2026 September 05/ 01:07: 50am

    धुलिखेल/लाहाछाप अनलाइनले स्थापनाको तेस्रो वर्ष पूरा गरी चौथो वर्ष प्रवेश गरेको अवसरमा वार्षिकोत्सव तथा विशेष सम्मान कार्यक्रम आयोजना गरेको छ । प्रवन्ध सञ्चालक बद्रिराज तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
    कार्यक्रमलाई सम्बोधन गर्दै कलाकार आचार्यले मुलुकको समृद्धिमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताए । मुलुकमा भएका हरेक परिवर्तनमा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले कतिपय सञ्चारमाध्यमले कहिलेकाहीँ भगवानलाई राक्षस र राक्षसलाई भगवानका रूपमा प्रस्तुत गर्ने गरेको बताए । तीन तहका सरकारबीच समन्वयको अभावका कारण नागरिकले विकासका विषयमा आफ्ना गुनासा राख्ने उचित माध्यमसमेत नपाएको उल्लेख गर्दै आचार्यले सञ्चारमाध्यमको भूमिका नागरिकका यस्ता समस्या र सवाल उजागर गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । 
    प्रवन्ध सञ्चालक बद्रिराज तिमल्सिनाले लाहाछाप अनलाइनले सञ्चारसँगै उद्यम विकासलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिरहेको बताए। विशेषगरी महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले अभियान अघि बढाइएको उनको भनाइ थियो । वार्षिकोत्सवका अवसरमा जिल्लाका १३ वटै पालिकाबाट उत्कृष्ट व्यवसाय सञ्चालन गरिरहेका एक–एक जना महिला उद्यमीलाई सम्मान गरिएको थियो । यस्तै, संस्थागत सम्मानअन्तर्गत नेपाल पत्रकार महासंघ काभ्रे शाखालगायत विभिन्न संस्थालाई सम्मान गरिएको थियो । 
    कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तीर्थ लामा, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेका सभापति प्रविण ढकाल, नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, नेपाली कांग्रेस काभ्रेका सचिव गुणराज मोक्तान, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी तथा महिला उद्यमी मञ्चकी अध्यक्ष महालक्ष्मी श्रेष्ठलगायतले सञ्चारमाध्यमले समाज र विकासमा खेल्नुपर्ने भूमिकाबारे धारणा राखेका थिए ।
    कार्यक्रममा लाहाछाप अनलाइनका प्रधानसम्पादक इश्वरी ओझाले संस्थाको उद्देश्य तथा आगामी योजनाबारे जानकारी दिँदै सहभागीलाई स्वागत गरेका थिए । कार्यक्रममा महिला उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको स्टल पनि राखिएको थियो ।