रमेश अधिकारी
मलाई राजनीति मन पर्दैन तर यो नीति मध्येको पनि मुख्य नीति हो, मलाई थाहा छ विकास को र विनाशको पनि कारक नै राजनीति हो । यस अर्थमा हेर्दा मलाई राजनीति मन नपरेको हो भन्न पनि म सक्दिन, त्यसो भए के त मलाई यसका संचालक पात्रहरु मन नपरेको हो ? यो पनि हुन सक्छ, तर सबै पात्रहरुको तौल पनि त एकनासको छैन, अब यो मन पराई वा नपराईको अवस्थालाई पार्टी केन्द्रित गर्नुपर्ने अवस्था आयो । यसो गर्दा सत्य बोले पनि म पार्टी परस्त बनाइन्छु । यस अवस्थामा कहिले म सत्ता पक्ष र कहिले म प्रतिपक्ष बन्न पुग्छु । मलाई पटक पटक यही विचार आइरहन्छ के मलाई विचार परास्त रुपमा मात्र हेर्दा र बैचारिक सत्यताको परिक्षणबाट मात्र आलोचनाको पात्र बनाउँदा कसैको केहि विग्रन्छ ? यो लेख आत्मकेन्द्रित निबन्ध जस्तो लागेपनि आन्तरिक संवेदनाको एउटा पाटो हरेक मानिसमा हुन्छ र त्यसको सम्मान गर्ने संस्कारमा हाम्रो मनोविज्ञानसँग जोडिएको वास्तविकताले केहि कन्जुस्याईं गरेको महसुस हामी सबैलाई भएकै छ । यहाँ म पात्र एउटा व्यक्ति हैन यहाँ मेरो स्तरको एउटा बैचारिक समूह हो, जो विचारकै दरिद्रताबाट प्रताडित छ । कुनै एउटा विचार कुनै अर्काे विचारवाट पीडित हुनु हुँदैन, त्यसको आफ्नै एउटा धरातल हुन्छ कम्तिमा त्यो धरातल भन्दा तल गिरेर कसैको पनि विचारको चिरहरण गरिनु हुदैन ।
संवेदनशीलता हरेक क्षेत्रमा नभै नहुने तर भेट्न र विकास गर्न धेरै कठिन विषय हो । अर्काको मनको अनूभूतिलाई आफ्नो मनसँग आत्मसात गराएर मात्र यसलाई प्रकट गराउन सकिन्छ । शरीरको कुन अंगमा दखल पर्दा धेरै पीडा अनुभव हुन्छ त्यसको बारेमा बोध भएपछि मात्र मानिसमा त्यो ठाउँको प्रहारलाई अनुचित ठान्ने र तदअनुसार व्यवहार गर्ने गुणको विकास हुनसक्छ, त्यो संवेदनशीलताको एउटा अभिव्यक्ति हो । दार्शनिक सुकरातकी पत्नी सुन्दर थिइन्, तैपनि सुकरात श्रीमतीको पक्षमा कहिल्यै वकालत गर्दैनथे । एकपटक कसैले उनलाई भन्यो ”तपाईंकी पत्नी त्यति राम्री छिन् तैपनि तपाईं आफ्नी श्रीमतीलाई मनपराउनु हुन्न, कुरा काट्नु हुन्छ, किन यस्तो ?” सुकरातले जवाफ दिए “तिमी मेरो जुत्ता देखिरहेका छौ होइन ? यो कति राम्रो छ ?” “हो छ, धेरै राम्रो छ” त्यो मानिसले जवाफ दियो । सुकरातले भने” तर के तिमी भन्न सक्छौ यो जुत्ताले मलाई कहाँनेर दुखाएको छ ?” यहाँ आफूलाई खुट्टा र श्रीमतीलाई जुत्ता भनेर लैङ्गिक विभेदको कुरा गरिएको हैन प्रसंग संवेदनशीलताको हो, यहाँ त्यो रुपप्रतिको संवेदनशीलता व्यवहारप्रति संवेदनशील देखिएन, व्यवहारप्रतिको संवेदनशीलताले रुपप्रतिको संवेदनशीलतालाई गौण बनायो । यहाँ उच्चतम् महत्वको लाग्ने विषयले त्यसभन्दा कम प्राथमिकताको विषयलाई त्यति वास्ता गरेको देखिदैन, त्यसैले संवेदनशीलता एउटामा उच्च र अर्काेप्रति न्यून रुपमा देखा पर्न सक्छ ।
