लेखक : भुपेन्द्र थापा (माधव)
समाज एक भन्दा बढि मानिसहरुको समुदाय हो । समाजभित्र विभिन्न भाषा, भेषभुषा, रहन, सहन, धर्म, संस्कृति र व्यवस्था अँगालेको हुन्छ । समाज भन्ने शब्दले एकताको प्रतिक दर्शाउँछ । हाम्रो गाउघर सहर–बजार, वा स–साना टोल, छिमेक भित्र बेग्ला–बेग्लै बसोबास गर्ने मानिसहरुको समुदायलाई अथ्र्याउँछ । समाज, समिष्टि हो । समाज हाम्रो परिवारका इकाईहरुको सम्पूर्ण पनि हो । जर्मनी समाजशास्त्री भ्याम्स वेबरले समाजलाई सामाजिक सम्बन्धको वृहत्तर जालोका रुपमा परिभाषित गरेका छन् । समाजबारे अध्ययन वा अनुसन्धान गर्ने शासस्त्रलाई समाजशास्त्र पनि भन्ने गरिन्छ । सिँगो जगतका मानिस एक चेतनशील, गतिशील र परिवर्तनशील प्राणी हो । मानिस आदिम्कालमा भिन्न–भिन्न भएर बसेपनि आधुनिक युगमा समुदायमा वस्न र समाजमा रम्न थालेका हुन् । भिन्न–भिन्न जात–जाति, भाषा, भेषभुषा, वर्ण, रंग, मूल्य मान्यता, बिचार, सिद्धान्त र आस्थामा आबद्ध समग्र मानिसहरुको समूह नै समाज हो । समाजमा समाजका व्यवस्थापनका लागि सामाजिक महत्व र उत्तरदायित्व बोकेका विभिन्न सामाजिक संस्थाहरु स्थापना गरिएका हुन्छन् । समाजको प्राणभाषा, धर्म र संस्कृतिमा अडिएको हुन्छ । मानिस आफ्नो धर्म र संस्कृतिलाई अगात माया गर्दछ । समाजभित्र समाजको उन्नती र प्रगतिको खातिर व्यक्तिगत वा सामूहिक स्वार्थका लागि भेला, छलफल र अन्तरक्रिया हुने गर्दछ । समाज निराकार, असिमित र गतिशील चरित्रको हुन्छ भने समाजभित्र समानता र असमानता दुवै सँगसँगै अघि बढ्दै जाने गरेका हुन्छन् । समाज विविधताको प्रवद्र्धधक र संरक्षक हो । अन्तरसम्बन्ध, अन्तरनिर्भरता र अन्तरविरोध समाजका विशिष्ट गुणहरु हुन् । यसैकारण पनि समाजमा जहिले पनि सहकार्य, सहयोग र विभाजन सहितको द्वन्द्वको वातावरण विद्यमान रहिरहने गर्दछ । परिवर्तन एउटा गतिशीलताको क्रिया हो । समाजभित्र सामाजिक रुपान्तरणका प्रक्रिया स्वतःस्फूर्त सम्भव छैन । त्यसका निम्ति समाजलाई गति दिनुपर्दछ । र त्यो गतिको लक्ष्य र उद्देश्य सामाजिक परिवर्तन सहित चेतनाको निर्माणप्रति लक्षित भएको हुन सक्नुपर्दछ । हरेक समाजको गठन निश्चित सामाजिक चेतनाको जगमा खडा भएको हुन्छ । जबसम्म समाजभित्र स्थापित सामाजिक चेतनाको परिवर्तनलाई आवश्यक महशुस गरिदैन तबसम्म सामाजिक संरचनामा कुनै पनि परिवर्तनको घटना सिर्जना गर्न सकिदैन । किनकी सामाजिक संरचनाको स्वरुप सामाजिक चेतनामा आधारित हुने गर्दछ । समाज यथास्थितिमा रहन सक्दैन । समाजको परिवर्तन र समाजको विकास प्राकृतिक एवं निरन्तर चलिरहने एउटा प्रक्रिया नै हो । समाज परिवर्तन बहुआयामिक प्रकृतिको हुन्छ भने योजनाबद्ध वा आकस्मिक रुपमा समाजको परिवर्तन गर्ने गरिन्छ । समाज परिवर्तनलाई समय सन्दर्भ र सामाजिक वातावरणको कसीमा लपेटेर हेर्ने गरिन्छ । समाज परिवर्तनको मुख्य उद्देश्य नै आम मानिसका व्यवहार, ज्ञान, क्षमता, विश्वास, आस्था र सामाजिक संरचना तथा संस्कृतिमा परिवर्तन गर्नु हो । समाज परिवर्तन सामाजिक दृष्टिकोण भएको मानवमुखी हुनुपर्दछ । नेपालका राज्य र कुनैपनि सरकारको आडभरोसा सहयोग नलिई जनताको स्तरबाटै स्वतन्त्र रुपमा संस्थागत वा व्यक्तिगत तबरले समाजसेवाका गविविधि हुँदै आएको लगभग सयवर्ष भन्दामाथी भईनै सक्यो । इतिहासका केहि सम्मानित समाजसेवी व्यक्तित्वहरु छन् जस्तैः माधवराज जोशी, दयाविरसिंह कंसाकार, आवाल ब्रम्हचारी, षडानन्द अधिकारी, कृष्ण प्रसाद कोइराला र योगमया जस्ता समाजका अग्रणी चेतनाका सागर, अपार फैलिएको भावना, निस्वार्थ हृदय र सामाजिक दायित्वबोधको भारी बोक्ने भरिया भएर सामाजिक परिवेशमा जनहितलाई केन्द्रमा राखेर काम गर्ने त्यस्ता महामानवहरुसँग पनि यहि समाजभित्रको शासकवर्ग संशकित थियो । सामाजिक विकास भनेको मानव तथा समाजको सुख समृद्धि अभिवृद्धि गर्नु समाजभित्रका सामाजिक आवश्यकता परिपूर्ति गर्न तथा शासन सत्ता सञ्चालनका समावेशी निर्णय प्रक्रियामा आम नागरिक सहभागि हुन हो । सामाजिक विकास र समृद्धि समाजको अपेक्षा हुन् । समाज विकास र समृद्धि आफैमा सामाजिक परिवर्तनको सुचक पनि हो । सामाजिक परिवर्तन सामाजिक विकासको माध्यम हो । समाज विकासले समाजको निर्माण विकास र परिवर्तनलाई अभिन्न आयामको रुपमा लिएको हुन्छ । आम नागरिकका सामाजिक, आर्थिक एवं राजनीतिक चासो र जिज्ञासाहरुलाई सार्वजनिक विकास र समृद्धिको नीति, कार्यनीतिमा समेटेको हुन्छ । समाज विकासले समग्र सामाजिक पक्षहरुका न्यून स्वरुपबाट उन्नत स्वरुपको चहानालाई परिपूर्ति गर्दछ । हरेक समाजको गठन र विघटन निश्चित् सामाजिक चेतनाको जगमा खडा भएको हुन्छ । जबसम्म स्थापित सामाजिक चेतनाको परिवर्तन महशुस र आवश्यकता हुँदैन तबसम्म सामाजिक संरचनामा परिवर्तनका आधार खडा हुन सक्दैनन् । किनकी, सामाजिक संरचनाका स्वरुप सामाजिक चेतनाका आधारमा नै हुने गर्दछ । तर सामाजिक चेतना स्वयं पनि केहि आधारभूत सिद्धान्त एवं मान्यतामा निरर्भर रहेको हुन्छ । जबसम्म त्यस्ता सिद्धान्तमाथी मानिसको विभिन्न कारणले आस्था कायम रहिरहन्छ वा उनीहरुलाई जवर्जस्ती पक्षपोषण गरिरहन्छ । सामाजिक चेतनामा परिवर्तन आउन सक्दैन् । यस्तो संकिर्ण एवं जडवादी चेतनाको प्रभाव कायम रहुञ्जेलसम्म सामाजिक संरचनाको परिवर्तन सम्भव हुने छैन । सामाजिक चेतना समाजभित्र भएका अनेक प्रवृतिहरुको