2026 May 31/ 03:00: 12am

सहदेव थापा
    नीतिहरुको मूलनीति नै राजनीति हो । यसैले राजनीतिको पद्दति प्रभावकारी हुनुपर्छ । राजनीति प्रभावकारी नहुने हो भने जनतामा निराश आउँछ र राजनीति प्रणाली प्रति नै वितृष्णा आउँछ । यसैले यसलाई प्रभावकारी बनाउनुपर्छ । प्रभावकारी भनेको पौडी खेलेर समुद्र तर्नु होइन, पद्दतिलाई ढंगसम्मत चलाउनु हो । आजको प्रश्न नेकपाको नेकपापन के हो त ? नेकपाले नेकपा बन्ने प्रयास गर्नुपर्छ । कम्युनिष्ट पार्टीको नियम पालन गरेन भने यो नेकपा नबन सक्छ । सम्पत्तिको लोभ गर्नेहरु कम्युनिष्ट पार्टीको सदस्य बन्न सक्दैनन् । आर्थिक विकासको सबैभन्दा ठूलो शत्रु कालो धन हो । यसलाई सेतो बनाएर सम्बृद्धि बनाउँछु भन्नु मुर्खता हो । गाउँमा घर टाढा टाढा हुन्छन् तर मन नजिक हुन्छ । शहरमा घर नजिक नजिक हुन्छ तर मन टाढा हुन्छ । कम्युनिष्ट पार्टी मन नजिकहरु मिलेर बनाएको पार्टी हो । आज हाम्रो समस्या नेता खुशी नभए टिकट नपाउने जसरी नै जनता खुशी नपारे भोट नपाउने गर्दा विचारमा विर्काे लागेको छ, विवेक हराएको छ । विश्वमा नै अपरचुनिष्ट पोलिसिएन र अपरचुनिष्ट पोलिटिसियनले गर्दा समाज बिग्रेको छ । मुलुकको राजनीतिक अगुवाई गर्ने पार्टीहरुमै रुपान्तरण हुन सकेनन् भने व्यवहार परिवर्तन भएर मात्र आम जनताको जीवनमा रुपान्तरण आउँदैन । वैधानिकता हराएको विधि र नीति हराएको नैतिकताले काम गर्दैन यसले नेताहरुमा विचारको विचलन हुनु भएन । सँगै बस्दा भावनाहरु ठोकिन्छन् पनि जब भावनाहरुको कदर हुन्छ आत्मीयता पनि बढ्दै जान्छ । नेतृत्वले आफ्नो अभिव्यक्ति, कर्मप्रति, विचारप्रति, उदांगो पारेर असली नियत देखाईसक्दा पनि नेकपालाई सबैभन्दा अग्रगामी र प्रगतिशील पार्टी भन्नेहरुको संख्या ठूलो छ । यो जोगाईराख्नु आम इमानदार कार्यकर्ताको दायित्व भएको छ । हाम्रो देशको ठूलो समस्या भनेको पोलिटिकलमा पोलुसन हो ।
    विकृति राजनीति मौलाएका कारण ठिकलाई ठिक बेठिकलाई बेठिक भन्न सक्ने कार्यकर्ता र सहि नेतृत्व चुन्न नसक्ने जनताको बाहुल्यता छ । नेतृत्वमा वैराग्य हुनुहुँदैन । हलो बनाउँदा ढंग पुगेन भने मुुंग्रो बन्छ त्यसैगरी विचार र विवेक सचियो भने मुंग्रोलाई कुटो बनाउन पनि सकिन्छ । टुप्पोमा पुगेर फुल्दा होस् या जगमा बेर थाम्दा दुवैको उत्तिकै भूमिका हुन्छ। यसैले जरो दरिलो भए मात्र रुखले फल पनि राम्रै दिन्छ । यसैले नेता र कार्यकर्ता बीच नङ र मासुको सम्बन्ध हुनुपर्छ ।
    पार्टीमा लोकतान्त्रिक पद्दतिको स्थापना भयो भने मात्र कार्यकर्ताको भविष्य रहन्छ नत्र त्यो पार्टी संसदीय नेतृत्वमा पुग्ने बेलामा पार्टी नै नरहने अवस्थामा पुग्न सक्छ । लोकतन्त्रको इस्पेस रह्यो भने लोकतन्त्र स्थापित हुन्छ । लोकतन्त्रको विधिमा बस्नुपर्छ । शक्तिको केन्द्र पार्टीको विधि हुनुपर्छ । सत्तामा पुगेपछि कलह, स्वार्थमा डुबेपछि नेकपाको पुरानो आकर्षण घट्न थालेको छ । नेतृत्वले यसलाई बेलैमा विचार पु¥याउनु पर्नेछ । भन्नैपर्छ अप्राकृतिक सम्झौताले राजनैतिक स्थायीत्व आउँदैन । आज पार्टीका निकाय अकर्मण्य भएका छन् नेताहरु पदको मोलतोलमा लागेका छन् । जुनसुकै पार्टी होस् वा व्यवस्थामा नियमसंगत ढंगबाट चल्नुपर्छ । अराजकता हुनुहुँदैन । अराजकताको लहरो सबै व्यक्ति र संस्थामा फैलिए लोकतन्त्र कसरी स्थायी हुन सक्छ ?
