिका (वनेपा, धुलिखेल र पनौती) रहेका थिए । हाल ६ नगरपालिका र ७ गाँउपालिका गरि १३ स्थानीयतह रहेको छ । मुलतः पहाडी विकटता, अशिक्षा, पछौटेपन र गरीबीका कारण पिछडिएको काभ्रेपलाञ्चोक जिल्ला, राजनीतिक रुपमा भने यसले आफ्नो स्थानलाई विगतमा उँचो राखेको पाईन्छ । पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्नुपूर्व विभिन्न राजा रजौटाहरुले राज्य गरेको यस जिल्लाले साम्राज्यवाद विरोधी आन्दोलनमा समेत आफ्नो सहभागिता देखाएको पाइन्छ भने भाषा पाठशालाका माध्यमले नागरिक अधिकारको चेतनासमेत अघि बढेको पाइन्छ । काभ्रेपलाञ्चोक जिल्लाको राजनितिक परिदृश्यलाई कालखण्डमा राखेर हेर्दा यसका निम्नलिखित चरणहरु देखिन्छ ।
(क) प्रथम चरण (एकीकरणदेखि वि.सं २००७ सम्म)
(ख) दोस्रो चरण (वि.सं २००७ देखी वि.सं २०१७ सम्म)
(ग) तेस्रो चरण (वि.सं २०१७ देखी वि.सं २०४६सम्म)
(घ) चौथो चरण (वि.सं २०४६ देखी वि.सं २०६१÷६२ सम्म)
(ङ) पाँचौ चरण (वि.सं २०६२÷२०६३ देखि हालसम्म)
(क) प्रथम चरण (एकीकरणदेखि वि.सं २००७ सम्म)
गोरखाका राजा पृथ्वीनारायणशाहले नेपाल एकीकरण गर्नका लागि काभ्रेपलाञ्चोक जिल्लाका किल्लाहरु कब्जा गर्न कठिन परिश्रम गर्नुपरेको थियो । खासगरी पलाञ्चोक किल्ला,तिमाल किल्ला, नाल्दुम, महादेव पोखरी किल्ला र पनौती किल्लाहरुमा विशेष मेहनत गर्नुपरेको थियो । ई.सं.१७५४ मा कालुपाँडेको नेतृत्वमा महादेव पोखरी र नाल्दुममाथिको आक्रमणका विरुद्धको प्रतिरोध उल्लेखनीय छ । वि.सं.१८१६ सम्ममा पृथ्वीनारायण शाहले काभ्रेपलाञ्चोकलाई आफ्नो कब्जामा लिईसकेको कुरा ऐतिहासिक तथ्यवाट थाहा पाईन्छ । राज्यको माथिल्लो तहमा काभ्रेली सहभागितालाई हेर्दा वि.सं १८१४–१६ को सुगौलि सन्धि नेपालका तर्फवाट चन्द्रशेखर दाहाल उपाध्यायको सहभागिता रहेको पाईन्छ । एकिकृत नेपालको राजनितीक कलह, दाउपेच र षड्यन्त्रको शिकारबाट काभ्रे पनि मुुुुुुुक्त थिएन । खासगरी वि.सं.१९०३ को कोतपर्वबाट शुरु भएको जहानियाँ राणाशासन विरुद्धको आन्दोलनमा रहेको काभ्रेली सहभागिता नै जनस्तरवाट राजनितीप्रति काभ्रेली जनताको सहभागिता मान्नुपर्दछ ।
राणा शासनको विरुद्ध नेपालकै ईतिहासमा प्रथमपटक वि.सं १९८५ मा स्थापित प्रचण्ड गोरखाले पनि यस जिल्लामा आफ्नो कार्यक्षेत्र बनाएको पाइन्छ भने वि.सं.१९९२ मा नेपाल प्रजा परिषदको गठन पश्चात् पनि यसका समर्थकहरुको क्रियाकलाप बढेको पाइन्छ । वि.सं.२००१ मा नेपाली राष्ट्रिय कांग्रेसको गठन र प्रभाव राण विरोधी आन्दोलनमा अनेकोटमा कृष्ण प्रसाद खतिवडा (जिल्लाका प्रथम बि.ऐ) वि.