सन्दीप के. सी.
जीवन जब निराशाको शिकार बन्दछ, लाग्छ यो मसी सकिएको कलम जस्तै हो । फाल्ने वा पुनः यसमा उर्जा भरेर मसी भरिएको कलमले झैं सुन्दर साहित्य श्रृजना गरेर अमर कृति लेखे जस्तै सफल जीवन जिउने तपाईंको हातमा निर्भर गर्दछ । पछिल्लो समय बालबालिकाका आत्महत्याका घटनाहरु बढ्दै गएका छन् । अझै भनौं लाउँ लाउँ र खाउँखाउँ भन्ने उमेरका कलिला बालबालिकामा देखिएको आत्महत्या कहाली लाग्दो रुपमा देखिएको छ । अब एक पटक हरेक सचेत नागरिकले सोच्न बाध्य हुनु पर्ने अवस्था छ–के बालबालिकामा देखिने आत्महत्या रोक्न सकिने थियो त ? यसमा हाम्रो भुमिका कहाँ कमजोर हुन पुग्यो त ? अर्थात यो कस्को दायित्व हो ? अभिभावक ? शिक्षक ? स्वास्थकर्मी ? वा जनप्रतिनिधी ?
आत्महत्याको तथ्य केलाउने हो भने विश्वमा बर्षेनी ७ लाख भन्दा बढि मानिसहरुले आत्महत्या गर्ने गरेको तथ्यांक देखिन्छ । बालबालिकाहरुमा हुने आत्महत्या समाजको एक कटुसत्यको रुपमा रहेको छ । पछिल्लो समय काभ्रेमा मात्र नभै नेपालमा नै बालबालिकामा आत्महत्या प्रवृत्ति डरलाग्दो रूपमा बढेको छ । प्रहरी तथ्यांक अनुसार नेपालमा हरेक दिन औसतमा दुई बालबालिकाले आत्महत्या गर्दछन् । आर्थिक वर्ष ०७८÷७९ मा ७ सय ९ बालबालिकाले आत्महत्या गरेका छन् । पछिल्लो पाँच वर्षमा २ हजार ८ सय ३० बालबालिकाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ ।
मनोविज्ञानका अनुसार आत्महत्या निराशाको गहिरो भावनाबाट उदय हुन्छ । यसअनुसार आत्महत्याको कारण अर्को व्यक्ति नभएर, आत्महत्या गर्ने व्यक्तिमै रहेको मनोसामाजिक वा मानसिक विचलनको अवस्था हो । बालबालिकाले कुनै घटनाको तत्काल प्रतिक्रिया स्वरूप आवेशमा आई आत्महत्या गर्ने गरेको पाईन्छ ।
जोखिमको कुरा गर्ने हो भने घरेलु हिंसाका पीडितहरुमा बढी आत्महत्या गर्ने प्रवृत्ति बढी जोखिममा रहने गरेको छ । परिक्षामा असफल हुने, गरिबीका कारण समेत आत्महत्या हुने गरेको पाइएको छ । त्यसैगरी बाल यौन दुव्र्यवहार, बालबालिकाको परित्यागका कारण पनि आत्महत्या हुने गरेको पाईन्छ । आत्महत्या गर्ने मानिसहरुले झुण्डिएर, विष सेवन, पानीमा डुबेर, आगो लगाई जलेर, भीरबाट लडेर तथा बन्दुकले गोलि हानी आत्महत्या गर्ने गरेको पाइन्छ । त्यसैगरी धारिलो हतियारबाट तथा घरको छतबाट हामफालेर आत्महत्या गर्ने गरेको समेत पाइन्छ ।
अर्कोतर्फ आत्महत्या गर्न बाध्य पार्ने तत्वहरू वा आत्महत्या दुरुत्साहनको विषय जल्दो बल्दो बहसको पाटो रहेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा ३ (ग) ले संहिता वा कानून बमोजिम सजाय हुने कामलाई कसुर भनेको छ । संहिताको बाह्रौं परिच्छेदको ज्यान सम्बन्धी कसुर अन्तर्गत दफा १८५ मा आत्महत्याको दुरुत्साहन कसुरमा सजायको व्यवस्था गरिएको छ । यदि दुरुत्साहन गरेमा ५ बर्ष कैद र ५० हजार जरिवाना हुने ब्यवस्था गरिएको छ । अपराध संहिताको दफा १८५, आत्महत्या दुरुत्साहनका नाममा हुनसक्ने भयावह अवस्थाबाट समाजलाई जोगाउन चुनौतीपुर्ण छ । मर्ने मरि त सक्यो भनेर चुप लागेर बस्ने हो भने आत्महत्या दुरुत्साहनको अवस्था बढ्दै जान्छ । आत्महत्या गर्न बाध्य पार्ने तत्वका कारण हुने अबोध बालबालिकाको आत्महत्याले समाज कतातिर जाला अनुमान गर्न कठिन हुन्छ ।
