धुलिखेल/प्रविधि अनुसार नागरिकहरुलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले गृह मन्त्रालयले लागु गरेको वडाबाट नागरिकताका लागि अनलाईन सिफारिस प्रभावकारी बन्न थालेको छ ।
अनलाईन सिफारिसका कारण एउटै काम फरक–फरक निकायले पटक–पटक गर्नुपर्ने अवस्थाको समेत अन्त्य हुँदा विवरणमा एकरुपता र झन्झटिलो अवस्थाबाट नागरिक मुक्त भएका छन् । झुटो विवरण पेश गरी नागरिकता लिनेहरुलाई पनि यो प्रणालीले सकस बनाएको छ । २०८२ भदौ १ गते देखि जिल्लाका १ सय ३५ वटा वडाबाट अनलाईनबाट नागरिकता सिफारिस शुरु भएको छ । त्यसअघि धुलिखेलका २ वटा वडा ६ र ७ मा प्रारम्भिक परिक्षण सेवा शुरु गरिएको थियो । अनलाईन सिफारिस शुरु भए पनि अझै इन्टरनेट र सर्भरको समस्या समाधान हुन सकेको छैन । अनलाईन सिफारिस गर्नु अघि वडाहरुले आवश्यक कागजात अनलाईन मार्फत स्क्यान गरेर पेश गरिसकेका हुन्छन् । तिनै कागजात र अनलाईनबाट प्रिन्ट भएको सिफारिस सहित सेवाग्राही नागरिक जिल्ला प्रशासन कार्यालय पुग्छन् । त्यहि सिफारिसका आधारमा द्रुत गतिमा नागरिकले सेवा लिन्छन् । वडाले अपलोड गरेको फाईल कोडका आधारमा ब्यक्तिको इन्ट्रि गरे लगत्तै वडाबाट भरेको विवरणका आधारमा नागरिकता प्रिन्ट हुन्छ । सनाखत गर्नेको पूर्ण विवरण पनि त्यहि लोड भएको हुन्छ ।
त्यसका अलावा जिल्ला प्रशासन कार्यालय आफैले पनि ति कागजातलाई स्क्यान गरेर अर्काे अभिलेख बनाउँछ । डिजिटलाईजेशन पछि कागजातलाई सुरक्षित राख्छ । अनलाईन सिफारिसका आधारमा सहज भए पछि फर्जि नागरिकले नागरिकता लिने अवस्थाको अन्त्य भएको छ । अभिलेखका लागि राखिएका कागजात सुरक्षित रहन्छन् । समयको बचत भएको छ । सेवामा द्रुत गति भएको छ भने अभिलेखमा त्रुटी कम र विश्वास धेरै भएको छ । कानुनले प्रवन्ध गरेका नागरिकले सहज रुपले नागरिकता प्राप्त गरेका छन् । जिल्लाबाट चालु आर्थिक वर्षमा ३ जनाले अंगिकृत नागरिकता पाएका छन् । इलाका प्रशासन कार्यालय महाभारतका कम्प्युटर अपरेटर मनिष शाहले एउटै काम धेरै कार्यालयमा गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । ‘ब्यक्तिले जन्मदर्ता गर्दा भरेको विवरण नागरिकता बनाउँदा समेत उस्तै र एकै पटकमा हुने भएको छ’–उनले भने–‘अहिले जन्मेका बालबालिकाहरुको जन्मदर्ता गर्दा राष्ट्रिय परिचयपत्र नम्वर समेत आउँछ । त्यहि विवरण भविष्यमा नागरिकता बनाउँदा समेत उल्लेख हुन्छ ।’
अनलाईन नागरिकता सिफारिस प्रणालीले नागरिकहरुले जिल्ला प्रशासन कार्यालयबाट द्रुत सेवा पाएको प्रशासकीय अधिकृत राजु शर्माले बताए । उनका अनुसार अनलाईन सिफारिसका कारण ब्यक्तिको विवरण सुरक्षित र कम त्रुटी भएका अभिलेख डिजिटलाईज भएका छन् । २०८१ साउन देखि पौष २९ सम्म ४ हजार २ सय ९ वटा नागरिकता जारी भएका छन् । त्यसमा अनलाईन सिफारिस भाद्र १ गते देखि अनिवार्य गरिएको थियो । महाभारत लगायतका पालिकामा केहि समय पछि लागु भएको हो । अनलाईनबाट मात्रै ४ हजार १ सय ७७ जनाले नागरिकता लिएका छन् ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नागरिकता लगायतका सेवामा नागरिकहरुलाई झन्झट रहित बनाउने प्रयास गरिएको बताए । ‘अनलाईन सेवा शुरु भए पछि नागरिकता बनाउन आवश्यक कागजात सबै वडामा पेश गरिएको हुन्छ’–प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने–‘सोहि कागजात जिल्लामा लिएर आउँदा नागरिकता बनाउन धेरै समय नै लाग्दैन । कागजात नपुगेका कारण नागरिकता नबन्ने भन्ने समस्या हुँदैन ।’ वडामा केहि समस्या भए नागरिकताका लागि आवश्यक विषय बुझ्न वडा सचिव र अध्यक्षले सिधै जिल्ला प्रशासन कार्यालयमा फोन गरेर सम्पर्क गर्न सक्नेछन् । सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले काभ्रेपलाञ्चोक जिल्लामा नागरिकता सम्बन्धी समस्या समाधानमा अनलाईन सेवा थप प्रभावकारी बनेको बताए ।
प्रशासकीय अधिकृत सुनिता थापाले नयाँ नागरिकता जारी गर्दा अनलाईन सिफारिस प्रभावकारी भएको बताईन् । वडा मार्फत प्राप्त हुने अनलाईन सिफारिसले सेवाग्राहीलाई सहज भएको उनको अनुभव छ । अझै पनि सुधार गर्न सकिने धेरै विषय भएकाले गुनासो रहित सेवाका लागि प्रशासन कार्यालयको तर्फबाट पहल भएको उनले बताईन् । धुलिखेल नगरपालिका वडा नम्वर ३ का अध्यक्ष गणेश आचार्यले नागरिकता सिफारिसका लागि अनलाईन सिफारिस महत्वपूर्ण भएको बताए । जिल्लाका १३ वटै पालिका र १ सय ३५ वटै वडामा उक्त सेवा प्रारम्भ भएको छ ।
६ महिनामा कति नागरिकता ?