सं.१९८२ सालको पुस्तकालय पर्वमा हस्ताक्षर गरेवापत दण्डित भएका थिए भने सामाजिक र शैक्षिक जागरणको लागि वि.सं. १९९४ मा बनेपामा काठमाण्डौको महावीर स्कूलको शाखा गंगालाल श्रेष्ठद्वारा उद्घाटन भई स्थापना भएको थियो । राजनितीक शिक्षासमेत दिइने उक्त स्कूलमा गंगालाल, शुक्रराज, दशरथ चन्द, चिनियालाल, फत्तेबहादुर, गणेशबहादुर, इन्द्रमान आदि शिक्षक थिए । वि.सं.१९९७ सालको शहीद काण्डपछि यो स्कुल बन्द भएको थियो । त्यसपछि राजनीतिक गतिविधि बढाउन धेरै भाषा पाठशाला खोलिएको र त्यस समयमै राणा सरकारद्वारा हंशराज दुई पटक पक्राउमा परेको थिए । भूमिगत रुपमा सांगठनिक गतिविधिहरु, आश्रयस्थल र प्रशिक्षण केन्द्रसमेत काभ्रे जिल्लामा संचालित थिए ।
२००७ सालको क्रान्ति सफल पार्न यहाँका युवाहरु मुक्ति सेनामा समेत सामेल भई सिन्धुलीदेखि काठमाण्डौसम्म हातहतियार पु¥याउन सफल भएको पाइन्छ । प्रजातन्त्र प्राप्तिको लडाईमा काभ्रेली जनताको सहभागिता दिल्ली संझौता विरुद्धको अभियानले यहाँका जनता स्वतन्त्रताप्रेमी रहेको प्रष्ट पार्दछ । वि.सं.२००४ को अन्तरिम शासन विधान राणाहरुको प्रजातन्त्र प्राप्तिको लागि आतुर जनतालाई झुक्याउने चाल मात्र थियो भन्नेतर्फ पनि काभ्रेली जनतासचेत रहेको पनि प्रष्ट पार्दछ ।
(ख) दोस्रो चरण (वि.सं.२००७–२०१७ सम्म)
यो दशकलाई नेपाली राजनीतिक इतिहासमा अनेकौं उतार चढाव र अस्थिरताले भरिएको दशकका रुपमा हेर्न सकिन्छ । यस अवधिमा मात्र ७ पटक सरकारको फेरबदल र ३ खाले शासन विधान रहेको पाइन्छ । यसै अवधिमा नेपाल अन्तरिम शासन विधान २००७, नेपाल अधिराज्यको संविधान, २०१५ जारी भएको थियो । यसै अवधिमा अर्थात् २२ अप्रिल, १९४९ मा नेपाल कम्युनिष्ट पार्टीको जन्म भयो । यसपछि कम्युनिष्ट विचारको प्रचार गर्न पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी बनेपा, श्रीखण्डपुर, पनौती, खोपासी आएको पाइन्छ । नेपाली कांग्रेसले भने बनेपा–पनौती इलाकामा राम्रैसँग संगठन विस्तार गरेको पाइन्छ । यस अवधिमा राजनीतिक रुपमा निकै महत्वपूर्ण घटना घटेको पाइन्छ । राजा त्रिभुवनको ‘अब उप्रान्त हाम्रा प्रजाहरुको शासन उनीहरुले नै बनाएको विधान सभाबाट हुनेछ’ भन्ने घोषणाले तत्कालीन जनताको चाहना वास्तविक रुपमा सार्वभौम बन्ने थियो भन्ने बुझिन्छ । तर, वर्गीय राजनीतिको खेलमा शक्ति फेरि साम्राज्यवादका पक्षधरहरुकै हातमा रहन गयो ।
