बनेपा/रेयुकाई एईको मासुनागा आँखा अस्पताल, ढल्केवर शाखालाई सीबीएम नेपालले आँखा भित्रको चाप (प्रेसर) परीक्षणका लागि प्रयोग हुने नन–कन्ट्याक्ट टोनोमिटर (एनसिटी) मेसिन हस्तान्तरण गरेको छ ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मोतिविन्दु शल्यक्रियाका लागि २ लाख रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेको छ । बनेपा र ढल्केवर शाखाबाट आर्थिक वर्ष २०८२÷०८३ का लागि विनियोजन गरिएको बजेट रकम हस्तान्तरण गरिएको शाखा प्रबन्धक मनोज श्रेष्ठले बताए । उक्त कार्यक्रममा अस्पतालका अध्यक्ष मधुप्रसाद आचार्य, महासचिव हिरामणी शर्मा, सीबीएम नेपालका कन्ट्री डाइरेक्टर राजन भट्टराई, सीबीएमका प्रतिनिधि राजेशचन्द्र मरासिनी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका शाखा प्रबन्धक मनोज श्रेष्ठ तथा अस्पतालकी मेडिकल डाइरेक्टर डा. दीक्षा मल्ल लगायतको उपस्थिति रहेको थियो । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, अस्पताल ब्यवस्थापन समितिका पदाधिकारीहरु, सहयोगी संस्थाका प्रतिनिधिहरु र अस्पतालको विभिन्न विभागका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका अध्यक्ष मधुप्रसाद आचार्यले सीबीएम र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको सहयोगले अस्पतालको सेवा विस्तार र विपन्न नागरिकलाई गुणस्तरीय आँखा उपचार उपलब्ध गराउने अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । उनले सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा रहेको बताए । सीबीएम नेपालका कन्ट्री डाइरेक्टर राजन भट्टराईले सीबीएमले विगत ४० वर्षदेखि नेपालमा अन्धोपन निवारण तथा समावेशी स्वास्थ्य सेवाको क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गरे । उनले रेयुकाई एईको मासुनागा आँखा अस्पतालको ढल्केवर शाखालाई हस्तान्तरण गरिएको एनसीटी मेसिनले जलविन्दु (ग्लुकोमा) लगायतका आँखाका रोगको प्रारम्भिक पहिचानमा महत्वपूर्ण सहयोग पुग्ने बताए । उनले आगामी दिनमा पनि अस्पतालसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका शाखा प्रबन्धक मनोज श्रेष्ठले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै मोतिविन्दुका कारण दृष्टिविहीन हुने जोखिममा रहेका विपन्न बिरामीलाई उपचारमा सहयोग पुग्ने उद्देश्यले आर्थिक सहयोग गरिएको बताए । उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा सहकार्य गर्न बैंक सकारात्मक रहेको धारणा राखे । अस्पतालकी मेडिकल डाइरेक्टर डा. दीक्षा मल्लले अस्पतालको समग्र सेवा, शाखा विस्तार तथा भावी योजनाबारे जानकारी दिँदै हाल पाँच जिल्लाका सात स्थानबाट आँखा उपचार सेवा उपलब्ध गराइरहेको बताइन् । ढल्केवर र जनकपुरबाट शल्यक्रिया सहितको विशेषज्ञ सेवा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले अस्पतालमा हाल ७२ जना कर्मचारी कार्यरत रहेको बताइन् । डा. मल्लका अनुसार अस्पतालले जलविन्दु, रेटिना, मोतिविन्दु उपचारका साथै विद्यालय लक्षित आँखा परीक्षण (स्कुल स्क्रिनिङ) कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्ता कार्यक्रममार्फत ग्रामीण तथा विपन्न समुदायसम्म गुणस्तरीय आँखा स्वास्थ्य सेवा पु¥याउने लक्ष्यका साथ अस्पताल अघि बढिरहेको उनले बताइन् । बनेपामा रहेको अस्पतालले पाँच वटा जिल्लाका नागरिकहरुलाई प्रत्यक्ष लाभ दिईरहेको उनले बताईन् ।
कार्यक्रममा सहभागी वक्ताहरूले सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबीचको सहकार्यबाट आँखा स्वास्थ्य सेवा अझ प्रभावकारी र पहुँचयोग्य बन्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।









