2026 July 31/ 04:30: 54pm

बनेपा/नाला साहित्यिक मञ्चको आयोजनामा शुभ दिपावली, नेपाल सम्वत्, छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा साहित्यकार उपेन्द्र दाहालको तेस्रो कृति उपहार गजल र मुक्तक संग्रह विमोचन गरिएको छ । 
    गजलकार ज्ञानुवाकर पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बरिष्ठ साहित्यकार मोहन दुवाल, हरि मञ्जुश्री, राष्ट्रिय सहकारी बैकका अध्यक्ष केवी उप्रेती, बरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा, वडा अध्यक्ष कृष्णप्रसाद दाहाल लगायतको सहभागिता रहेको थियो । उपेन्द्र दाहालद्वारा लिखित पुस्तक उपहारको विमोचन गर्दै सहभागिहरुले साहित्य केवल कुण्ठा मात्रै नभई सिर्जना र समाज परिवर्तनको संवाहक भएको बताएका थिए । नवराज दाहालको स्वागत मन्तब्य रहेको कार्यक्रममा डाईनामिक सहकारीका अध्यक्ष माधव सिग्देलको अध्यक्षता रहेको थियो । बासुदेव घिमिरेले संचालन गर्नु भएको कार्यक्रममा श्रीराम अधिकारीले पुस्तकको बारेमा समिक्षा गर्नु भएको थियो । 
    दाहालले प्रकाशन गर्नु भएको तेश्रो कृतिमा ३० वटा गजल र ४२ वटा मुक्तक समावेश गरिएको छ । अधिकांश मुक्तक र गजलले नेपाल र नेपालीको परिवेश, सामाजिक, राजनीतिक र सांस्कृतिक अधिकार र अवस्था, समग्र मानव जाति भित्र महिला तथा अन्य समुदायको अवस्था र भोगाईका बारेमा चित्रण गरिएको छ । दाहालले युगको आवाज कविता संग्रह, रहर नामक गजल यस अघि प्रकाशन गरिसक्नु भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागी ब्यक्तिहरुले गजल तथा साहित्यिक रचनाहरु प्रस्तुत गर्नु भएको थियो ।