अन्तरिम रुपमा जारी गरिएको शासन विधान आपसी खिचातानी, कलह र दाउपेचका कारण लामो समय बहाल रह्यो । यस अवधिमा नेपालमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजा पार्टी, नेपाल कम्युनिष्ट पार्टी, नेपाल राष्ट्रवादी गोरखा दल (पछि गोरखा परिषद्), राष्ट्रिय जनराज्य परिषद्, संयुक्त प्रजातन्त्र पार्टी, नेपाल तराई कांग्रेस, नेपाल प्रजातान्त्रिक महासभा जस्ता पार्टीहरुको स्थापना र संगठन हुन थाल्यो । वि.सं.२००८ मा गठित मातृका कोइरालाको सरकारले नेकपामाथि प्रतिबन्ध लगायो । यस कालमा काभ्रेपलाञ्चोक जिल्लामा नेपाल प्रजा परिषद्, नेपाली कांग्रेस, नेपाली राष्ट्रिय कांग््रेस, राष्ट्रिय प्रजा पार्टी, नेपाल कम्युनिष्ट पार्टीहरुको संगठन र गतिविधि शुरु भयो । कम्युनिष्टहरुले आफ्नो गतिविधि संचालन गर्न पछि परेनन् । विद्यार्थी फेडरेशन मार्फत पनि गतिविधि संचालन भएको पाइन्छ । राजनीतिक रुपमा वि.सं.२००९ जेष्ठ १० को नेपाली कांग्रेरको जनकपुर अधिवेशन र वि.सं.२०१० माघमा पाटनमा भएको नेकपाको प्रथम महाधिवेशनमा काभ्रेपलाञ्चोक जिल्ला सहभागी भएको पाइन्छ ।यही महाधिवेशनमा काभ्रेका शैलेन्द्र कुमार उपाध्याय केन्द्रिय सदस्यमा निर्वाचित भई पछि पोलिटव्युरो सदस्यमा रहेका थिए । यस अलावा काभ्रेपलाञ्चोक जिल्लामा यस अवधिमा २०११ सालमा भएको बाढी पीडित जनताको पक्षमा राखिएको आन्दोलन, तमसुक र भरपाई आन्दोलन, गण्डक संझौता विरुद्धको आन्दोलन, २०१७ पौष १ को काण्डको विरुद्ध कालो झण्डा गाड्ने काम पनि भएको पाइन्छ ।
वि.सं.२०१५ सालको आम निर्वाचनमा विभाजित १०९ निर्वाचन क्षेत्रमध्ये ३ क्षेत्र (क्षेत्र नं.८, ९, १०) काभ्रे जिल्लामा पर्दथ्यो । यस निर्वाचनमा विभिन्न राजनीतिक दलका २७ जना उम्मेदवार निर्वाचनको मैदानमा खडा भए । विजयी पार्टी नेपाल राष्ट्रिय गोरखा परिषद् थियो भने त्यसको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेस थियो । गोरखा परिषद्का सुरेन्द्रप्रसाद उपाध्याय, तीर्थमान लामा र हर्कजीत लामाले यस जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित भएर प्रथम जनप्रतिनिधि हुने सौभाग्य प्राप्त गर्नुभयो । वि.सं.२०१५ को निर्वाचनमा राष्ट्रिय रुपमा नेपाली कांग्रेरले दुई तिहाई सिट ल्याउन सफल भएता पनि काभ्रेली जनताले दलगत प्रतिस्पर्धामा कांग्रेसलाई इन्कार गरेको देखिन्छ । यस अवधिमा कम्युनिष्ट पार्टी भने चोथो राजनीतिक शक्तिका रुपमा क्रियाशील थियो ।
(ग) तेस्रो चरण (वि.सं.२०१७–२०४६)
