2026 November 06/ 02:39: 14pm

          धुलिखेल/नेपालमा बाथरोगसम्बन्धी स्वास्थ्य सेवाको पहुँच विस्तार, समयमै रोग पहिचान तथा प्रभावकारी उपचार पद्धतिको विकास गर्ने उद्देश्यले धुलिखेल अस्पतालमा रुमाटोलोजी सम्वन्धी एक दिने सम्मेलन आयोजना गरिएको छ । 
            सम्मेलनमा अस्पतालका प्रशासकीय प्रमुख प्रा.डा.विराज कर्माचार्यले स्वागत गर्दै धुलिखेल अस्पताल उपचार र अनुसन्धानमा सँगसँगै अघि बढिरहेको बताए । उपचारका लागि आवश्यक पर्ने श्रोत साधन, विरामीहरुको रोग पहिचानका लागि अनुसन्धान र उपचारमा अस्पताल हरेक क्षेत्रबाट सक्रिय रहेको उनले बताए । ‘बाथरोग उपचार सेवामा रहेको दूरी कम गर्दै, जनचेतनादेखि कार्यान्वयनसम्म’ भन्ने नाराका साथ आयोजना हुने सम्मेलनमा नेपाल तथा विदेशका विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी र अनुसन्धानकर्ताहरूको सहभागिता रहेको थियो । सम्मेलनमा नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीकी प्राध्यापक तथा रुमाटोलोजी विशेषज्ञ प्रा.डा.मारियान वाल्लेनियसले गर्भावस्था र प्रणालीगत लुपस सम्बन्धी विषयमा प्रस्तुति दिएकी थिईन् । 
         धुलिखेल अस्पतालका कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा.दीपक शर्माले मिर्गौलारोग विशेषज्ञको दृष्टिकोणबाट एसएलई, अस्पतालकै पल्मोनोलोजिस्ट तथा सहायक प्राध्यापक डा. निरिश बैद्यले फोक्सोमा देखिने समस्याबाट बाथरोग पहिचान गर्ने विषयमा प्रस्तुति दिएका थिए । नेपाल रुमाटोलोजी एसोसिएसनका महासचिव तथा रुमाटोलोजिस्ट डा.केशवराज सिग्देलले इन्फ्लेमेटरी मायोसाइटिसका असामान्य लक्षणबारे चर्चा गरेका थिए । धुलिखेल अस्पतालकी कन्सल्टेन्ट डर्माटोलोजिस्ट तथा सोसाइटी अफ डर्माटोलोजीकी अध्यक्ष डा.मनिषा सिंहले छालारोग विशेषज्ञको दृष्टिकोणबाट बाथरोगका लक्षण र चुनौतीबारे प्रस्तुति दिएकी थिईन् । त्यसैगरी, क्लिनिकल रुमाटोलोजी तथा क्लिनिकल रिसर्च फेलोसिपमा आबद्ध डा.उज्ज्वल रिसालले सीमित स्रोतसाधन भएका अवस्थामा स्पन्डिलोआर्थराइटिसको पहिचान र उपचारका चुनौतीबारे प्रस्तुति दिए । धुलिखेल अस्पतालका अर्थोपेडिक्स विभागका डा.भास्कर कार्कीले बाथरोगमा औषधिबाहेक शल्यक्रिया कहिले आवश्यक पर्छ भन्ने विषयमा प्रकाश पारेका थिए । नर्वेको सेन्ट ओलाभ्स अस्पतालकी नर्स प्राक्टिसनर मेगे कोक्सभिकले नेपालमा बाथरोग उपचार सेवामा नर्सहरूको भूमिका, नियमित अनुगमन र बिरामी सशक्तीकरणका विषयमा अनुभव प्रस्तुत गरिन् । 
           धुलिखेल अस्पतातकी नेत्ररोग विभाग प्रमुख डा.अंगिरा श्रेष्ठले बाथरोगले आँखामा पार्ने असरबारे प्रस्तुति दिईन् । राष्ट्रिय बाथरोग केन्द्रका अध्यक्ष तथा नेपाल रुमाटोलोजी एसोसिएसनका उपाध्यक्ष डा.बिनित वैद्यले गाउट व्यवस्थापनमा रहेका ज्ञानको कमी र चुनौतीबारे चर्चा गरे । त्यस्तै, अमेरिकाको एम्पावर्ड आर्थराइटिस एन्ड रुमाटोलोजी सेन्टरका बोर्ड सर्टिफाइड रुमाटोलोजिस्ट डा. अनन्त सुवेदीले नेपालदेखि अमेरिकासम्मको आफ्नो व्यावसायिक यात्राबाट प्राप्त अनुभव प्रस्तुत गरे ।  दिनभर सञ्चालन हुने सम्मेलनमा बाथरोगको पहिचान, उपचार, अनुसन्धान, विशेषज्ञ सेवाको विस्तार तथा स्वास्थ्यकर्मीबीच सहकार्यका विषयमा छलफल हुनेछ । सम्मेलनले नेपालमा बाथरोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै गुणस्तरीय उपचार सेवा विस्तारमा योगदान पु-याउने अपेक्षा गरिएको छ ।