धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मार्फत एक वर्षको अवधिमा १० हजार ७६५ जनाले सूचना तथा परामर्श सेवा प्राप्त गरेका छन् ।
वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र अधिकारमुखी बनाउन सञ्चालन गरिएको कार्यक्रमले आर्थिक, कानुनी तथा मनोसामाजिक सहयोगका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको हो । धुलिखेल नगरपालिकाको सहजीकरणमा जिल्लाका नौ स्थानीय तह—धुलिखेल, पनौती, नमोबुद्ध, पाँचखाल, मण्डनदेउपुर, रोशी, भुम्लु, चौरीदेउराली र महाभारतमा कार्यक्रम सञ्चालन भइरहेको छ । यो नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारको साझेदारीमा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा कार्यान्वयन भइरहेको कार्यक्रम हो ।
जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सञ्चालित आप्रवासी स्रोत केन्द्रमार्फत ४,८०५ महिला र ५,९६० पुरुष गरी १०,७६५ जनाले सूचना तथा परामर्श सेवा लिएका छन् । त्यसैगरी रिटर्नी स्वयंसेवकमार्फत गाउँटोलमा पुगेर ६,७०० जनालाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी जानकारी प्रदान गरिएको छ भने समुदायस्तरीय गहन अभिमुखीकरण कार्यक्रममार्फत थप ३,३४५ जनासम्म सूचना पु¥याइएको छ ।
कार्यक्रमले वैदेशिक रोजगारीका क्रममा पीडित बनेका नागरिकलाई कानुनी तथा प्रशासनिक सहजीकरणमा समेत प्रभावकारी भूमिका खेलेको छ । प्रतिवेदनअनुसार आर्थिक सहायता तथा क्षतिपूर्तिका लागि गरिएको सहजीकरणबाट १९ जनाले लाभ लिएका छन् भने विभिन्न निकायमार्फत पीडितलाई १ करोड ८० लाख ९५ हजार ५९१ प्राप्त गराउन सफल भएको छ । स्रोत केन्द्रमा दर्ता भएका ३४ वटा समस्यामध्ये १९ वटा समाधान भइसकेका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत सिफारिस गरिएका २० मध्ये १५ वटा केस समाधान भएका छन् ।
मनोसामाजिक सेवातर्फ पनि कार्यक्रम सक्रिय देखिएको छ । सामूहिक मनोसामाजिक परामर्श सेवाबाट १,१०१ जना र व्यक्तिगत परामर्श सेवाबाट १७६ जनाले सेवा प्राप्त गरेका छन् । वैदेशिक रोजगारीका कारण उत्पन्न मानसिक तनाव, पारिवारिक समस्या र सामाजिक असर न्यूनीकरणमा यस्तो सेवा उपयोगी भएको कार्यक्रमले जनाएको छ । आर्थिक सशक्तीकरणलाई प्राथमिकता दिँदै सामी कार्यक्रमले वित्तीय साक्षरताका विभिन्न गतिविधि सञ्चालन गरेको छ । २१ हप्ते वित्तीय साक्षरता कक्षाबाट २१३ जना, वित्तीय संस्थाका लागि तीनदिने तालिमबाट ३३६ जना, सामुदायिक समूह अभिमुखीकरणबाट ५७६ जना र विद्यालयस्तरीय वित्तीय साक्षरता कक्षाबाट ६६९ जना लाभान्वित भएका छन् ।
जिल्ला कार्यक्रम संयोजक गंगा लामाका अनुसार सुरक्षित आप्रवासन सम्बन्धी सूचना, परामर्श, कानुनी सहायता, मनोसामाजिक सेवा र वित्तीय साक्षरतालाई एकीकृत रूपमा सञ्चालन गरिएकाले वैदेशिक रोजगारीमा जाने तथा फर्किएका नागरिकको जीवनस्तर सुधारमा कार्यक्रमले सकारात्मक प्रभाव पार्न थालेको छ । चालु वर्षमा स्थानीय तहसँगको समन्वय थप सुदृढ गर्दै सेवा पहुँच विस्तार गर्ने तयारी गरिएको उनले बताईन् ।