वि.सं.२०१७ पुस १ गते राजा महेन्द्रले तत्कलीन संविधानको धारा ५५ प्रयोग गरी मन्त्रिमण्डल र दुवै सदनहरु विघटन गरेपछि बहुदलीय राजनीतिक व्यवस्थाको अन्त्य भयो । जनता विरोधमा उत्रिए, तर सैनिक बलका आधारमा दबाइयो । वि.सं.२०१९ पौष १ गते पंचायती व्यवस्थामा आधारित नेपालको संविधान २०१९ जारी भयो । यसै अवधिमा राजा महेन्द्रले मुलुकी ऐन, भूमिसुधार, गाउँ पंचायत र नगर पंचायतको व्यवसथा गरे तापनि जनताको रोष भित्रभित्रै बढेको थियो र विभिन्न आन्दोलन मार्फत् ती कुराहरु उजागर हुने गर्दथे ।
निरंकुश पंचायती व्यवस्था विरुद्धका आन्दोलनहरु, वि.सं.२०२३ सालको सुस्तामाथिको भारतीय अतिक्रमण, वि.सं.२०२६ को पारबहन हक सम्बन्धमा भारत विरोधी जुलुस, २०२८ को भापा विद्रोह, विद्यार्थी संगठन अखिल र नेविसंघको गठन आदिले काभ्रे जिल्लामा राम्रैसँग प्रभाव पारेको पाइन्छ । यस अवधिमा काभघ्रेमा ३ खाले राजनीतिक विचार रहेको पाइन्छ, पंचायत समर्थन, काभ्रेस समर्थक र कम्युनिष्ट समर्थक । पंचायत समर्थकहरु सत्ताको आडमा बढी चहल पहल गर्दथे भने नेका तदर्थ वादमै सीमित थियो । नेकपा टुटफुट र चरम गुटबन्दीको शिकार बनेको पाइन्छ । वि.सं.२०३१ पछि नेकपाको गतिविधिले काभ्रेमा तीव्रता लिएको पाइन्छ । सो समयमा नेकपा (चौ.म.)को प्रभाव काभ्रे जिल्लामा बढेको पाइन्छ । नेपाली कम्युनिष्ट आन्दोलनमै टुटफुट, विग्रह र विचलनका विरुद्ध स्पष्ट दिशाबोध गर्दै वि.सं.२०३५ मा स्थापित नेकपा (माले) ले काभ्रेमा क्रमशः आफ्नो प्रभाव विस्तार गरेको पाइन्छ । वि.सं.२०३६ को विद्यार्थी आन्दोलन, २०३७ को जनमत संग्रह, २०३८ को शिक्षक आन्दोलन, वि.सं.२०४२ को सत्याग्रह, २०४३ को जनपक्षीय चुनावी हस्तक्षेप जसमा नेकपा मालेले कृष्ण प्रसाद सापकोटा र ने.क.पा.चौ.म.ले कमान सिंह लामालाई उम्मेदवार बनाएको थियो । जि.पं.मा जनपक्षीय हस्तक्षेप गरि सभापतिमा कृष्ण प्रसाद सापकोटा र उप सभापतिमा देवराज लामालाई तथा विभिन्न जनवर्गिय संगठनमा कर्म सिंह लामा, कुलचन्द्र अधिकारी र पुन्य प्रसाद दाहाललाई जनपक्षिय उम्मेद्धार बनाएको थियो ।
स्थानीय पंचायती चुनावमा नेकपा र नेकाले भाग लिने क्रियाकलापले वि.सं.२०४६ सम्म आइपुग्दा पंचायत विरोधी सशक्त जनमत काभ्रेमा स्थापित भइसकेको थियो । वि.सं.२०४६ को जन आान्दोलनमा योजनावद्ध रुपले खासगरी नेकपा (माले)का कार्यकर्ता, जनवर्गीय संगठनका कार्यकर्ताहरुको सहभागिता उल्लेखनीय पाइन्छ । पञ्चायत कालको वि.संं २०३८ सालको पहिलो प्रत्यक्ष राष्ट्रिय पञ्चायत चुनावमा रा.पं स. मा सत्यमान लामा र गोबिन्दनाथ उप्रेति निर्वाचित भए भने वि.सं. २०४३ को रा.पं.स.मा सत्यमान लामा र शैलेन्द्र कुमार उपाध्याय निर्वाचित भएका थिए । वि.सं.२०४६ सालसम्म आइपुग्दा काभ्रेमा नेका, नेकपा (माले), नेकपा (चा.