2026 May 31/ 03:00: 15am

साधुराम गिरी आफैंमा क्रियाशील नाम हो । मान्छेसंग प्रकृतिको साईनो कस्तो हुनुपर्दछ र मान्छेले सरल सहज ढ्ङगले आफ्नो जीवनलाई अगाडि बढाउन के कस्तो आहार विहार व्यवहार गरेर अघि बढ्दा मानव जीवन उच्च बन्न सक्छ भन्ने सन्दर्भमा लेखिएको यो पुस्तक भित्र प्रवेश गर्दा उहाँले सानै उमेरदेखि आफुलाई साहित्य क्षेत्रका व्यक्तिŒवहरूसँग सम्पर्क र सहकार्य गर्दै स्वयंलाई पनि साहित्यतर्फ उन्मुख गराउनु भएको छ । 
    विभिन्न लेख रचनाहरूको सङग्रह स्वरुप तयार पारिएको “मान्छे प्रकृति र भेगन” (विरौला संग्रह) नाम दिएर आफ्नो परिवारिक परिचय बालकाल्यका क्रियाकलाप, जीवनयापनका विविध आयामहरूको खोज चिन्तन गर्दै आफ्ना अभिव्यक्तिहरू लेख रचनाहरूमार्फत प्रस्तुत गर्दै जाँदा सामाजिक प्राणी वनस्पति र प्रकृतिप्रति आजका मानिसहरूबाट बिकृति बिसङ्गती गरिएको निर्दयी व्यवहारले निक्कै पिरोलिएर पुस्तकमार्फत सबैमा साकाहार बन्ने प्रेरणासहित आफ्ना विचारहरू उहाँले आफ्नो जीवनशैलीमा परिवर्तन गरी पूर्ण रुपले भेगन जीवन चलाउनु पर्छ भन्ने महत्वपूर्ण सल्लाह सुझावहरू यस पुस्तकमा समावेश भएको पाइन्छ ।
    मुख्यतया “मान्छे प्रकृति र भेगन” भित्र निम्न बिषयलाई महत्व दिइएको छ र सोही अनुसार हुन सकोस् भन्ने लेखकको तिब्र चाहना रहेको पुस्तक अध्ययनबाट प्रष्ट हुन्छ ।
१) कविता     २) संस्मरण र      ३) लेख
    विभिन्न छन्दमा लेखिएका कविताहरूमा पैसाको लागि कसैको दास बन्न नपरोस् निःस्वार्थ भावले उदारतासहित सबैमा सद्भाव मित्रता र आपसी सहयोग बाँड्दै मानव भएर स्वच्छ भावनाले कर्म गर्दै समस्त प्राणीहरूको हितमा जीवन अर्पण गर्न सकौं । यो जीवन नाशवान् छ, मन्दिरका मूर्तिहरूको पूजा नभै दिन दुःखीहरूप्रति दयाभाव राख्न सक्नुपर्छ र नेपालीहरूका मुहार हँसिलो पार्न सक्नु पर्छ भन्ने भावहरू व्यक्त भएका छन् भने “वाह जिन्दगी” शिर्षकमा जीवनको यात्रा नदी जस्तै भएको र यो यात्राका क्रममा सधैँ अभाव, ईष्र्या, लोभ मोह, घमण्ड बढ्दै जाने र रित्तै जन्मेको मान्छे एकदिन खाली हात बिलाउनु पर्ने हुनाले मानिसले सर्वप्रथम आपूmलाई चिनेर जिन्दगीको यात्रा चलाउनु पर्छ । हजारौं दुःख कष्टहरू आइलागे पनि दया, माया, करुणा र स्नेहमा व्यस्त रहने मान्छे मरेर पनि अरुको सम्झनामा रहिरहन्छ त्यसैले बाचुञ्जेल अरूको कुभलो नचिताई, आत्मा र परमात्मा एकै हो भन्ने सम्झेर कर्म गरौँ भन्ने सन्देश पाइन्छ ।