२०८२साउन देखि पौष मसान्तसम्म सबैभन्दा बढी नागरिकता सिफारिस धुलिखेल नगरपालिकाबाट भएको छ भने सबैभन्दा कम खानीखोाल गाउँपालिकाबाट भएको छ । इलाका प्रशासन कार्यालय महाभारतमा यो अवधीमा ३ सय ५५ वटा नागरिकता बनेका छन् । अनलाईन सेवाबाट ३ सय २३ वटा बनेका छन् । जिल्लामा ६ महिनाको अवधीमा ४ हजार ३ सय ६१ जनाले नयाँ नागरिकता लिएका छन् ।
अनलाइन प्रणाली लागू भएपछि नागरिकता सिफारिस प्रक्रिया छिटो, पारदर्शी र सेवाग्राहीमैत्री बन्दै गएको प्रशासनको भनाइ छ।तथ्यांकअनुसार धुलिखेल नगरपालिकाबाट ४ सय ३१ जना नागरिकले नागरिकता सिफारिस लिएका छन्। त्यसपछि पाँचखाल नगरपालिकाबाट ३ सय ८५, बनेपा नगरपालिकाबाट ३ सय ९७, नमोबुद्ध नगरपालिकाबाट ३ सय ६० र मण्डनदेउपुर नगरपालिकाबाट ३ सय ५२ जनाले नागरिकता लिएका छन् । यी पालिकामा जनसंख्या बढी हुनुका साथै बसाइँसराइको चाप पनि उच्च भएकाले नागरिकता सिफारिसको संख्या धेरै देखिएको हो । पनौती नगरपालिकाबाट ३ सय ३७, रोशी गाउँपालिकाबाट ३ सय २३ र भुम्लु गाउँपालिकाबाट २ सय ७५ जनाले नागरिकता सिफारिस लिएका छन् । ग्रामीण तथा दुर्गम क्षेत्रका पालिकामा नागरिकता सिफारिसको संख्या तुलनात्मक रूपमा कम देखिएको छ । खानिखोला गाउँपालिकाबाट २ सय, बेथानचोक गाउँपालिकाबाट २ सय ४, चौरीदेउराली गाउँपालिकाबाट २ सय ५५ र तेमाल गाउँपालिकाबाट २ सय ८७ जनाले सिफारिस लिएका छन् ।
स्थानीय तहका कर्मचारीहरूका अनुसार कतिपय क्षेत्रमा अझै पनि नागरिकता सम्बन्धी कागजात पूरा नहुनु, जनचेतनाको कमी तथा बसाइँसराइका कारण संख्या कम देखिएको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुनिता थापाका अनुसार अनलाइन नागरिकता सिफारिस प्रणालीले सेवाग्राहीलाई वडा कार्यालयसम्म सीमित राखेर छिटो सेवा दिन मद्दत गरेको छ । ‘पहिले नागरिकता सिफारिसका लागि पटक–पटक वडा र प्रशासन धाउनुपर्ने अवस्था थियो, अहिले अनलाइन प्रणालीका कारण प्रक्रिया सरल भएको छ’–उनले भनिन् ।
नयाँ भन्दा धेरै प्रतिलिपी लिनेहरुको संख्या छ । जिल्लाको तथ्यांक अनुसार यो अवसरमा ५ हजार ४ सय ९२ जनाले नागरिकता लिएका छन् । प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाका अनुसार प्रतिलिपीमा पनि अनलाईन सेवा प्रभावकारी छ तर पनि अझै केहि प्राविधिक त्रुटीहरु देखिने हुँदा केहि ढिला भए पनि द्रुत सेवा दिने गरी कार्य भएको छ । यो अवधीमा २५ जनाले नागरिकता परित्याग गरेका छन् । ग्रैह आवासिय नागरिकता १८ जनाको जारी भएको छ । ४ जनाको नागरिकता रद्द भएको छ ।