जुनकुरा आफूलाई मन पर्दैन, जुन व्यवहारले आफ्नो मन पोल्छ, जुन स्वादले आफूलाई वाक्क बनाउँछ, जुन आवाजमा आफ्नो प्रेम छैन र सुपाच्य हुँदैन, जुन लवजले आफूलाई मन दुखाएको अनुभव हुन्छ, जून दृश्यमा आफूलाई लज्जा अनुभव हुन्छ, जुन गन्धलाई आफू स्विकार्न सकिदैन, जुन खाना पेटले स्विकार्दैन त्यही आफूलाई अनुकूल नलाग्ने विषयलाई हामीले अरुको निमित्त कति संगत हुन्छ विश्लेषण गर्न सक्यौं भने त्यो विवेकपूर्ण संवेदनशीलताले सबैको हित नै गर्छ । मेरो मन गलत नियत र मनसायबाट मुक्त भएको अवस्थामा म कसैलाई विश्वास, भरोसा र माया गर्छु भने मैले मेरो संवेदनशीलताको सट्टामा केवल मैले त्यो पात्रबाट पनि केवल संवेदनशीलताकै अपेक्षा गरेको हुन्छु, मैले उसमा देखेको गुण क्षमता र व्यक्तित्वको कदर गर्नु मेरो धर्म हुन्छ, मैले सबैको भलाईसँगै उसको पनि भलाई हुनुपर्छ भन्नु मेरो दायित्व हो । कसैले उसलाई मन नपराएका अवस्थामा उसको अहितमा वा विरुद्धमा आफूलाई उभ्याउँदा मैले सन्तुलित भाषा वोल्नु वा गलत आशय र मनसायका विरुद्ध आफ्नो अभिमत राख्नु, सत्य र यथार्थप्रतिको संवेनशीलता नै हो जस्तो लाग्छ मलाई । कसैमा भएको कलाको पहिचान क्षमताको अनुमान र भित्री सुन्दरताको आँकलन गर्नु र त्यसको कदर गर्नु उपयोगवादको लक्ष्य पनि हो, संसारको अहिलेको जुन विकासको विद्यमान स्थिति छ त्यो उपलब्ध श्रोत साधन र क्षमताको उपयोग अनुपयोगप्रतिको संवेदनशीलताकै परिणाम मानिन्छ । हुनसक्छ मलाई उपयोग गर्ने सामाजिक संवेदनशीलता उच्च थियो र त्यो अवसर मैले पाएको थिएँ भने मैले देश र समाजको लागि धेरै गर्न सक्थेँ होला, अहिले यो गाँस जुटाउनै हम्मेपरेको अवस्थाबाट म र म जस्ता मान्छेहरुले राज्यको संवेदनशील शासकीय क्षमताको समर्थन पाएर नाना र खानामा आफ्नो जिन्दगीलाई बेच्न नपरेको भए आन्तरमनलाई च्याउने र त्यहाँ भित्रको दायित्व वोधलाई क्षमताको प्रस्फुरणले सिगार्न सक्नेथियौं होला, यहाँ सामाजिक संवेदनशीलताको कमजोर स्थितिले हिजो हामीले भोगेको पीडाबाट आज पनि सोझा सिधा क्षमता सुन्दर कला र गला भएका मानिसहरु सधैं उपेक्षा, पेशागत असुरक्षा र मानसिक पीडामा बाँचिरहेका छन् । मैले जे भोगेँ त्यस्तो भोगाइ अरुले भोग्न नपरोस् भन्ने सद्भाव राख्नु अनि पहुँच नहुने क्षमता कला सीप र आन्तरिक सुन्दरताले त्यतिकै निराश भएर बिलाउन नपरोस्, यसका लागि समाजका जिम्मेवार पक्षमा सकारात्मक र विवेकपूर्ण संवेदनशीलता विकास हुनुपर्छ । तर समाजमा आर्थिक लुट मच्चाइरहेका निकृष्ट र तुच्छ स्वार्थमा लपेटिएका मानिसहरुको समुह बलियो भएको ठाउँमा देश र समाजको भर्सेलो परोस् तर खाईआएको हुण्डीमा दखल नपरोस् भन्नेहरुको स्थापित त्यो समुहले यस्ता विषयमा कसैले चासो दियो वा आवाज उठाउने प्रयास ग¥यो भने त्यो आवाज उठाउने मानिस उनीहरुको असंवेदनशीलताको आक्रमणमा पर्नुपर्छ । आखिर किन यस्तो भैरहेको छ ।