    “मेरो प्यारो खर्कडाँडा” शीर्षकमा लेखक जन्मिएको स्थानको वर्णन छ र गरिब सोझा सिधा ग्रामीण जनताहरूको जीवनस्तर उठ्न नसकेको, गाँउको विकास हुन नसकि रहेको, गाउँ छोडेर टाठाबाठाहरू शहर पसेको जस्ता जन्मस्थानको प्रेमले छताछुल्ल भएका रचनाहरूमार्फत पहिले गाउँमा विकास हुनुपर्छ र गाउँको विकास भए मात्र देशको विकास सम्भव हुन्छ, अझै पनि खर्कडाँडा जस्ता कैयौं ग्रामीण वस्तिहरू विकासको पर्खाइमा रहेकाछन्, त्यसतर्फ सम्बन्धित निकायहरूले ध्यान दिनुपर्छ भन्ने भाव व्यक्त भएका छन् । 
    “प्रकृतिप्रेमी भेगन” शीर्षकको कवितामार्फत उहाँले यदि प्रत्येक मान्छेले शाकाहार बनेर जीवनयापन गर्नेतर्फ प्रयास गरेमा प्रकृति भित्र आश्रय लिइरहेका कुनै पनि पशुपन्छीले अकालमा मर्नुपर्ने थिएन । शाकाहारी भेगन जीवनशैली अपनाउने गरेमा प्रकृतिको सौन्दर्य पनि कायम रहन्छ । सबै प्राणीहरू निर्भयका साथ बाँच्न पाउछन् र मानिसले पनि विभिन्न रोगले ग्रस्त भएर दुःख कष्ट भोगेर बाँच्नुपर्ने थिएन भन्दै स्वर्ग नर्क यही धरातलमै छ । त्यसको खोज गर्न सक्नु पर्छ भन्ने विचारसहित हिंसा नगर्ने नगराउने तर्फ सचेत रहनु भन्ने प्रेरणा कवितामार्फत पस्कनु भएको छ ।
    यसको अतिरिक्त ठाउँ–ठाउँमा लेखिएका मांसाहार त्याग गर्नुपर्छ भन्ने छोटा लेखहरू र पशुवधशालाहरूमा अमानवीय तरिकाले भइरहेको जीव (हिंसा) हत्याको विषयमा राखिएका कारुणिक भनाईहरू ज्यादै मर्मस्पर्शी रहेको मैले पाएको छु । त्यस्ता लेखहरू पढेर, हेरेर, मनन् गर्दा हृदय पग्लिएर आउछ र नेत्रबाट आँशु बग्न थाल्छ । यो पुस्तक भित्रको अर्को पठनीया र मननीय पक्ष हो भन्ने मलाई लागेको छ ।
    “मेरो सम्झनामा हजुरआमा र हजुरबुबा” शीर्षक दिएर यहाँले आफ्नो पारिवारिक पुख्र्यौली इतिहासमार्फत आप्mना पिता माताहरूको जीवनशैली उहाहरूले गर्नुभएका प्रेरणदायी समाज सुधारका कार्यहरू मान, पदक, पुरस्कार राणाकालमा हजुरबुबाले गर्नुभएको इमान्दारिताको उपज स्वरुप राणा सरकारबाट पाएका बिर्ता जग्गा, बेरोजगारहरूको उद्धार जस्ता महत्वपूर्ण मानवीय काम गरेर साधुरामजीका हजुरबुबाकै पालादेखि एक असल संस्कार बोकेको मेहनती र स्वाभिमानी परिवार भित्रको एक सदस्य आपूm भएको परिचय दिनुभएको छ र त्यसैको परिणाम स्वरुप बृद्ध बृद्धालाई माया गर्ने र उहाँहरूका कुरा सुन्ने सानै उमेरदेखि आफुले अध्ययन गर्ने अवसर पाएको कारण मनमा नकारात्मक भावहरूले बास नपाएको हुनाले कुबाटोमा लाग्नबाट जोगिएको र १० वर्षकै सानो उमेरदेखि नै हजुरआमाको स्नेह एवं मार्गदर्शनले गर्दा आपूm सही बाटोमा लाग्न सकेको (पृष्ठ २७–२८ बाट)