ैम.), नेकपा (मशाल), नेकपा (संयुक्त) आदि राजनीतिक दल क्रियाशील रहेको पाइन्छ । नेकपा (मशाल) बाहेकका अन्य राजनीतिक दलहरु जनआन्दोलनमा प्रत्यक्ष सहभागी भएको पाइन्छ । जिल्लाका शहरी इलाकामा मात्रै होइन, ग्रामीण इलाकामा समेत पंचायती विरोधी जनमत तयार भएको र आन्दोलनले ग्रामीण इलाकालाई राम्रो सँग प्रभाव पारेको पाइन्छ । त्यसबेला संयुक्त वाममोर्चाको जिल्लास्तरीय कमिटी गणेशदास उलकको नेतृत्वमा गठन भएको थियो । उक्त कमिटीमा सदस्यहरु – शिव बहादुर देउजा, कृष्ण प्रसाद सापकोटा, धर्म श्रेष्ठ, देवराज लामा, माधव अधिकारी, विदुर सापकोटा, नारायण पाण्डे, शिला कतिला हुनु हुन्थ्यो ।
(घ) चौथो चरण अर्थात बहुदलकाल (वि.सं.२०४६ देखि २०६२÷२०६३ सालसम्म)
वि.सं.२०४६ सालको जनआन्दोलन पछि बहुदलीय व्यवस्थाको खुकुलो राजनीतिक वातावरणमा काभ्रेमा नेकपा (माले), नेका, नेकपा (एकता केन्द्र), सं.ज.मो.नेपाल, नेकपा (संयुक्त) र राप्रपा (थापा र चन्द) जस्ता राजनीतिक दलहरुले आफ्नो राजनीतिक कार्यक्रम, नीति, सिद्धान्तका बारेमा जनतामा प्रभाव पार्न थाले । यस अभियानमा कार्यकर्तामा आधारित र लेनिनवादी संगठनात्मक स्वरुपमा आधारित नेकपा (माले) अग्रपंक्तिमा, त्यसपछि नेका, राप्रपा र संजमो नेपाल थिए । वि.सं.२०४७ कार्तिक २३ गते जारी गरिएको नेपाल अधिराज्यको संविधान, २०४७ का आधारमा २०५ क्षेत्रमध्ये ४ क्षेत्रमा काभ्रे जिल्लालाई बाँडिएको थियो । प्रथम आम निर्वाचनमा काभ्रेबाट क्रमशः कमानसिंह लामा, संजमो क्षेत्र नं.१, शिववहादुर देउजा नेकपा (एमाले) क्षेत्र नं.२, केशवप्रसाद वडाल नेकपा एमाले क्षेत्र नम्वर ३ र गोविन्दनाथ उप्रेती नेकपा (एमाले) क्षेत्र नं.४ लाई अत्यधिक बहुमतले काभ्रेली जनताले विजयी गराए । प्रतिद्वन्दी नेका र राप्रपा तेस्रो शक्तिका रुपमा रह्यो ।
वि.सं.२०४९ को स्थानीय निर्वाचनमा पनि नेकपा (एमाले) ले यस जिल्लामा अग्रता हासिल ग¥यो । जिल्लाको कूल ९३ गाविस र २१ नगरपालिकाका कूल १०४७ सिटमध्ये नेकपा (एमाले) ले ३७५ सिट, नेकाले ३६७ सिट, संजमोले १५२ सिट, राप्रपाले १०३ सिट र स्वतन्त्र ४९ सिटमा एमाले सभापति समेत ५ सिट, संजमो उप सभापति समेत २ सिट, नेका सदस्य मात्र ७ सिट र राप्रपा सदस्य मात्र ३ सिटमा विजयी भएका थिए । वि.सं २०४८ को प्रतिनिधि सभाको निर्वाचनमा प्राप्त मतलाई हेर्दा नेकपा (एमाले)ले कुल मतको ४८.०७ प्रतिशत,नेकाले २४.६१ प्रतिशत र राप्रपाले २०.७७ प्रतिशत मत प्राप्त गरेको देखिन्छ भने वि.सं २०४९ को स्थानीय निर्वाचनको मतलाई प्रतिशतमा हेर्दा नेकपा (एमाले) ले ३५.