समष्टि भित्र आफूलाई खोज्दा र आफूभित्र समष्टिलाई बुझ्दाको संवेदनशीलता फरक हुन्छ, यसको मापनको गणितीय मानक आधार हुँदैन र छैन तर हाम्रो अनुभूतिहरु चेतनाको स्तर सामाजिक बनावट र त्यसको हामी माथिको प्रभाव, आपसी सम्मान इज्जत र मर्यादाले यसलाई सिमाबद्ध गर्छ । अन्तरमनको चेतनास्तरमा विकसित हुने यो गुण मानव जीवनको सार्थकता आपसि मेलमिलाप शान्ति र सदाचारका लागि अनिवार्य विषय हो । एउटा मानिस एउटा नेता वा कर्मचारी वा कोही आफ्नो सन्तानको भविष्यप्रति यति संवेदनशील हुन्छ की उ उनीहरुको नाति पुस्ता सम्मको लागि सम्पत्ति जोड्नका लागि जे पनि गर्न तयार हुन्छ, लज्जालाई विसर्जन गर्छ, नाजायज कुकर्ममा उद्यत हुन्छ, तस्करी र भ्रष्टाचारलाई गलत बुझ्दा बुझ्दै पनि अवलम्बन गर्न तयार हुन्छ, एउटा सन्त धर्मगुरु धर्मको नाममा बहुलठ्ठी कामहरु गर्छ, अर्ति उपदेश दिन्छ तर आफ्नो जीवनमा लागु गर्दैन, बचन र व्यवहारमा उसले दुईरुप प्रकट गर्छ, हरेक पेशाकर्मी व्यावसायिक धर्मको सुन्दर व्याख्या विश्लेषण गर्छ परिभाषा दिन्छ त्यसलाई सिँगार्छ गुण अवगुण महत्व फाइदा सबको मार्मिक बयान गर्छ अन्ततः सकेसम्म गोप्य राखेर व्यक्तिगत लाभका लागि त्यसको विपरीत कार्यमा प्रयत्नशील पनि भैरहेको हुन्छ । मानिसहरुको दुईवटा रुपहरु देखिन्छन्, देखाउने वा विज्ञापन गर्ने रुप र भित्रि वास्तविक रुप । यस अवस्थामा उस्मा चेतना छ राम्रो नराम्रो छुट्याउने क्षमता छ, उ गुण अवगुण सही गलत छुट्याउन सक्छ, ज्ञानको स्तरमा उ अब्बल देखिन्छ तर विवेकको प्रयोगमा उ कमजोर छ, स्वार्थको लागि मन थाम्न सक्दैन । यहाँ संवेदनशीलता विद्यमान हुँदा हुँदै पनि स्वार्थले त्यसलाई दमित बनाइ रहेको प्रष्ट देखिन्छ ।
राज्य सत्तामा रहेका दलहरु र दलका नेताहरु औपचारिक शिक्षा प्राप्तिको विषयलाई छाड्ने हो भने राज्यका सबैभन्दा सचेत वर्गमा पर्छन् प्रजातान्त्रिक देशहरुमा, त्यस्तै अर्को सचेत वर्गका रुपमा कर्मचारीतन्त्रलाई लिइन्छ, त्यसैगरी देशका दक्ष प्राविधिक जनशक्ति पनि सचेत वर्गको सूचिमा अग्रस्थानमै पर्दछन् । यी सबै मानिसहरु ज्ञानका दृष्टिले उच्च कोटीका छन्, हरेक सवालको उपयुक्त जवाफ उनीहरुसँग छ, देशलाई विकासको गतिमा लैजाने तवर तरिका थाहा छ । राम्रो लक्ष्य योजना र दुरदृष्टि उनीहरुले दिन सक्छन्, आउनसक्ने वाधा भोग्नुपर्ने अड्चन गर्नु पर्ने लगानी र त्याग, प्राप्त हुने फाइदा सहित दार्शनिक पक्षका हरेक कुराहरुलाई उनीहरुले राम्रो विश्लेषण गर्न सक्छन् तर हाम्रो विद्यमान सामाजिक विकृतिका सूचकहरुलाई नियाल्ने हो भने त्यसको कारकको रुपमा पनि यिनै मानिसहरु देखिन्छन् । विवेक विनाको ज्ञानले तर्क दिन्छ तर नर्कमा पार्छ, व्यवहार दिँदैन विवेकबाट जन्मने संवेदनशीलताले यहाँ स्थान नै पाउँदैन । यी र यस्तै मानिसहरु हाम्रो प्रशासन सुरक्षा शिक्षा स्वस्थ्य जस्ता जिम्मेवार पदहरुमा पुगेका छन् तर यिनीहरुले हाँकेको देशको यो अवस्था छ । नकचराले लाज मान्दैन भन्छन् यो वर्गलाई पटक्कै लज्जाबोध छैन । लज्जभन्दा त्यसबाट प्राप्त आर्थिक उपार्जनले उसको विवेक र संवेदनशीलतालाई अन्धो बनाएको छ । राष्ट्रनिर्माणको संवेदनशील मुद्दामा राज्यले यी मान्छेमा गरेको विश्वास र दिएको जिम्मेवारी उपर यिनीहरु संवेदनशील हुन सकेनन्, फलस्वरुप आजको स्थितिलाई हामीले भोगिरहेका छौं ।
