बनेपा/रोटरी क्लब अफ काभ्रे भ्यालीको छैटौँ पदस्थापन समारोह सम्पन्न भएको छ । रोटरी डिष्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वासुदेव अधिकारीले वर्ष २०२६–२७ का लागि क्लब अध्यक्षको पदभार ग्रहण गरेका थिए ।
सचिवको जिम्मेवारी विदुर दाहालले प्राप्त गरेका छन् । नवनियुक्त कार्यसमितिमा मनिषा श्रेष्ठ क्लब एडमिनिस्ट्रेसन चेयर, रिकेश कायस्थले क्लब सर्भिस प्रोजेक्ट चेयर, बेबिना बादे श्रेष्ठ युथ सर्भिस चेयर तथा अशोक पाण्डेलाई क्लब एडभाइजरको जिम्मेवारी प्रदान गरिएको छ । अन्य पदाधिकारी तथा सदस्यहरू पनि कार्य समितिमा समेटिएका छन् ।
पदस्थापन समारोहकै अवसरमा क्लबमा सात जना नयाँ सदस्यलाई प्रवेश गराइएको छ । नयाँ सदस्यको आगमनसँगै क्लबको सामाजिक तथा सेवामूलक अभियान थप विस्तार हुने क्लबले जनाएको छ । समारोहमा क्लबका संस्थापक अध्यक्ष अनुपकुमार श्रेष्ठलाई द रोटरी फाउन्डेसनमा १० हजार अमेरिकी डलर योगदान गरेको अवसरमा ‘मेजर डोनर’ सम्मान प्रदान गरिएको थियो । उक्त सम्मान रोटरी डिष्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीले हस्तान्तरण गरेका थिए । यसैबीच, रोटरी क्लब अफ काभ्रे भ्यालीले आगामी वर्ष ग्रामीण स्वास्थ्य उपचारको क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले द रोटरी फाउन्डेसनअन्तर्गत ग्लोबल ग्रान्टका लागि प्रस्ताव पेश गर्ने तयारी गरेको बताएको छ । प्रस्तावित कार्यक्रममार्फत ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सहयोग पुग्ने क्लबको अपेक्षा छ ।
प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीले रोटरीको मूल भावनालाई आत्मसात् गर्दै समाज र समुदायको हितमा प्रभावकारी तथा परिणाममुखी काम गर्न नयाँ कार्यसमितिलाई शुभकामना दिए । अध्यक्ष वासुदेव अधिकारीले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, युवा तथा सामुदायिक सेवाका क्षेत्रमा परिणाममुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । सचिव विदुर दाहालले क्लबका आगामी गतिविधिलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताए । नयाँ नेतृत्व, नयाँ सदस्य र नयाँ योजनासहित रोटरी क्लब अफ काभ्रे भ्यालीले रोटरी वर्ष २०२६–२७ लाई सेवामूलक र उपलब्धिमूलक बनाउने लक्ष्य लिएको छ ।