८२ प्रतिशत, नेकाले ३५.१५ प्रतिशत मत प्राप्त गरे भने संजमोलाई १४.५२ प्रतिशत, राप्रपालाई ९.८४ प्रतिशत र अन्य स्वतन्त्र उम्मेद्धारलाई ४.८ प्रतिशत मत गएको देखिन्छ । यी दुई निर्वाचनलाई विश्लेषण गरेर हेर्ने हो भने पनि काभ्रेपलाञ्चोक जिल्लमा नेकपा (एमाले) अग्रस्थानमा रहेको पाईन्छ । वि.सं २०५१ को मध्यावधी निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लाका तीनवटै निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट नेकपा एमालेले शानदार विजय हासिल ग¥यो । क्षेत्र नम्वर १ मा शिवबहादुर देउवा क्षेत्र नम्वर २ मा केशव बडाल र क्षेत्र नम्वर ३ मा गोविन्दनाथ उप्रेती निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्दीमा राप्रपा (क्षेत्र नं १) र नेका (क्षेत्र नं २ र ३) रहेको छन् । जसमा काभ्रेमा राजनितिक गतिविधी र जनमतका हिसावले यस अवधिमा नेकपा एमाले) काभ्रेली जनताको माझ जिवन्त रहेको देखिन्छ । वि.सं २०५४ को स्थानीय निर्वाचनमा त यस पार्टीलाई काभ्रेली जनताले अभूतपूर्व समर्थन गरे ।
वि.सं २०५६ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा काभ्रे जिल्लामा तिन वटा निर्वाचन क्षेत्र भई क्षेत्र नं १– शिब बहादुर देउजा(नेकपा एमाले), क्षेत्र नं २– शिव प्रसाद हुमागाँइ(नेपाली कांग्रेस) क्षेत्र नं ३– राजेन्द्र खरेल (नेपाली कांग्रेस)ले विजय हासिल गरेका थिए ।लामो समय पछि यो अवधिमा नेपाली कांग्रेसले काभ्रेपलाञ्चोक जिल्लामा पहिलोपटक निर्वाचनमा विजय हासिल गरेको थियो । कांग्रेसीजनमा लालकिल्ला तोडेकोमा गौरब अनुभूति गरेको पाईन्थ्यो । वि.सं २०६२÷०६३को जन आन्दोलन पछि भएको संविधान सभा निर्वाचन,२०६४को निर्वाचनमा चारवटा निर्वाचन क्षेत्र भई क्षेत्र नं १बाट सूर्यमान दोङ(नेकपा माओवादी), क्षेत्र नं २बाट अकल बहादुर थिङ (नेकपा माओवादी),क्षेत्र नं ३बाट कृष्ण प्रसाद सापकोटा(नेकपा एमाले)र तेजवहादुर मिजार(नेकपा माओवादी)निर्वाचित भएका थिए त्यस्तै संविधान सभा निर्वाचन २०७०मा भएको निर्वाचनमा क्षेत्र नं १बाट ,–तिर्थ ब लामा(ने.का.),क्षेत्र नं २बाट रामहरी सुवेदी(नेकपा एमाले),क्षेत्र नं ३बाट कन्चन चन्द्र बादे(नेका) रक्षेत्र नं ४बाट विदुर प्रसाद सापकोटा(नेकपा एमाले)निर्वाचित भएका थिए ।यो अवधिमा नेकपा माओवादी र नेपाली कांग्रेसले काभ्रेपलाञ्चोक जिल्लामा आफ्नो वर्चश्व कायम गरेको देखिन्छ ।