साझा एवं सामूहिक चेतना हो । सामाजिक समाजको चेतना सामूहिक आत्म–जागरुकता र सामूहिक रुपमा साझा सामाजिक पहिचानको अनुभवसँग जोडिएका हुन्छ । यस दृष्टिकोणबाट सामाजिक चेतनले अरुको अन्तर सम्बन्धित समुदायको हिस्सा भएको सचेत चेतनालाई दर्शाउने गर्दछ । मुख्यतः समाजको विकास एक निरन्तर चलिरहने प्रक्रिया हो । जसले समाजको सामाजिक, आर्थिक, भौतिक र वातावरणीय अवस्थालाई सकारात्मक तरिकाले परिवर्तन गरिरहेको हुन्छ । सामान्यतया विकासलाई कुनैपनि समुदायका र सम्बन्धित नागरिकहरुको जीवनमा आइपर्ने समस्याहरुलाई हल गर्दै आम नागरिकहरुको जीवनमा आउने सकारात्मक परिवर्तनका रुपमा व्याख्या र विश्लेषण गर्ने गरिन्छ । तर समाजमा सामाजिक चेतना विना परिवर्तन सहजै सम्भव हुँदैन । वास्तविक परिवर्तनका लागि समुदायका सबै तह, तप्का, वर्ग र समूहको वृहत सहभागिता अनिवार्य हुन्छ । त्यसको लागि सामाजिक नेतृत्व गर्ने बौद्धिक, शिक्षित र इमान्दार निस्वार्थी युवाहरुको सहभागीता आवश्यक पर्दछ भन्ने गरिन्छ र सार्वभौम मान्यताको विषय पनि यूवा नै देशको अग्रगामी विकासका मुलआधार हुन् । युवाको पहलले मात्र राष्ट्र निर्माण हुन्छ । यो भनाई संसारभरी नै स्थापित भएको छ । अवश्य पनि युवा अवस्था भनेको निरन्तर परिवर्तनको पक्षधर हो । युवामा समाज र मुलुकको लागि केहि गर्ने हुटहुटीको जागरुक उर्जा पैदा भैरहेको हुन्छ । त्यसैले पनि युवालाई असिम उर्जाको केन्द्र र देशको गौरवको आधार मान्ने गरिन्छ । सामुदायिक विकासमा युवाले विभिन्न किसिमका भूमिका खेल्न सक्छन् । युवाकै नेतृत्वबाट सामाजिक, आर्थिक, राजनीतिक तथा प्राविधिक विकास सम्भव हुन्छ । यसका पर्याप्त उदाहरणहरु नेपाल लगायत विश्वका अनेकौं राष्ट्रहरुमा देख्न पाइन्छ । सबैभन्दा प्रमुख युवाको भूमिका राजनीतिमा के हुनसक्छ ? विगतको तुलनामा आजका युवाहरु सामाजिक अभियान र राजनीतिक गतिविधिमा चासो राख्दै राजनीतिमा उपस्थिती जनाउन थालेका छन् । त्यसको उदाहरण गएको स्थानीय निर्वाचन र आमनिर्वाचनमा युवाको उपस्थितिले देखाउँछ । नेपालको इतिहास हेर्ने हो भने पनि तानाशाहि राणा शासन उन्मुलनका लागि भएको क्रान्ति देखि पञ्चायत व्यवस्था विरुद्धको संघर्ष, २०४६ सालको जनआन्दोलन २०५२ सालको जनयुद्धमा यूवाको अपार सहभागिता र विरताको इतिहास २०६२।