बनेपा/१६ वर्ष अघि क्याम्पसले निर्माण गरिएको पक्की चाईनिज पर्खाल र दाताले निर्माण गरिदिन लागेको जनमत वाङमय पुस्तकालय भवनको जग र पिल्लर समेतमा क्षति पु¥याउने गरी रातको समयमा वडा अध्यक्ष समेत रहेका बनेपा ६ का सचितानन्द केसीको समुहले डोजर चलाएको भन्दै काभ्रे बहुमुखी क्याम्पसले किटानी जाहेरी दर्ता गरेको छ ।
अध्यक्ष केसी, स्थानीय र क्याम्पस प्रशासन बीच मंगलबार वार्ता भएको छ । भोली शुक्रबारसम्म दुबै पक्षले छलफल गरी उच्च स्तरीय आयोग गठन गर्ने र आयोगले दिएको प्रतिवेदनका आधारमा दुबै पक्षले कार्य अगाडी बढाउने सहमति भएको छ । बनेपा नगरपालिकाका प्रवत्ता श्याम श्रेष्ठले दुबै पक्ष बीच सहमतिको प्रयास भएको बताए । दशै अघि क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख केजी बैदारले सरकारी सार्वजनिक सम्पति हानी नोक्सानी र तोडफोड गर्ने बनेपा ६ का ४५ बर्षिय सचितानन्द केसी लगायतको समुहलाई किटानी गरी जाहेरी दिएका छन् । डोजर चालक र बा २ क ५६६६ नम्वरको डोजर सहितलाई इलाका प्रहरी कार्यालय बनेपामा उजुरी गरिएको क्याम्पस प्रमुख बैदारले बताए । २०७५ असोज २७ गते साँझ ६ बजे काभ्रे बहुमुखी क्याम्पस रहेको वडा नम्वर ६ को कित्ता नम्वर १६५ क्षेत्रफल १८ रोपनी १० आना ३ पैसा ३ दाम जग्गा र त्यसमा बनेका भवन तथा पार्खालहरु सेमत नेपाल सरकारको हक स्वामित्व भित्रको सम्पति भएकाले सरकारी तथा सार्वजनिक सम्पतिको संरक्षण गर्नुपर्नेमा उल्टै डोजर समेत चलाई २० लाख क्षति पु¥याएकोमा पक्राउ गरी कानुन बमोजिम सजायँ तथा क्षतिपूर्ति समेत माग गरिएको क्याम्पस प्रमुख बैदारले बताए । पत्रकार सम्मेलनमा क्याम्पस संचालक समिति अध्यक्ष लम्बोदर कायश्थ, उपाध्यक्ष मोहन दुवालले २०५२ साल जेठ १९ गतेको मन्त्री परिषद्को निर्णयअनुसार क्याम्पस सञ्चालन गर्न नेपाल सरकारको स्वामित्व रहने गरी हक हस्तान्तरण गर्न नपाउने गरी जग्गाधनीमा नेपाल सरकार, काभ्रे बहुमुखी क्याम्पस जनिई दर्ता गरि प्रदान गरिएको बताए । त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त पब्लिक क्याम्पस समेत रहेको काभ्रे बहुमुखी क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोग मार्फत नेपाल सरकारको नियमित अनुदान प्राप्त हुँदै आएको छ । क्याम्पसको चल अचल सम्पती नेपाल सरकारको हुने कानुनतः उल्लेख गरिएको छ । क्याम्पसका नाममा भएको जग्गा आफ्नो तहबाट हक हस्तान्तरण गर्न नसक्ने भएकाले कानुनी प्रकृया मार्फत नै वडा कार्यालयलाई लिन र प्रयोग गर्न लिखित अनुरोध गरेको क्याम्पस प्रमुख केजी बैदारले बताए ।
बनेपा नगरपालिका वडा नम्वर ६ ले क्याम्पस पूर्व रहेको समुदायका लागि ढुवानी गर्न तथा अन्य प्रयोजनका लागि जनक तिमल्सिना सहित १७ जना उपभोक्ताको निवेदन परेकाले वडा कार्यालयले निवेदन सहित क्याम्पसमा पत्र पठाएको वडा अध्यक्ष सचितानन्द केसीले बताए । ‘कानुन विपरीत क्याम्पसले भवन निर्माण गरेकाले डोजर लगाएरै भत्काएको हुँ’–अध्यक्ष केसीले भने–‘जनताका लागि सडक निर्माणका लागि पहल गरेको हुँ ।’ कानुन अनुसार गरेकाले आफुले कुनै अपराध नगरेको वडा अध्यक्ष केसीले बताए । वडा अध्यक्षले नक्सा पास नगरी घर बनाए पनि भत्काउन सक्ने कानुनी ब्यवस्था छैन । नगर प्रमुख बाहेक अन्य जनप्रतिनिधिलाई घर भत्काउन सक्ने कानुनी प्रावधान छैन ।
क्याम्पसले भने वडा अध्यक्ष केसीले भने जस्तो कानुनको पालना नगरेको बताउँदै कानुनी कारवाहीको माग गरेका छन् । नक्सा पास प्रकृयामा रहेकाले क्याम्पसको निजी जग्गामा भवन बनाउन कसैसँग थप अनुमति लिनु नपर्ने र कोहि कसैलाई आवश्यक परेको अवस्थामा जग्गा उपलब्ध गराउन क्याम्पसले नसक्ने अध्यक्ष लम्बोदर कायश्थले बताए । कानुन बमोजिम चल–अचल सम्पती प्राप्त गर्न, उपभोग गर्न, खरिद विक्री गर्न तथा आवश्यक परेमा ऋण समेत लिन सक्ने कानुनी ब्यवस्था भएकाले क्याम्पसले कसैको लहडमा जग्गा उपलब्ध गराउन नसक्ने बताएको छ । क्याम्पसको पर्खालमा डोजर लगाएकै भोलिपल्ट क्याम्पसको स्वामित्वमा रहेको जग्गा र टहरा समेत खाली गर्न वडा कार्यालयलाई ३५ दिने पत्र पठाएको छ ।









