2026 September 05/ 01:07: 55am

    पनौती/ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यलाई उद्यमशीलतातर्फ उन्मुख गराउँदै आयआर्जनमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले जनै बनाउने तालिम सञ्चालन गरेको छ ।
    सहकारीले सदस्यका लागि सञ्चालन गर्दै आएको विभिन्न सीपमूलक कार्यक्रमअन्तर्गत पुस्तान्तरणसँगै सीप हस्तान्तरण गर्ने उद्देश्यले जनै बनाउने तालिम आयोजना गरेको हो । संस्थाका अध्यक्ष उद्धव सापकोटाले आर्थिक वर्ष २०८२/२०८३ मा दुई दर्जनभन्दा बढी सीपमूलक तालिम सञ्चालन गरिएको जानकारी दिए । सहकारीका करिब २४ हजार सदस्य रहेको र त्यसमध्ये ६ हजारभन्दा बढी लघुवित्त कार्यक्रममा आबद्ध रहेको उनले बताए । ‘सदस्यलाई सीपसँगै उद्यमशीलता र आयआर्जनतर्फ अघि बढाउने हाम्रो उद्देश्य हो’– अध्यक्ष सापकोटाले भने – ‘तालिम लिएर सदस्यले आफ्नै घर तथा समुदायमा आयआर्जनको काम गर्न सक्ने वातावरण बनाउन खोजेका छौँ ।’ 
    छिमेकी मुलुक चीनलगायतका देशबाट हरेक वर्ष आयात हुने जनैलाई न्यूनीकरण गर्दै स्वदेशमै उत्पादन बढाउने उद्देश्यसमेत तालिमको रहेको सहकारीले जनाएको छ । सदस्यलाई आवश्यक पर्दा संस्थामार्फत जनै उपलब्ध गराउने तथा सदस्यलाई नै रोजगारी सिर्जना गरी आत्मनिर्भर बनाउने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको हो । नेपालमा पहिलोपटक सहकारी संस्थामार्फत सदस्यलाई जनै बनाउने तालिम दुई वर्षअघि ज्योति मिर्मिरे सहकारीले नै सञ्चालन गरेको दाबी गरिएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले जनै बनाउने सीप परम्परासँगै प्रविधिसँग पनि जोडिएको बताए । ‘ज्येष्ठ सदस्यमा रहेको सीप युवा पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले तीन वर्षदेखि विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौँ’–प्रमुख कार्यकारी अधिकृत दाहालले भने – ‘सदस्यलाई सीप सिकाउने मात्र होइन, पुँजी र बजारीकरणमा समेत संस्थाले सहयोग गर्दै आएको छ ।’ 
    तालिमका प्रशिक्षक तथा ज्योतिष दीपक शर्मा दाहालले जनैको धार्मिक तथा पौराणिक महत्वबारे जानकारी गराउँदै जनै निर्माणका परम्परागत र आधुनिक दुवै विधिबारे प्रशिक्षण दिएका थिए । उनले ९६ तन्तु मिलेर बन्ने जनैको धार्मिक तथा सांस्कृतिक महत्व रहेको बताए । युवा पुस्ताले विस्तारै छाड्दै गएको जनै लगाउने संस्कारलाई निरन्तरता दिन ब्रतबन्धदेखि नै यसको महत्वबारे जानकारी गराउन आवश्यक रहेको उनको भनाइ थियो । ‘जनै केवल धार्मिक संस्कारसँग जोडिएको वस्तु मात्र होइन, यसको आफ्नै सांस्कृतिक र पौराणिक महत्व छ’– प्रशिक्षक दाहालले भने –‘पुरानो र नयाँ दुवै प्रविधिबाट जनै बनाउन सिकाउँदै यसको महत्वलाई पनि नयाँ पुस्तासम्म पु¥याउन आवश्यक छ ।’ उनले व्यक्तिको रक्षाकवचका रूपमा समेत जनैलाई धार्मिक रूपमा महत्वपूर्ण मानिने बताए ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, निवर्तमान अध्यक्ष बद्रिराज तिमल्सिना, पूर्वअध्यक्ष मोतिराम तिमल्सिना, सञ्चारकर्मी, संस्थाका सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारी र कर्मचारीहरूको सहभागिता रहेको थियो ।