    जीवनका प्रेरणादायी व्यक्तिहरूको चर्चा गर्ने क्रममा मामा र दाजुको साथ सहयोग काठमाडौंको बसाई र ९–१० कक्षा पढ्ने अवसर सहरको हाउभाउ शहरीया वातावरणमा घुलमिल हुन नसक्दाको पीडा ठूला व्यक्तित्वहरूसँगको सम्पर्क दाजु र मामाको त्यस समयको व्यस्ततासहित उहाहरूले गर्नुभएको आर्थिक सहयोगबाट आपूmले प्रगतिको बाटो समात्न सफल भएको हुँदा दुःखमा साथ दिने आफन्त होस् या अरु जो कोहीलाई पनि जीवनमा कहिल्यै पनि बिर्सनु हुँदैन र असल व्यक्तिहरूसँगको सत्सङ्गबाट धेरै कुराहरू सिक्दै जीवनलाई सार्थकतातर्फ अघि बढाउन सकिन्छ, आप्mनो जन्मभूमि पिता पूर्खाहरू संस्कार, संस्कृति, प्रकृती र प्राणीहरूलाई सदैव हृदयमा सम्झना राखेर जिन्दगिका पाईलाहरू सुमार्गको बाटोमा टेक्दै अघि बढ्न सके एकदिन अवश्य नै सफलताको उच्च शिखरमा पुग्न सकिन्छ र यिनै प्रेरणादायी व्यक्तिहरूबाट प्राप्त ज्ञान नै आप्mनो जिन्दगीको मूख्य श्रोत भएको कारण आज साहित्य लेखनतर्फ कलम चलाएको हो भनेर लेखकले आप्mनो विद्यार्थी जीवनका बारेमा भोग्नु परेका कठिनाइहरूको वर्णन (पृष्ठ २९–३०) पुस्तक भित्र समेटिएका छन् ।
    “मानव धर्म र आजको आवश्यकता” विषयको सन्दर्भमा मान्छे विचारले मात्रै शान्ति नमिलेपछि आत्मा शान्तिको लागि अध्यात्मको सहार खोज्छ । (पृष्ठ ३३) आजको २१ औं शताब्दिमा संस्कारलाई परिवर्तन गर्नु (ल्याउनु) आवश्यक ठानेर काल्पनिक अदृष्य आडम्वरी धर्मभन्दा शताब्दी सुहाउँदो एक मात्र मानव धर्मको विकास उत्पादनशील वैज्ञानिक गुणस्तरीय वास्ताविकतामा आधारित धर्म संस्कृतिको पक्षमा रहेकोले अदृष्यरूपी शक्तिको खोजीमा समय नष्ट गर्न नहुनेतर्फ सचेत व्यक्तिहरू सजग रहनुपर्ने धर्मका नाममा खडा भएका विभिन्न सम्प्रदायिक संघ संस्था खोलेर कथित योगी ध्यानी तत्ववेत्ता हौं भन्नेहरूको जमातका पछि नलागेर वास्तवमा ब्रह्मज्ञान के हो ? भन्नेतर्फ लाग्नु पर्ने, बुझने प्रयास गर्नुपर्ने र द्रव्यको पछि लागेर पुराण महापुराण लगाउने तिर लाग्नुभन्दा मावन विकासका लागि अत्यावश्यक नैतिक विकासतर्फ उन्मुख हुन हरेक व्यक्तिले सकारात्मक सोचका साथ मानव धर्मको विकास गर्दै यो सुन्दर प्रकृति प्रदत्त धर्तीलाई बचाई राख्ने कार्यमा लाग्न र अरूलाई पनि अभिप्रेरित गरौँ भन्ने, समयोचित उपदेशात्मक विचारहरू व्यक्त भएको पाइन्छ । (पृष्ट ३५–३६)
    हाम्रो संस्कार यही हो ? भन्दै उहाँले ५ वर्ष मुनिका बालबालिकाहरूलाई आमाको स्तनपान र काखबाट वञ्चित गराएर निजी विद्यालयमा पढाउनु नहुने सरकारी विद्यालय मै पढाउने व्यवस्था हुनुपर्ने वृद्धवृद्धाहरूलाई संरक्षण गर्न गाह्रो मानेर वृद्धाश्रममा राख्न नहुने, सरकारीस्तरबाटै वृद्धाश्रममा स्थान दिनुपर्ने, छात्रावासमा छोराछोरीहरू राखेर पछि आफुले छोराछोरीबाट माया स्नेह सेवा नपाइने सानु उमेरदेखि नै बाबुनानीहरूलाई संस्कारी शिक्षा दिइनुपर्ने जस्ता महत्वपूर्ण कुराहरू (पृष्ठ ३८–३९) मा भेटिन्छ ।