नेपालको संविधान २०७२जारी भएपछिका पहिलो प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेजिल्ला लाई दुई वटा संघिय निर्वाचन क्षेत्र र चारवटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रमा छुट्याईएको थियो वि.सं २०७४मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचन तर्फ क्षेत्र नं १बाट गंगा बहादुर दोङ(नेकपा माओवादी), क्षेत्र नं २ बाट गोकुल प्रसाद बाँस्कोटा(नेकपा एमाले) निर्वाचित भए भने वागमति प्रदेश सभा सदस्य निर्वाचन तर्फ क्षेत्र नं १को(१)बाट रत्न प्रसाद ढकाल(नेकपा माओवादी), क्षेत्र नं १को (२)बाट चन्द्र बहादुर लामा(नेकपा एमाले), क्षेत्र नं २को (१)बाट बसुन्धरा हुमागाँई(नेकपा एमाले) र क्षेत्र नं२का(२)बाट लक्ष्मण लम्साल (नेकपा एमाले) प्रदेशसभा सदस्यमा निर्वचित भएर काभ्रेजिल्लालाई पुनः लाल किल्ला कायम गरेको थियो ।यो निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धन थियो ।
वि.सं२०७९को निर्वाचनमा नेपाली कांग्रस र नेकपा माओवादी केन्द्र र नेकपा एमाले बाट फुटेको नेकपा (ए.स.)को गठबन्धन भई प्रतिनिधि सभा सदस्य निर्वाचनमा संघ तर्फ क्षेत्र नं १मा सूर्यमानदोङ(नेकपा माओवादी) विजयभए भने क्षेत्र नं २मा गठबन्धन विरुद्ध गोकुल प्रसाद बास्कोटा(नेकपा एमाले) विजयी भए ।यो निर्वाचनमा गठबन्धन विरुद्ध नेकपा एमाले एक्लै निर्वाचनमा प्रतिस्पर्धा गरेको थियो । प्रदेश सभा तर्फ भने वागमति प्रदेश सभा सदस्य निर्वाचन तर्फ क्षेत्र नं १को(१)बाट रत्न प्रसाद ढकाल(नेकपा माओवादी), क्षेत्र नं १को (२)बाट तिर्थ बहादुर लामा(ने.का.),क्षेत्र नं २को (१) बाट कञ्चन चन्द्र वादे(ने.का.) र क्षेत्र नं२ को (२)बाट लक्ष्मण लम्साल (नेकपा ए.स.) निर्वाचित भए ।
संविधान जारी भए पश्चातको पहिलो स्थानीय तह निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लालाई १३वटा पालिकामा विभाजन गरिएको थियो जस मध्ये ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन् ।वि.सं२०७४का स्थानियतह निर्वाचनमा १३वटा पालिका मध्ये नेकपा एमालेले ५वटा नगरपालिका र दुईवटा गाउँपालिका, नेकपा माओवादी केन्द्रले दूईवटा गाउँपालिका र नेपाली कांग्रसले १ नगरपालिका र ३वटा गाउँपालिकामा आफ्नो वर्चस्व कायम गरेको पाईन्छ । वि.स २०७९सालको स्थानियतह निर्वाचनमा नेपाली कांग्े्रस र नेकपा माओवादी केन्द्र र (नेकपा एमाले) बाट फुटेको नेकपा (ए.स.)को गठबन्धन भई नेकपा एमाले एक्लै निर्वाचनमा प्रतिस्पर्धा गरेको थियो ।यस निर्वाचनमा नेकपा एमालेले १३ पालिका मध्ये १ नगरपालिकामा मात्र मेयर विजयी भयो भने ३वटा नगरपालिकामा उपमेयर निर्वाचित भए । नेपाली कांग्रेसबाट ४वटा नगरमा मेयर र १वटामा उपमेयर निर्वाचित भए भने गाउँपालिका तर्फ ४वटा पालिकामा अध्यक्ष सहित बहुमत हासिल गर्यो ।नेकपा माओवादी केन्द्रले ३ वटा गाँउ पालिकामा अध्यक्ष सहित बहुमत हासिल गरेको छ भने (नेकपा एमाले) बाट फुटेको नेकपा (ए.स.)ले १ नगरपालिकामा प्रमुख पद जितेको छ ।
