2026 May 25/ 06:22: 18pm

    धुलिखेल/संघ, प्रदेश र स्थानीय तहको समन्वयमा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको सभाहलमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
    कार्यक्रममा जिल्लाभित्र रहेका प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयका इन्चार्जहरूको सहभागिता रहेको थियो । कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा हुने ठगी, मानव बेचबिखन, श्रम शोषण तथा असुरक्षित आप्रवासनका जोखिम न्यूनीकरणका विषयमा छलफल गरिएको थियो । साथै सुरक्षित आप्रवासनका लागि स्थानीय तह, प्रशासन र प्रहरीबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा समेत अन्तरक्रिया गरिएको थियो ।
    कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सही सूचना र कानुनी प्रक्रियाबारे जानकारी दिनु अत्यन्त आवश्यक रहेको बताए । उनले स्थानीय तह, प्रहरी र प्रशासन मिलेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले भने – ‘वैदेशिक रोजगारीमा जाने धेरै युवाहरू गलत सूचना र दलालको प्रभावमा परेर समस्यामा पर्ने गरेका छन् । त्यसैले स्थानीय तहदेखि नै सचेतना अभिवृद्धि गर्न जरुरी छ ।’
    जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रविन विष्टले सुरक्षित वैदेशिक रोजगारीका विषयमा प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले मानव बेचबिखन तथा वैदेशिक रोजगारीको नाममा हुने ठगी नियन्त्रणका लागि प्रहरी सक्रिय रहेको जानकारी दिए । उनले भने – ‘वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोहविरुद्ध प्रहरी कठोर रूपमा प्रस्तुत हुन्छ । पीडितलाई न्याय दिलाउन र अपराधीलाई कानुनी दायरामा ल्याउन हामी प्रतिबद्ध छौं ।’ वैदेशिक रोजगार, नेपालमा वैदेशिक रोजगारीमा हुने ठगीको अवस्था, वैदेशिक रोजगारी सम्बन्धी कानूनी व्यवस्था, मानव बेचबिखनको परिचय र कानूनी व्यवस्था, वैदेशिक रोजगार विभाग र नेपाल प्रहरी बीच भएको समझदारी पत्र, वैदेशिक रोजगार ठगी सम्बन्धि मुद्दा दर्ता तथ्याङकका बारेमा डिएस्पी विष्टले कार्यपत्र प्रस्तुत गरेका थिए । 
    जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत सुनिता थापाले वैदेशिक रोजगारीमा जाने व्यक्तिले कानुनी प्रक्रिया पूरा गरेर मात्र विदेश जानुपर्ने बताइन् । उनले सुरक्षित आप्रवासनका लागि सबै निकायबीच सहकार्य आवश्यक रहेको धारणा राखिन् । उनले भनिन् – ‘सही प्रक्रिया अपनाएर विदेश जाने हो भने धेरै समस्या न्यूनीकरण गर्न सकिन्छ । त्यसका लागि सम्बन्धित निकायबीच नियमित समन्वय र सूचना प्रवाह आवश्यक छ ।’ ठगीका घटनाहरुमा जिल्ला प्रशासनले गर्ने कारवाही र भूमिकाका बारेमा उनले जानकारी गराएकी थिईन् । 
    जिल्ला प्रशासन कार्यालयबाट सुरक्षित बैदेशिक रोजगारीका लागि भएका प्रयासहरुका बारेमा जानकारी गराउँदै थापाले राहादानी बनाउने हरेक व्यक्तिहरुले आप्रवासी श्रोत केन्द्रबाट बैदेशिक रोजगार सम्बन्धी सूचना लिइ प्रक्रिया अगाडि बढाउने गरेको, राहदानी बनाउने हरेक व्यक्तिलाइ आप्रवासी श्रोत केन्द्रको सेवा प्रवाहमा बैदेशिक रोजगार सम्बन्धी हुन सक्ने ठगी सम्बन्धी सुचना प्रवाह गरि सचेत गराइएको, ठगी सम्बन्धी केशहरुको पीडितबाट निवेदन लिइ सुनुवाइ र सहजीकरण गरिएको, सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी सूचना सामग्री वितरण तथा टाँस गरि ठगीनबाट जोगाउने प्रयास गरिएको बताईन् । प्रशासकीय अधिकृत थापाले वैदेशिक रोजगार भनी उजुरी भइ आएमा म्यानपावरसँग सम्बन्धित भए डाइरेक्ट विभागमा पठाइने र एजेन्ट वा कुनै व्यक्तिसँग सम्बन्धित भए प्रमुख जिल्ला अधिकारीले त्यस्तो व्यक्ति झिकाई मेलमिलाप समेत गराउन सक्ने ब्यवस्था छ । प्रहरीले बैदेशिक रोजगार जिल्ला प्रशासन कार्यालयमा पठाउने र जिल्ला प्रशासन कार्यालयले प्रमाण पुग्दैन भन्ने फेरि प्रहरीमा नै पठाउने काम भएकोले जिल्ला प्रशासन कार्यालयले गर्ने कामका सम्वन्धमा स्पष्ट रुपमा बैदेशिक रोजगार भने पनि त्यो विषय उल्लेख नहुँदा त्यसलाई ठगी वा अन्य मुद्दा चलाउने तर अन्य केही प्रमाण खुल्छ भने जिल्ला प्रशासनमा पठाउन प्रशासकीय अधिकृत सुनिता थापाले अनुरोध गरिन् । 
    सामी कार्यक्रमकी जिल्ला कार्यक्रम संयोजक गंगा लामाले सुरक्षित आप्रवासन सम्बन्धी जनचेतना विस्तार गर्न प्रहरी प्रशासनसँग सहकार्य गर्दै आएको बताइन् । उनले गाउँ–गाउँसम्म सही सूचना पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइन् । उनले भनिन् – ‘वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन समुदाय तहसम्म सचेतना फैलाउनु आवश्यक छ । प्रहरीसँगको सहकार्यले यस अभियानलाई अझ प्रभावकारी बनाएको छ ।’ कार्यक्रममा सामी कार्यक्रम सम्पर्क अधिकृत तथा सामाजिक विकास अधिकृत विदुर गौतमले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी जानकारी समुदायस्तरसम्म पु¥याउन प्रहरीको भूमिका प्रभावकारी हुने बताए । 
    गौतमले प्रहरी नागरिकसँग प्रत्यक्ष जोडिएको निकाय भएकाले सुरक्षित आप्रवासनका सन्देश समुदायसम्म पु¥याउन सहज हुन्छ । यसले वैदेशिक रोजगारीका क्रममा हुने जोखिम न्यूनीकरणमा ठूलो सहयोग पुग्ने बताए । कार्यक्रममा सहभागी प्रहरी इन्चार्जहरूले वैदेशिक रोजगारीका क्रममा हुने समस्याबारे स्थानीय स्तरमा प्राप्त गुनासो तथा अनुभवहरू साझा गरेका थिए । साथै आगामी दिनमा सुरक्षित आप्रवासनका लागि थप समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । 
    आर्थिक वर्ष २०८१/२०८२ मा काभ्रेपलाञ्चोक जिल्लाबाट १३ हजार २ सय नागरिक बैदेशिक रोजगारमा गएका छन् ।