    राजनीतिक अभ्यास र मानव अधिकारतर्फ पनि आफ्ना विगतका अनुभवहरू राखेर उहाँले बढो सुन्दर ढङ्गले नेता बन्ने गुणका बारेमा अघ सूत्रको गुणको विषयमा प्रष्टयाई दिनुभएको छ अघ भनेको भ्रष्टचार गर्नसक्नु अरूलाई प्रभाव पार्न सक्नु, अरूलाई भ्रममा पार्न सकनु भन्ने अर्थ सहितको व्याख्या गर्दै झोले बनेर कुनै पनि नेताको पछि नलागी आप्mनो पहिचान आफैंले कायम राख्ने काम समयमै गर्न सचेत रहनु भन्दै नेपालका घृणित नेताहरूको नेपाली राजनीतिमा देखिएको उदाङगोपनका सन्दर्भमा एउटा पादरीको भनाईलाई मार्मिक तरिकाले व्यङ्ग्यात्मक दृष्टान्त दिएर खबरदारी गर्नुभएको पाइन्छ । वर्तमान नेपाली राजनीतिमा देखिएको अन्यौलताले राष्ट्र राष्ट्रियताको सवालमा भोलिको नेपाल र नेपाली भूमिको विषयमा पनि लेखक स्वयम् चिन्तनशील रहनु भएको बुझिन्छ । (पृष्ठ ४०–४४)
    आप्रवासी श्रमिकहरूको अधिकार र उनीहरूले भोग्नु परेको पीडा गैरकानुनी ढङ्गले विदेशिएका नेपालीहरूका जटिल समस्या यस विषयमा सरकारको गैरजिम्मेवारी स्वयं व्यक्तिहरूको अबुझपना, न्यूनतम आवश्यकतातर्फ सरकारले वास्ता नगर्नाले नेपाली युवाहरू दिनानुदिन विदेशतर्फ पलाइन हुँदा नेपालको खेतियोग्य जगा जमिन बाँझो हुँदै जानु खाद्यान्न आदि हरेक उपभोग्य वस्तुहरू आयातमा भर पर्नु, राजनीतिज्ञहरू गैह्र जिम्मेवार बन्दै पद र सत्ता मोहमा व्यस्त हुनु, बैदेशिक रोजगारीमा देखिएका यिनै विविध बिकृति बिसङ्गतीलाई आप्रवासी श्रमिकको विषयमा व्यक्त भएका पुस्तक भित्रका धारणाहरूलाई युवा वर्गले गहिरिएर मनन गर्नु उपयुक्त हुने देखिन्छ । (पृष्ठ ४६–४८)
    त्यसैगरी लेखकले बैदेशिक रोजगारीले निम्त्याएको अस्वाभाविक चुनौती शीर्षकमा देशभित्र रोजगारी सिर्जना नहुनाले युवाहरू विदेश पलयनतर्फ उन्मुख हुँदै गएको कारण वृद्धावृद्धाहरूले दयनिय पिडाबोध गर्दै बेसहारा भएर बाँच्न बाध्य हुनु परिरहेको पति पत्निबीच मनोमालिन्यता बढ्दै गएको मादक पदार्थ जस्ता दूव्यर्सनमा आजको युवा जमात फस्दै गएको र समृद्ध नेपालको सपना साकार हुनेतर्फ वर्तमान अवस्था र राजनैतिक अस्थिता र अन्यौलताले झन् निराशाहरू बढेर गएकोतर्फ सचेत गराउनु भएको छ । (पृष्ठ ४७–५०)
    कृतिम नबनौ प्रकृतिप्रेमी बनौं भन्ने विषयमा कृतिकारले प्राकृतिक नियमको पालना गर्न प्रदुषण बाढी प्रकोप जस्ता विपत्तिहरू मानवहरूकै गैह्र जिम्मेवारी कार्यले निम्त्याएका हुन् यसको  समयमै रोकथाम गर्नेतर्फ सोच पुगेन भने भोलिका दिनहरूमा अझ जटिल प्राकृतिक विपद्को सामना गर्न तयार हुन सक्नुपर्छ भन्दै प्राणीहरूको र नदीनाला बोटबिरुवाहरूको संरक्षण सम्बद्र्धन गर्न आह्वान गर्नुभएको पाइन्छ ।