आत्महत्या निवारणका लागि तनावग्रस्त व्यक्तिहरुको पहिचान गरी मनोसामाजिक परामर्श दिने तथा मानसिक असन्तुलन भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्ने जस्ता उपाय अपनाउन सकिन्छ । असमर्थ नागरिकहरुका लागि कडा रोग लागेमा सरकारी अस्पतालहरुमा निःशुल्क उपचारको ब्यवस्था आवश्यक । बालबालिकाहरुमा मोबाईल तथा ग्याजेटको दुरुपयोग रोक्न अभिभावकले बेलैमा सचेत हुनुपर्ने अवस्था छ । सामाजिक सञ्जालमा अपरिचितसँग साथी बन्ने र तिनिहरुको लहैलहैमा गलत काममा फस्ने कृयाकलाप बढ्दो छ । कतिपय सानै उमेरमा प्रेम–सम्बन्धमा गाँसिने र समस्या आएपछि अरुको सहारा खोज्नुको सट्टा आत्महत्याको बाटो रोज्ने घटनाहरु पनि देखिएका छन् । यसको लागि हरेक “बालबालिकामा हुने आत्महत्याको समस्या कुन जिल्ला वा कुन पालिकाको हुँदै होईन । यो पल्लो गाउँ वा तल्लो घरको पनि होईन । यसलाई समाधान गर्न समाजका हरेक पक्षले बेलैमा सचेत रहेर आत्मसम्मान सहित बालबालिकालाई बाँच्ने अवसर श्रृजना गर्न लाग्नु पर्दछ।”
अभिभावकले आफ्ना सन्तानले सामाजिक सञ्जालको प्रयोग कसरी गरिरहेका छन् भन्ने विषयमा अभिभावकले ध्यन दिएर आफ्नो उपस्थितिमा मात्र त्यस्ता वस्तु प्रयोग गर्ने वातावरण बनाउनु पर्दछ । आफ्ना बालबालिकामा आएको व्यावहारिक परिवर्तनको हरेक अभिभावकले बिशेष ख्याल गर्नुपर्छ । बालबालिकाहरु अत्यधिक रिसाउने, मर्छु भन्ने तथा सामान्य भन्दा बढी घुर्की लगाउने बानी देखियो भन्ने तत्काल मनोचिकित्सक वा मनोपरामर्शदाता कहाँ लगेर उपचार गराउनु ढिला गर्नु हुँदैन ।
आत्महत्या गर्न प्रयोग हुने साधनको पहूँच घटाउने तरिकालाई विश्वमा सफल तरिका मानिन्छ । यसको लागि बालबालिकाको नजिकबाट निगरानी राख्नु पर्दछ । नैतिक शिक्षा, सकारात्मक सोच, आर्ट अफ लिभिङ्ग, आध्यात्मिक शान्ति जस्ता विषयहरु विद्यालयको पाठ्यक्रममा समावेश गर्न सकिन्छ । चिकित्सकको सिफारिस बिना जथाभावी औषधि, विषादी बेच्ने कार्यलाई नियन्त्रण एवं नियमन गर्नुपर्ने हुन्छ । समुदायमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने गरेमा बालबालिकाको आत्महत्या न्यूनीकरण गर्न सकिन्छ ।
त्यस्तैगरी पारिवारिक विवाद हल गर्न सामुदायिक मध्यस्थता र मेलमिलाप पद्दतिको विकास गर्नु पर्दछ । स्थानीय नागरिक समाज र गैरसरकारी संस्थालाई मानसिक स्वास्थ्य उपचार र तनाव व्यवस्थापनमा परिचालन गर्ने नीति स्थानिय सरकारहरुले लिएमा प्रभावकारी बनाउन सकिन्छ । विद्यालयमा मनोपरामर्श सेवाको ब्यवस्थापन गर्न सकिन्छ । शिक्षकहरुलाई बालमनोविज्ञानका बारेमा थप तालिम प्रदान गरेर विद्यार्थीहरुको आत्मसम्मान सहित बालमैत्री ब्यवहारबारे शिक्षा दिनु आवश्यक छ । अभिभावकहरुमा मादक पदार्थको नियमन र लागू पदार्थको नियन्त्रण गर्ने तथा जोखिमयुक्त वर्गको बालबालिकाको पहिचान, नियमित निगरानी र सामान्यीकरण गर्न कार्यक्रम सञ्चालन गर्ने गर्नु पर्दछ । घरमा आगो लागिसकेपछि कुवा खनेर आगो नियन्त्रण गर्न सकिँदैन । बालबालिकामा हुने आत्महत्याको समस्या कुन जिल्ला वा कुन पालिकाको हुँदै होईन । यो पल्लो गाउँ वा तल्लो घरको पनि होईन । यसलाई समाधान गर्न समाजका हरेक पक्षले बेलैमा सचेत रहेर आत्मसम्मान सहित बालबालिकालाई बाँच्ने अवसर श्रृजना गर्न लाग्नु पर्दछ । (लेखक धुलिखेल नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हुनुहुन्छ ।)