एउटा सर्जन र सामान्य मानिसको विरामीप्रतिको संवेदनशीलता एउटै हुँदैन र हुनुपनि हुँदैन हुनु अहितकर हुन्छ तर त्यसो भन्दैमा चिराफारा गर्न डाक्टरको रहर हुँदैन, नैतिक दायित्वले उसलाई बाध्य गराउँछ, यहाँ पनि संवेदनशीलता अत्यन्त महत्वपूर्ण विषय बन्न पुग्छ । विरामीको बाँच्ने चाहनाले डाक्टरको चिरफारलाई पनि स्वीकार गर्छ, उसलाई बँचाएर पेशाकर्मीको दायित्वप्रति संवेदनशील डाक्टर विरामीको पीडाप्रति त्यतिकै विवेकपूर्ण बन्छ । विवेक पूर्ण संवेदनशीलता जीवनका हरेक पाइलामा अति आवश्यक हुन्छ । यसको दुरुपयोगले विभिन्न अनचाह घटनाहरु घट्ने गर्छन् र यो प्रत्येक घटना दुर्घटनाहरुको कारक पनि हो, न न्यूनतामा न अधिकतामा यसले कसैको हित गर्छ ।
कसैको संवेदनशीलता आफ्नो कर्तव्य र अरुको लागि अहितकर हुन्छ की वा मबाट कुनै गल्ती हुन्छ की भन्नेतर्फ निर्देशित रह्यो भने यसले देशको नियम कानुन, आफ्नो दायित्व, धर्म लगायत सम्पूर्ण पक्षमा आदर्शतम् व्यवहार गर्न सक्छ । जसको परिणाम हामीले कल्पना गरेको राज्य प्रणाली, हामीले सोचे जस्तो समाज हामीले चाहे जस्तो राज्य संयन्त्रको निर्माण हुन सक्छ । पूर्णता एउटा कल्पनाको विषय हुन सक्छ, वास्तवमा हाम्रो यथार्थ स्थिति भनेको अपूर्णता भित्रको उच्चतम् वा आदर्शतम् अपूर्णता हो । यसतर्फको अविचलित निरन्तर प्रयासले नै हाम्रो यात्रालाई अघि बढाउने छ । यो गफको विषय बन्न सक्छ, असान्दर्भिक प्रसंगका रुपमा प्रश्नहरु उठ्न सक्छन् तर यहिँबाट विषय उठानको प्रारम्भ हुन सक्छ जसको सार्थकता र सफलता आजको आवश्यकता हो । हामी शिक्षा क्षेत्रमा प्रश्न उठाउँछौं, राजनीतिमा भएका नकारात्मक पक्षको टिप्पणी गर्छाैं, सबैतिरको अस्तव्यस्तताको चिन्ता गर्छाैं, सामाजिक विकृतिको लेखाजोखा गर्छाैं र सुधारको अपेक्षा अरुबाट गर्छाैं । हामी कुनैपनि विषय वस्तुप्रति आफुलाई केन्द्रमा राखेर आफूमै त्यो गुण खोज्न थालौं । हामी जिम्मेवारी विहिन कोही छैनौं समाजको जुन स्थान र जिम्मेवारीमा हामी छौं त्यहीँँ र त्यही विषयमा संवेदनशील बनौं, बन्ने कोसिस गरौं समस्याको हल त्यहीँबाट प्रारम्भ हुन्छ ।
म जुन क्षेत्रमा कार्यरत छु म मेरो स्थानमा आफ्नो जिम्मेवारी विवेकशील भएर पूरा गर्नेछु, मेरो दृढता र संकल्पमा म सम्झौता गर्दिनँ । म चाहन्छु मेरो कर्तव्यनिष्ठता र इमान्दारीताप्रति बेतुकका फोहरी औंलाहरु ठडिने शाहस नगरुन् । त्यसैगरी हरेक मानिस आफ्नो ठाउँमा दृढ बनोस् गलत कार्यको लागि सम्झौता नगरोस् । एकाधले गरे पनि अधिकांश एकातिर भएको अवस्थामा एकाधको मनोवल त्यतिकै गिर्ने छ, त्यति हुँदाहुँदै पनि नभए त्यसको उपचार सम्भव हुन्छ, अधिकांश मानिस अहिले नहुनु पर्ने ठाउँमा भएकैले नआउनु पर्ने परिणाम हामी भोगी रहेका छौं, त्यसैले भावी कर्मप्रति संवेदनशील बनौं, विवेकपूर्ण संवेदनशीलताले नै हाम्रो विद्यमान सामाजिक समस्याको हलदिन सक्छ । असंवेदनशीलताको दमित रुप अस्तव्यस्तता हो, अहिलेको अस्तव्यस्तताको अवस्थाबाट माथि उठ्ने हो भने जिम्मेवार पक्षहरु आआफ्नो जिम्मेवारीको क्षेत्रमा संवेदनशील बन्नु नै एउटा मात्र उपाय हो ।