उपलब्धि र चुनौतीः
बहुदल र गणतन्त्रकालमा भौतिक पूर्वाधारहरु सडक, पुल पुलेसा, संचार, विधुतिय उर्जा जस्ता क्षेत्रहरुमा प्रशस्त परिवर्तन आएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता विषयहरुले समेत प्राथमिकता पाएकोछ । सामाजिक तथा राजनैतिक चेतनाको तिब्रतर बृद्धि भएको देखिन्छ व्यावसायिक कृषि प्रणालीको विकास भई दुध र तरकारीमा निर्यात गर्न सक्षम भएको देखिन्छ । तथापी युवाहरु शिक्षा तथा रोजगारीको खोजीमा विदेशीने क्रमले जिललाका गाँउघरहरु युवा विहिन वन्न पुगेका छन् ।आत्मनिर्भर अर्थतन्त्रको विकास नहुनाले युवाहरु अध्ययन र रोजगारीका लागि विदेशपलायन यस जिल्लाको चुनौतिको रुपमा रहेको छ । गुणस्तरिय व्यावसायिक सिपमूलक शिक्षको अभावमा गुणस्तरयुक्त जनशक्तिको निर्माणहुन सकेको छैन । यसले केवल तथाकथित शैक्षिक बेरोजगारको बृद्धिमात्रै गरेको देखिन्छ ।
काभ्रेपलाञ्चोक जिल्लामा समयक्रममा राजनैतिक शक्ति सन्तुलनमा फेरवदल आएको देखिन्छ । राजनैतिक शक्ति सन्तुलनका दृष्टिले आज पनि नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्लामा अग्रस्थानमा छ तथापी यस पार्टी भित्र सामुहिकता कम हुँदै गएको र अवसरवाद हावी हुँदै गएको देखिन्छ । वि.सं २०५४ र २०७६ को फुटले पार्टी भित्र ठूलो धक्का लागे पछि पुरानो पुस्ता निष्क्रिय बन्दै जानु नयाँ पुस्ता अवसरको खोजीमा लाग्ने संगठन निर्माण र पद्धति बसाल्ने भन्दा व्यक्तिवाद र मपाँइवाद हावीभई सांगठनिक अराजकता, तत्काल अवसरको खोजी गरि अधैर्य बन्ने तथा दोहोरो मापदण्ड र द्वैध चरित्र देखा पर्नाले नयाँ पुस्ताको राजनिति प्रति वितृष्णा पैदा भएको देखिन्छ । सोही वितृष्णाले नयाँ पार्टीको जन्म हुने र सो तर्फ जनमत आर्कषित हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न । काभ्रेपलाञ्चोक जिल्लाका पुराना र स्थापीत दलहरुले यसलाई ठुलो चुनौतिको रुपमा नलिने हो भने आगामी दिन ती दलका लागि सहज नहुने तथ्य निश्चित छ ।
नोट ः– यो लेख काभ्रे प्रज्ञामा प्रकाशित छ । लेखकद्वारा सूर्यमुखी पत्रिकामा प्रकाशीत लेखको परिमार्जित संस्करण हो । लेखक नेपाल बार एशोसिएसनको पूर्व केन्द्रिय सदस्य र हाल सर्वोच्च अदालतवार एशोसिएसनसँग आबद्ध वरिष्ठ कानुन व्यवसायी हुनुहुन्छ ।