    आज साधु चोर चोर साधुमा छिनमै रुपान्तरण गरिदिने डाइरेक्ट डेमोक्रेसी र मनोगत रुपमा फैसला दिने न्यायालयको अभ्यासमा हामी लिप्त छौं । नैतिकता, इमान, निष्ठा, र त्यागले बाटो विराएको छ, जब नेताहरुमा लोकतन्त्रको र नैतिकताको खडेरी पर्छ तब देशमा इमानदार पात्रहरु पाखा लाग्छन् र बेइमानीहरु देखापर्छन् । हनुमान भक्त र भजन मण्डलीहरुले पार्टीका निकाय र सरकारी निकायमा कब्जा जमाउँछन् । शासन गर्नेहरुले चाकडी, चुक्ली र चाप्लुसीका आधारमा निर्णय गर्ने हुँदा आज हाम्रो देशमा चाकरी खोज्ने, मिथ्या कुराहरु रुचाउने अरुको काँध चढेर निर्णय गर्नेहरुको बोलवाला छ । यसैले सहि निर्णय हुन सकिरहेको छैन ।
शक्ति भ्रष्टीकरण भयो भने त्यो सत्यानाश हुन्छ । अहिले हाम्रो सबै निकायहरुमा शक्ति भ्रष्टीकरणले बास बसेको छ । प्रणाली आफैंमा खराब हुँदैन । प्रणाली संचालन गर्ने व्यक्ति खराब भयो भने प्रणाली नै फेल हुन्छ । निर्णय गर्दा सेन्टरमा आफूलाई होइन देश र जनतालाई राख्नुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी कम्युनिष्टको जिम्मेवारी हुनुपर्छ तर आज हुन सकेको छैन । हाम्रो देशमा राजनीतिक साँस्कृतिक विचलन भएको छ, पदमा भएकाहरुको प्रवृत्तिमा सुधारको आवश्यक छ । नेपालका राजनैतिक पार्टीहरुमा नीति प्रधानभन्दा नेता प्रधान, नेताप्रधान भन्दा गुट प्रधान, गुट प्रधान भन्दा पनि गिरोह प्रधान भएका छन् । यो पार्टीहरुको विचको कोरोना हो । साथै नेतृत्व पंक्तिमा मठाधिस प्रवत्तिको हावी छ भने आम कार्यकर्तामा गणेश प्रवृत्तिको हावी छ । नेताहरुको नजिक रहने कार्यकर्ताहरुको भविष्यमा धन धेरै जम्मा पार्लान् तर ति कार्यकर्ताहरु ढोके भन्दा बढी हुने छैनन् । पार्टीमा आज दुईथरी कार्यकर्ताहरु छन् । एउटा नेताहरुको जन्मदिनमा केक बोकेर ढोका ढकढकाउन जाने र अर्काे पार्टीको विचार सरकारका राम्रा कामलाई बोकेर जनताको ढोकामा जाने । तपाई कुन बाटो रोज्ने ?