०६३ को जनक्रान्तिमा युवाहरुको उल्लेखित सहभागिता र सक्रियता थियो । राणाशोषण विरुद्ध लखन थापादेखि गंगालाल श्रेष्ठसम्मको साहादत युवा उमेरकै थियो । त्यतिबेला उनीहरुसँग देश र जनताको अधिकारका लागि थुप्रै युवाहरुले आफ्नो बलिदान गरेका थिए । संसारको इतिहासलाई नै हेर्ने होभने पनि असल व्यक्ति परिवर्तन र क्रान्तिको नेतृत्वको जन्म आमाको कोखबाट नभएर संघर्ष एवं क्रान्तिको मैदानबाट हुन्छ भन्ने भनाई सत्य सावित नै छ । संघर्ष र क्रान्तिको मैदानमा हजारौं युवाहरुको बलिदान, जेल, नेल, यातना, घाइते, अपाङ्ग र अंगभंग भएकै कारण र उनीहरुको त्याग र तपस्याकै कारण २०६३ सालको जनआन्दोलन मार्पmत नेपालमा लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीता सम्भव भएको हो । फेरिपनि युवाको सक्रियता र सहभागिता विना राजनैतिक, आर्थिक, सामाजिक शैक्षिक र प्राविधिक रुपान्तरण सम्भव छैन । समृद्ध र समतामूलक समाज निर्माणका लागि समाजका सबै वर्ग, समुदाय र राजनीतिक पार्टीहरुले ध्यानदिन सक्नु पर्दछ । युवाको सकारात्मक र नकारात्मक दुवै गुणहरु स्थापित छन् । त्यसमध्ये नेपाली युवा जमातमा एउटा जबर्जस्त युवाको नकारात्मक पक्ष भनेको अघिल्लो पुस्ताको चेतनाभन्दा पनि जब्बर अनुदार, असंवेदनशील, असहिष्णुता, लाचार र पछौटेपन चेतना पछिल्लो युवा पुस्तामा अभैm झांगिंदै गएको पनि देखिन्छ । त्यस्ता युवा पुस्ताले पुराना मान्यता र विकृतिको विरुद्धमा आवाज नै उठाउने साहस गर्छ । न त नयाँ वैचारिक आधार निर्माण नै खडा गर्न सक्छ यस्तो कमजोर चेतना र लालचमनोवृत्ति भएको यूवा पुस्ताबाट समाजको समग्र चेतना र विकासको भविष्य कस्तो होला ? फेरिपनि आशा र भरोसाका आधार युवा नै हुन् भन्ने मान्यता सहित पदार्थबाट चेतनाको निर्माण हुन्छ, तर निर्माण भएको चेतनाले पुनःपदार्थ पनि निर्माण गर्छ सामाजिक चेतना पदार्थबाट होइन समाजबाटै निर्माण हुन्छ । त्यसैले पनि यो चेतना र घटनाको शिक्षाबाट आम यूवाहरुले पाठ सिक्दै आफु र समाजको लागि बदल्न आवश्यक छ । घटनाले पुनःनयाँ सामाजिक सत्यता, नयाँ अवस्थाको सिर्जना गर्दै पुराना सत्यताको विस्तापित गरी नयाँ विचार र मान्यताको निर्माण पनि गर्दै जाने गर्दछ । रुपमा नयाँको नक्कल गरेर सारमा पुरानो सत्यता बोकेर अर्थात नयाँ बोतलमा पुरानो वस्तु राखेर समाज र आफ्नो भविष्यलाई आँखामा छारो हाल्ने काम गर्ने हो भने समाजको परिवर्तन र विकास सम्भव छैन । तसर्थ सुखी समाज र कल्याणकारी राज्य स्थापना गर्नका निम्ति व्यक्ति, समुदाय, समाज, सामाजिक अभियान्ता नागरिक अगुवा, बौद्धिक व्यक्तित्व सम्पूर्ण प्रगतिशील धाराहरु सरकार तथा विभिन्न राष्ट्रिय शक्तिहरु समेत एक ढिक्का भएर राष्ट्र र जनताको हितमा योगदान गर्न अघिबढ्न सक्नु पर्दछ । तबमात्र समृद्ध नेपाल सुखि नेपालीको आकांक्षा पुरा हुने छ । अन्यथा, मुलुकले असफलताको भुमरी व्यहोर्नु पर्ने छ । समाजभित्र भएका बेथितीका विरुद्ध ‘सामाजिक संघर्ष – चेतनशीलअभियान”को खाँचो छ ।









