2026 August 06/ 06:49: 04pm

बनेपा/बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (बागमती प्रोस्कुन)ले आफ्नो सातौँ स्थापना दिवस तथा छैटौँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ ।
    कार्यक्रममा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री विनु रायमाझी पौडेल प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री रायमाझी पौडेलले सहकारी क्षेत्रमा भएका प्रयत्न र अवस्थाका बारेमा जानकारी गराएकी थिईन् । प्रदेशभरका बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि, सहकारी अभियन्ता, नियामक निकायका पदाधिकारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिको उक्त कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डी.बी. बस्नेत, बागमती प्रदेशका रजिष्ट्रार प्रदीपराज पौडेल, राष्ट्रिय सहकारी बैंकका लक्ष्मीप्रसाद उप्रेती, नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल सहकारी समाज (सिजेएन) का अध्यक्ष अर्जुन खतिवडा लगायतको सहभागिता रहेको थियो । 
    संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जिवराज खड्काको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रम सचिव ठाकुरप्रसाद बाँस्कोटाले कार्यक्रम सञ्चालन गरेका थिए । अध्यक्ष सापकोटाले संस्थाको स्थापना दिवसका अवसरमा संघको संक्षिप्त जानकारी, आगामी कार्यदिशा तथा आन्तरिक अनुपालना निगरानी कार्यक्रम अन्तर्गत प्रमुख कार्यकारी अधिकृत चिकित्सालय कार्यक्रमको शुभारम्भ अध्यक्ष सापकोटाले गरेका थिए । 
    संघका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले बागमती प्रोस्कुनको वार्षिक प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा सहकारी क्षेत्रको वर्तमान अवस्था, संस्थागत सुदृढीकरण र प्रदेशस्तरीय सहकार्यका विषयमा विशेष चर्चा गरिएको थियो । यस वर्ष बागमती प्रोस्कुनले आफ्ना सेवा प्रणालीलाई थप प्रविधिमैत्री बनाउने घोषणा गरेको थियो । त्यस अन्तर्गत तालिम कार्यक्रममा डिजिटल सहभागिता दर्ता, वेबसाइटमार्फत सदस्यता नवीकरण तथा सदस्यका सुझाव, गुनासा र आवश्यकताको डिजिटल प्रणालीमार्फत व्यवस्थापन सुरु गरिनेछ । उक्त प्रणालीबारे इन्जिनियर निरञ्जन तिमल्सिनाले प्रस्तुतीकरण गरेका थिए । 

उत्कृष्ट सहकारी र सहकारीकर्मी सम्मानित 
    वार्षिकोत्सवको अवसरमा सहकारी क्षेत्रमा योगदान पु¥याउने संस्था तथा व्यक्तित्वलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । संचालक सदस्य तथा पुरस्कार तथा सम्मान उपसमिति सदस्य शान्तलक्ष्मी खड्गीले संचालन गरेको उक्त कार्यक्रममा उत्कृष्ट सहकारी (सदस्य संस्था) स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि., नीलकण्ठ, धादिङ, उत्कृष्ट सञ्चालक रामबहादुर कटुवाल अध्यक्ष आमा साकोस, काठमाडौं, उत्कृष्ट व्यवस्थापक दीपक तिमल्सिना, प्रमुख कार्यकारी अधिकृत, नवदुर्गा साकोस, काभ्रे, पूर्व सञ्चालक सम्मान चक्रबहादुर बस्नेत, पूर्व सञ्चालक, बागमती प्रोस्कुन    उत्कृष्ट कर्मचारी शिवप्रसाद शर्मा, सहायक विभागीय प्रमुख, वित्त, प्रशासन तथा संस्थागत सेवा विभाग, बागमती प्रोस्कुन, त्यसैगरी उत्कृष्ट लगानीकर्ताका रूपमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ तथा सक्रिय सेवा उपभोक्ताका रूपमा गन्तव्य साकोस, ललितपुरलाई प्रोत्साहन तथा उत्प्रेरणा सम्मान प्रदान गरिनेछ । 
    त्यस्तै टिकटक प्रतियोगिता विजेतालाई पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा आयोजित टिकटक प्रस्तुतीकरण प्रतियोगिता अन्तर्गत सुदीप तिमल्सिना प्रथम, ब्यवसाय सहायक, ज्योति मिर्मिरे साकोस, जनकल्याण साकोस, सिन्धुली द्वितीय तथा दीपमाला महिला साकोस, सिन्धुली तृतीय भएका थिए । विजेतालाई प्रमुख अतिथि र अध्यक्षबाट पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो । 
    बागमती प्रोस्कुनले स्थापना दिवसलाई सहकारी क्षेत्रको डिजिटल रूपान्तरण, सुशासन, आन्तरिक अनुपालन र सेवा विस्तार सँग जोडेर मनाएको प्रमुख कार्यकारी अधिकृत केशव दाहालले बताए । प्रदेशभरका जिल्ला बचत तथा ऋण सहकारी संघ, प्राथमिक बचत तथा ऋण सहकारी संस्था, व्यवस्थापक क्लब तथा विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा उपाध्यक्ष कल्पना श्रेष्ठको धन्यवाद मन्तव्य रहेको थियो । कार्यक्रममा बागमती प्रोस्कूनका सदस्य सेवाहरु, संघर्षका ६ वर्ष, अवको बाटो लगायतका विषयमा प्रमुख कार्यकारी अधिकृत केशव दाहालले जानकारी गराएका थिए ।