    जस्तो खाना त्यस्तै विचार उत्पन्न हुन्छ, त्यसैले हरेक मानिसिले आफ्नो जीवनको महत्वलाई बुझेर समयमै सचेत भएर स्वस्थ्य र सुदीर्घ जीवन जिउनको लागि आहार, विहार, विचार र व्यवहारमा परिवर्तन ल्याउनु पर्छ, र स्वस्थ्य नागरिकहरूले नै आफ्नो परिवार समाज र राष्ट्रलाई सही दिशामा पु¥याउन सक्छन् । त्यसैले शुद्ध साकाहारी सन्तुलित भोजनको दैनिक जीवनमा धेरै ठूलो महत्व रहन्छ भन्ने विचार प्रकट गर्नुभएको छ । (पृष्ठ ५५–५९)
    “म किन शाकाहारी पछि भेगन भए” यस शीर्षकमा उहाँले म हरेक जीवनजन्तुहरूलाई सानैदेखि असाध्यै दया गर्ने भएको र उनीहरूलाई कुनै पनि कारणले कहिल्यै दुःख दिनु हुँदैन भन्ने बाल्यकालदेखि नै मान्यता लिएर आएको कारण मलाई साहाकारी बन्ने सोच पलायो, परन्तु बुझदै जाँदा बोट वनस्पति दुध दही इत्यादीमा पनि कुनै न कुनै रुपमा दोष देखिएकोले शुद्ध शाकाहारीबाट मलाई भेगन बन्ने इच्छा प्रकट भै सानै उमेरदेखि नै खेति किसानी गरेर स्वस्थ्य जीवनयापन गर्ने, आफ्नै आम्दानीले बाँच्ने प्रण गरेको विषयमा आप्mनो बाल्यकालका घटना आप्mनो जीवनशैली भेगन बन्नु पर्दा भोगेका तिता मिठा आप्mना अनुभवहरू समावेश गरी पाठकहरूलाई भेगन बन्न नसके पनि शुद्ध शाकाहारी बन्नेतर्फ अग्रसर हुन विभिन्न वस्तु तथ्य अनुभव र प्रमाणसहित यो महत्वपूर्ण जीवनोपयोगी सबैले बुझ्नै पर्ने लेखमार्फत राम्रो सन्देश दिनुभएको पाइन्छ । (पृष्ठ ६५–७९)
    यसरी हेर्दा लेखकले यो कृति आफ्नै जीवनका भोगाईहरू जीवन यात्राका क्रममा पार गर्दै आएका सहज असहज परिस्थितिहरू वर्तमानमा देशभित्रको राजनीतिक सामाजिक आर्थिक सांस्कृतिक शौक्षिक गतिविधिहरूको विषयमा नेपालको अवस्था र प्रकृतिप्रतिको अन्याय यसबाट भोलीका दिनमा देखा पर्ने परिस्थितिलाई समेत दर्शाइएको यो कृतिको नाम पनि जीवनका अनुभूतिहरू राखेर वा मेरो जीवन भित्रका प्रतिक्षणहरू भनेको भएपनि हुने जस्तो लाग्यो ।
    जे होस् उहाँले यो कृति तयार गर्ने क्रममा पुस्तकभित्र जीवन दर्शन, अध्यात्म, आजको युग सुहाउँदो धर्म संस्कार, कृति, अन्धविश्वास, जड, मुर्तिपूजा, राजनीतिको अवस्था, भू–स्खलन (दैवि) प्रकृति प्रकोप प्रदूषण प्राणीहरूको विनास, जैविक संरक्षण भोगाइहरू समेत समेटेर शास्त्रहरूको विषयमा समेत चर्चा गर्न भ्याउनु भएको छ । एक प्रकारले यो कृति बहु रसस्वादनी नै छ । प्रत्येक पाठकले यसको भावना मर्म र सत्य तथ्यतर्फ गहिरिएर सोच्ने हो भने राष्ट्रिय प्रेमले भरिपूर्ण यो कृति अत्यन्तै उपयोगी छ भन्ने मैले महशुस गरेको छु । यस्तो महत्वपूर्ण कृतिका लेखक साधुराम गिरीज्यूलाई हार्दिक शुभकामना तथा बधाई दिन चाहान्छु र आगामी दिनमा अझै उच्च शिक्षाका गुणहरुले भरिएको नेपाली संस्कृति सुहाउँदो महत्वपूर्ण पुस्तकहरू प्रकाशन गर्न प्रेरणा मिलोस् शुभकामना !